१० बजे, १० समाचार
आज २०८१ साउन १५ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- प्रधानमन्त्रीकाे निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई सय दिनमा आफूले गर्ने कामहरूको योजना बनाउन निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सय दिनसम्म सामान्यतया सरकारमाथि प्रश्न नगर्ने चलन भएपनि त्यसपछि जनताले हरेक मन्त्रीलाई प्रश्न गर्ने भन्दै ‘हनिमुन डे’को अवधिमा गर्ने कामको प्लान बनाउन निर्देशन दिएका हुन् ।
- संसद् बैठक
प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले गत असार २८ गते त्रिशूली नदीमा २ वटा बस दुर्घटना भएको विषयमा कूटनीतिक नियोगको व्यक्तिले कटाक्ष गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कुनै राजदूतको नाम नलिई उनले एकजना राजदूतले खोजीकार्यबारे सामाजिक सञ्जाल एक्समा व्यङ्ग्य र मजाक उडाउने काम गरेको र त्यो कूटनीतिक मर्यादा विपरीत भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ती राजदूतले ३ दिनदेखि लगातार सामाजिक सञ्जालबाट बस दुर्घटनाको विषयलाई लिएर व्यङ्ग्य गरेकोले त्यसलाई नोटिसमा लिनुपर्ने बताए ।
- न्याय परिषद् बैठक
न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतका कार्यरत रहेका २६ न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्ले पाटन उच्च अदालतबाट ८ जना न्यायाधीशको उपत्यका बाहिर सरुवा गरेको छ । धिरबहादुर चन्द, जनक पाण्डे, श्यामजी प्रधान, धुव्रराज नन्द, हरिप्रसाद पौडेल, राज्यलक्ष्मी बज्राचार्य, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी र रामेश्वर रेग्मी उपत्यका भन्दा बाहिर सरुवा भएका छन् ।
- न्यायालय
सर्वोच्च अदालतले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई विपक्षी बनाएको एउटा रिट संवैधानिक इजलासमा दर्ता गर्न आदेश दिएको छ । तर, संवैधानिक इजलासको नेतृत्व प्रधान न्यायाधीशले नै गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीश हुने संविधानमा उल्लेख छ। सर्वोच्चको यो आदेशपछि अब प्रधान न्यायाधीशले संवैधानिक इजलासमा बसेर आफू विपक्षी भएको रिटको सुनुवाइ गर्नुपर्ने भएको छ।
- ओलीले खोजे गणेशलाई...
राजनीतिमा कोही कसैको स्थायी शत्रु वा मित्र नहुन सक्छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीका लागि कम्प्युटर अपरेटर गणेश राई सदावहार रोजाइ हुने गरेका छन् । खोटाङ घर भएका गणेश राई अहिले चर्चामा छन् । पछिल्लो समय ओली प्रधानमन्त्री नियुक्त हुँदा उनी सिंहदरबारबाट बाहिरिइसकेका थिए ।
- माओवादी बैठक
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनतासँग पार्टीको सम्बन्ध टुटेको निष्कर्ष निकाल्दै केन्द्रीय समिति बैठकपछि देशभर जनतामाझ जाने प्रतिबद्धता जनाएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पाँच दिनसम्म चलेको पदाधिकारी बैठकको समापन गर्दै उनले देशभर जनताको सुख–दुःख बुझ्न जाने इच्छा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
- बागमती प्रदेश
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।
- चेक बाउन्स
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (चेक बाउन्स)को मुद्दामा कुनै पनि व्यक्ति व्यवसाय, फर्म वा कम्पनीलाई कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता रोक्का सम्बन्धी कारबाही नगर्ने गरी व्यवस्था गरिने उल्लेख छ ।
- गृहमन्त्रीका चुनौती
कांग्रेस नेता रमेश लेखक २०८१ असार ३१ मा गृहमन्त्री नियुक्त भए । मुलुकमा शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी रहेको गृह मन्त्रालय मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालय पर्छन् ।
- फैसलाको पूर्णपाठ
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल