राष्ट्रको आवश्यकता अनुसार गठबन्धन बन्ने र भत्किने हो : दीनानाथ शर्मा
करिब १९ महिनामा सत्ता गुमाएर प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले पाँच दिनसम्म पदाधिकारी बैठकमा विचारको विकास र पार्टी निर्माणबारे गम्भीर बहस र छलफल गर्यो ।
साउन २५ गते बस्ने स्थायी समिति बैठकले पार्टीको एजेण्डा तय गर्ने गरी मंगलबार पदाधिकारी बैठक सकिएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, सत्ताबाट बाहिरिनुको कारण, पार्टीभित्र देखिएका कमजोरी र भावी रणनीतिबारे गहन समीक्षा भएको नेताहरूले दाबी गरेका छन् ।
खासमा बैठकले के निष्कर्ष निकाल्यो ? प्रतिपक्षमा माओवादीको भूमिका के हुन्छ ? भावी रणनीति कस्तो हुन्छ ? यसै विषयमा रातोपाटीका सहकर्मी गणेश पाण्डेले माओवादी केन्द्रका सचिव दीनानाथ शर्मासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः
पदाधिकारी बैठकमा पाँच दिनसम्म छलफल र बहस भएको छ । निष्कर्ष के निकाल्यो ?
बैठक कुनै निष्कर्षमा पुगेको छैन । एजेण्डाहरू सबै स्थायी समितिमा लगेर फाइनल गर्ने भनेर एजेण्डा बन्दैछ ।
हिजो हामी सत्तामा रहँदा पनि देश र जनताकै हितको पक्षमा काम गरेका थियौँ । अहिले सत्ता बाहिर छौँ । प्रतिपक्षमा बसेर सरकारको बदमासीबारे सम्पूर्ण तागत लगाउँछौँ । देश र जनताकै पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ । निश्चय नै लामो समय सत्तामा बस्दा जनतासँग पार्टीको सम्बन्ध टुटेको छ । त्यतिबेला सत्ता प्रधान भयो । अब सडक, संघर्ष र संगठन यी तीन वटा प्रधान हो ।
पहिला संगठन, दोस्रो सडक र त्यसपछि संघर्ष गरेर जानुपर्छ । त्यही अनुसारको कार्यक्रम र कार्ययोजना बन्नुपर्छ भन्ने बैठकमा कुरा आएको छ । बैठकको निष्कर्ष यही नै हो । कार्यक्रम कस्तो बनाउने भन्ने बारेमा आगामी दिनमा बस्ने स्थायी समिति बैठकले तय गर्नेछ ।
कांग्रेससँग सहकार्य तोडेर एमालेसँग सम्बन्ध गास्नुमा कमजोरी भएको बैठकले रियलाइज गरेको हो ?
यो रियलाइज गर्ने विषय नै होइन, किनभने राष्ट्रको आवश्यकता अनुसार गठबन्धन बन्ने र भत्किने हो । समस्या हाम्रो होइन, कांग्रेस–एमालेको हो । ठुला पार्टी भएर पनि हिजोसम्म उनीहरूले सरकार बनाउन नसकेर हामीले सरकारको नेतृत्व लिएको हो । उनीहरूले सहकार्य र सहमति गरेर सरकार बनाउँदा स्वाभाविक रूपमा प्रतिपक्ष भएर बस्ने हो । राम्रा काममा सरकारलाई सहयोग गर्ने र नराम्रा काम गरेमा जनताका बिचमा जाने हो ।
निर्वाचनपूर्वको वाम लोकतान्त्रिक गठबन्धन टुटाउनुमा त्रुटि थियो भन्ने कुरा उठे कि उठेन ?
त्यतिबेला परिस्थितिले सिर्जना गरेको स्थिति हो । कांग्रेससँग गठबन्धन गर्नुपर्थ्यो वा पर्थेन अथवा एमालेसँग सहकार्य गर्नुपर्थ्यो वा हुन्थेन भन्ने कुरा परिस्थिति जन्माउने कुरा हो । पछिल्लो समय ओलीजीले धोका दिएको कुरा स्पष्टै छ । तर पनि उहाँहरूको आफ्नो चरित्र र स्वभावअनुसार स्वाभाविक नै छ ।
पार्टीभित्र जुन किसिमको शक्ति केन्द्रहरूको चलखेल छ, त्यसकारणले हामीले धोका पाएको कुरामा हामी स्पष्ट छौँ । हामीले पवित्र उद्देश्यका साथ वामपन्थी आन्दोलनलाई एक ठाउँमा ल्याउने, बलियो बनाउनेमा जोड दिएका हौँ । अन्य वामपन्थीहरूलाई पनि केन्द्रीकरण गर्ने उद्देश्यका साथ सहकार्य गरेका थियौँ । तर त्यसलाई ओलीजीले नकारात्मक रुपमा ध्वंस बनाएर जानुभयो । यसले समग्र वामपन्थी र कम्युनिस्ट आन्दोलनका लागि घाटा हो ।
पुँजीवादी पार्टी बनाएर जानका लागि त केही फरक परेन । अब त्यहीअनुसार चुनाव लड्ने तयारीका साथ प्रतिस्पर्धा जाने तयारी गर्यौँ । अहिले एमालेभित्र अलिअलि भएको वामपन्थी गन्ध पनि समाप्त भएको छ । हिजो हामीले बाध्यात्मक अवस्थामा सरकार बनाएको हो । दोस्रो ठुलो दलले सरकार बनाएको दुनियाँमा कतै छैन । पहिलो दलले नै सरकारको नेतृत्व गर्ने संसदीय अभ्यास हो । दोस्रो ठुलो दल सत्ता पक्षमा हुँदैन, प्रतिपक्षमै बस्छ । अहिले जुन सरकार बनिराखेको छ, त्यो नेचुरल छैन । लोकतान्त्रिक छैन । यो सरकार लोकतन्त्र विरोधी नै हो । जुन संघीय लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ ।
तर हाम्रो केसमा आवश्यकता अनुसार सरकार बनेको हो । ठुला दलले समर्थन गर भनेर विश्वासमा लिन सकेका भए हाम्रै समर्थनमा सरकार बन्न पनि सक्थ्यो । हिजो कांग्रेससँग गठबन्धन गर्दा एमालेले प्रधानन्त्री दिन्छु भन्ने, एमालेसँग गठबन्धन गर्दा कांग्रेसले हामी प्रधानमन्त्री दिन्छु भन्ने स्थिति भएका कारणले सरकारको नेतृत्व गरेको हो । त्यसकारण सरकारबाट हट्नु परेकोमा हामीलाई कुनै चिन्ता छैन ।
बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार अध्यक्ष प्रचण्डले अब कम्युनिस्ट पार्टी पुनर्गठन गर्ने भन्नुभएको रहेछ, त्यो भनेको के हो ?
हिजो तितरबितर भएका साथीहरूलाई पुनर्गठन तथा ध्रुवीकरण गर्ने भनिएको हो । यो हाम्रो पहिलेदेखिकै रणनीतिक योजना हो । हिजो एमालेसँग गठबन्धन पनि त्यसकै लागि गरेको हो । स–साना शक्तिहरू छरिएर रहेका छन् । त्यसका लागि पनि एकता र ध्रुवीकरणका लागि प्रयत्न गर्ने भन्ने कुरा स्वाभाविक हो । कुनै नयाँ विषय होइन ।
शान्ति प्रक्रियापछि १८ वर्ष सत्तामै अलमलिनुभयो । त्यसका कमी कमजोरी केलाउने काम भयो होला नि ?
यसबारे पनि छलफल त गरेका छौँ । यो प्रक्रियामा हामी नआएको भए संविधान पनि आउने थिएन । निरपेक्ष रूपमा लडाइँ लडेर जान्छौँ भनेको भए पनि हामी उतै सकिन्थ्यौँ । हामै्र नेतृत्वमा देशमा ठुला परिवर्तन ल्यायौँ । परिवर्तनले सत्तामा बस्नुपर्ने बाध्यता पनि बनायो । अहिले पनि संविधानमाथि चुनौती छन् ।
संविधानमा अहिले जुन खालको सङ्कट आइलागेको छ, त्यसका निम्ति अलोकतान्त्रिक तरिकाले गठबन्धन बनेको छ । हिजो ज्ञानेन्द्रको पालामा जेजे हुन्थ्यो, अहिले त्यस्तैत्यस्तै प्रकारका गतिविधि गरिरहेका छन् । यो नेपाली जनता र लोकतन्त्रका लागि त्यति राम्रो सङ्केत छैन ।
कांग्रेस र एमालेले संघीयता स्वीकारेका होइनन् । अहिलेसम्म संघर्ष यसैका लागि हो । संविधान, लोकतन्त्रको रक्षाका लागि हाम्रो संघर्ष हो । सरकारमा भए पनि प्रतिपक्षमा भए पनि त्यसकै रक्षाका लागि निरन्तर काम गरेको हो । साथै जनताको हितका लागि काम गर्ने हो । समृद्धिका निम्ति काम गर्ने हो । सायद बाहिर भए पनि सुशासन, समृद्धिका लागि काम गर्ने हो ।
संविधानमा अहिले जुन खालको सङ्कट आइलागेको छ, त्यसका निम्ति अलोकतान्त्रिक तरिकाले गठबन्धन बनेको छ । हिजो ज्ञानेन्द्रको पालामा जेजे हुन्थ्यो, अहिले त्यस्तैत्यस्तै प्रकारका गतिविधि गरिरहेका छन् । यो नेपाली जनता र लोकतन्त्रका लागि त्यति राम्रो सङ्केत छैन । त्यसतर्फ सजग र सावधान हुनुपर्छ भन्ने कुरा भएको छ ।
विचारको विकास भनेको के हो ? पार्टी निर्माण कसरी गर्न सकिन्छ ?
विचार भनेको अहिलेको परिस्थिति अनुसार अब कसरी जाने भन्ने हो । देशमा लोकतन्त्र हिजो ०४६ सालमै लडेर ल्याएको हो । त्यसका लागि हामीले ३० वर्ष जुन पीडा भोग्यौँ, बल्लतल्ल लोकतन्त्र आयो । जस्ताको तस्तै भयो । केही परिवर्तन आएन ।
एक जना मन्त्री वा सचिव नियुक्ति गर्दा समेत विदेशी हस्तक्षेप हुने गरेको छ । राष्ट्रियतामाथि ठुलो सङ्कट आएको छ । यसकाविरुद्ध पनि फेरि नेपाली जनतालाई सजग बनाएर अर्को परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।
आखिर लोकतन्त्र भनेको विचार हो । अहिले पनि विचारकै प्रश्न महत्त्वपूर्ण भयो । हिजो हामीले जनयुद्ध गर्नुपर्छ भनेर विचारको विकास गरेका थियौँ । त्यही अनुसारको संगठन बनायौँ । कार्ययोजना, कार्यनीति बनायौँ । संगठनलाई व्यवस्थित बनाएर सङ्घर्ष गर्यौँ । हामीले नलडेको भए अहिलेको परिवर्तन आउने थिएन । अहिले पनि समाजवादी क्रान्ति गर्न बाँकी नै छ । दलाल नोकरशाह वर्ग, विदेशी हस्तक्षेप भइरहेकै छ ।
एक जना मन्त्री वा सचिव नियुक्ति गर्दा समेत विदेशी हस्तक्षेप हुने गरेको छ । राष्ट्रियतामाथि ठुलो सङ्कट आएको छ । यसकाविरुद्ध पनि फेरि नेपाली जनतालाई सजग बनाएर अर्को परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि विचारको विकास भनेको हो । अहिलेको अवस्थालाई नै निरन्तरता दिने वा ०४६ सालकै जसरी घिसीपिटी तरिकाले अब जान सकिँदैन । कांग्रेस र एमालेले त्यसरी नै गर्दै आएका छन् । हामी पनि त्यसैमा अलमलिएर हुँदैन । उनीहरूभन्दा माथि उठेर वैचारिक र राजनीतिक रूपले नेतृत्व गर्ने गरी अगाडि बढ्न खोजिएको हो ।
हिजो जसरी बीपी र पुष्पलालले विचारको विकास गरी यहाँसम्म ल्याए । हामी यहाँसम्म आयौँ । त्यही ढङ्गले नयाँ विचारको विकास गरी भोलिका निम्ति पनि नेतृत्व गर्नुपर्छ किनभने हिजोको युग होइन अहिले । हिजोका पुस्ता पनि होइनन् । अहिलेको पुस्तालाई साथमा लिएर भोलिको पुस्तालाई समेत अडाउने गरी विचारको विकास गर्ने हो । यही देशको माटोलाई चिन्ने, यही देशलाई माया गर्ने गरी नयाँ विचार आवश्यक छ । यो अहिले छलफलकै क्रममा छ ।
पार्टी संगठन लुलो हुँदै गएको छ । विचार भुत्तो भएको छ । नेताहरूको जीवनशैलीप्रति पनि आम जनताले प्रश्न उठाएका छन् । यस्तो अवस्थामा पार्टी निर्माण कसरी गर्नुहुन्छ ?
यस्ता प्रश्न हिजो जनयुद्ध गर्दा पनि उठाएका थिए । अहिले पनि त्यस्तै खालका प्रश्न उठ्नु स्वाभाविक नै हो । त्यसलाई हामी नेचुरल मान्छौँ । जिज्ञासा हुनु स्वाभाविक हो । पार्टीको कार्यदिशा कस्तो बनाउने, निराश भएका जनतालाई कसरी आशावादी बनाउने ? हामीमाथि अविश्वास गरेका मानिसलाई कसरी विश्वास दिलाउने ? त्यही प्रकारका रणनीति र कार्यनीति हामी बनाउने छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै समयमा कट्टर प्रतिद्वन्द्वी एन्डी मुरेलाई आफ्नो प्रशिक्षक बनाए नोभाक योकोभिचले
-
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
-
दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी
-
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल
-
रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपाका नेताविरुद्धको अदालतको अवहेलना मुद्दा पेसीमा
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो