शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

बर्दियामा धानको सुपर जोन विस्तार

मङ्गलबार, १५ साउन २०८१, २१ : ०१
मङ्गलबार, १५ साउन २०८१

बर्दिया । बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ । जिल्लाका ८ वटै पालिकामा कृषि उत्पादकत्व वृद्धिको आधार छनोट गर्दै जोन तथा सुपरजोन विस्तार गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ र बारबर्दिया नगरपालिकाको वडा नम्बर ३, ४ चैते धानको सुपरजोन हुन् । बाँसगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ गुलरिया नगरपालिकाको १ देखि ९ सम्मका वडा र मधुवन नगरपालिकाको ५ देखि ९ सम्मको वडा केरा जोन तोकिएको परियोजनाकी नायब सुब्बा विमला भण्डारीले जानकारी दिइन् । 

उनका अनुसार, परियोजनाअन्तर्गत बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाको ४ देखि ९ नम्बर वडा, बारबर्दियाको वडा नम्बर ३, ४, ९ र १० गुलरियाको वडा नम्बर २, ४, ५ र ६, मधुवनको वडा नम्बर २, ३, ४ तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ लाई माछा जोन तोकिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २, ३, ४, ७, ८, जानकी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्म र खजुरा गाउँपालिका वडा नम्बर २ र ४ लाई वर्षे धान जोन बनाइ परियोजना एकाइ बर्दियामार्फत सञ्चालन हुँदै आएको छ ।

सुपरजोन तथा जोनमार्फत गत आवमा बर्दियामा छ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको चैते धान खेतीबाट क्रप कटिङको आधारमा तीन हजार चार सय ६ मेट्रिकटन उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बर्दियाका कृषि अधिकृत ध्रुवराज जोशीले बताए । उनका अनुसार तीन सय ४५ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेतीबाट १४ हजार एक सय पाँच मेट्रिकटन केरा उत्पादन भएको छ । 

त्यस्तै दुर्ई सय ९२ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनबाट दुई हजार एक सय ४५ मेट्रिकटन माछा उत्पादन भएको छ । बाँकेमा दुई हजार एक सय १० हेक्टर क्षेत्रफलमा गरिएको वर्षे धान खेतीबाट आठ हजार नौ सय २५ मेट्रिकटन धान उत्पादन भएको छ । जोशीका अनुसार चैते धानका लागि पर्याप्त सिँचाइ सुविधा नहुँदा समस्या पर्ने गरेको छ । सडक पूर्वाधार निर्माणले सिँचाइ कुलो मासिएका कारण खेतसम्म सिँचाइ पुर्‍याउन किसानले सास्ती ब्यहोर्नुपरेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप