खीर खाएर मनाइयो साउन १५ को परम्परा
काठमाडौँ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ ।
वर्षा ऋतुकाबेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरीपर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन सुरु भएको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराईले बताए । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् बनाउँछन् ।
यसैगरी साउन महिनामा हरियोमकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
खीर खाने पर्वका रूपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको थियो । विसं २०७८ देखि साउन १५ लाई राष्ट्रिय दुग्ध विकास बोर्डले खीर दिवसका रूपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोना, डेँगुजस्ता भाइरसबाट बचाउन शक्ति प्रदान गर्ने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने पनि बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई शिक्षामन्त्रीले भनिन्,– आन्दोलन होइन कक्षामा जानुस्
-
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
-
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए
-
सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ