बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेश सभामा ‘संविधान संशोधन’बारे बहस

मङ्गलबार, १५ साउन २०८१, २० : २७
मङ्गलबार, १५ साउन २०८१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने गरी मंगलबार बसेको प्रदेश सभा बैठकमा संविधान संशोधनको एजेण्डा चर्को रूपमा उठ्यो ।

मुख्यमन्त्री लामाको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलभन्दा पनि बढी संविधान संशोधनको मुद्दामा सत्ता पक्ष र विपक्षबिच सशक्त बहस भएको थियो । जबकि संविधान संशोधन संघीय संसदको क्षेत्राधिकार हो ।

बैठकको सुरुमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको बचाउ गर्दै गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयत्न गरे । उनले राजनीतिक स्थिरता, संघीयता सशक्तिकण र संविधानको पूर्ण कार्यान्वयनको पक्षमा वकालत गरे ।

मुख्यमन्त्री लामाले संघीय सरकारमा एमाले–कांग्रेस गठबन्धनको औचित्य र अवसरका विषयमा प्रस्ट पार्दै संविधानमा भएका कमीकमजोरी हटाएर राजनीतिक स्थायित्व कायम गर्न र अस्थिरता अन्त्य गर्ने बताए । उनले आर्थिक–सामाजिक रूपमा स्पष्ट कार्ययोजना निर्माण गरेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाए ।

बैठकमा कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले देश र जनताको समृद्धिका लागि अहिलेको गठबन्धन सरकार निर्माण भएको बताए । संविधानका केही अस्पष्टता हटाएर समृद्ध मुलुक निर्माण गर्न गठबन्धन निर्माण भएको उनको भनाइ थियो ।

साना दलहरूको खिचातानीका कारण राजनीतिक अस्थिरता कायम भएको भन्दै उनले संघीयतालाई मजबुत बनाएर आर्थिक–सामाजिक विकाससँगै नागरिकलाई महसुस हुनेगरी सरकारले काम गर्ने बताए । वर्तमान सरकारलाई असफल हुने छुट नरहेको उनको भनाइ थियो ।

बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि अहिलेको गठबन्धन बनेको बताए । केही त्रुटि रहँदै गर्दा पनि संविधान जारी गरी नागरिकहरूलाई अधिकार प्रदान गरिएको उनले बताए । संविधानमा रहेका समस्या हटाउन अहिले राष्ट्रिय सहमतिको सरकार निर्माणको थालनी भएको उनले प्रस्ट पारे ।

क्यालेण्डर बनाएर संविधान संशोधन हुँदैनः दुलाल

माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले क्यालेण्डर अनुसार संविधान संशोधन नहुने बताए । संविधानमा रहेको सकारात्मक विभेदलाई नियन्त्रण गर्न र प्राप्त अधिकार मास्न अहिलेको गठबन्धन बनेको उनको आरोप छ ।

उनका अनुसार अङ्कगणितले संविधान संशोधन हुँदैन । एजेण्डा तथा विषयमा केन्द्रित भएर बहस गर्दा संविधान संशोधन जायज हुने उनको भनाइ छ । सत्ता समीकरण निर्माणमा एमालेले माओवादीलाई झुक्क्याएको आरोप लगाउँदै उनले माओवादीले भ्रष्टाचारको फाइल उठाउँदा अमुक व्यवसायीको घरमा सत्ता समीकरणको सहमति बनेको बताए ।

‘बहुमत अङ्कगणितमा होइन । गणित स्थायित्व होइन । स्थायित्व विचार हो । अहिलेको गणितमा बनेको समीकरण र बहुमतमाथि शङ्का छ,’ दुलालले भने, ‘बहुमतको आडमा संविधान र संघीयता मास्ने रणनीति निर्माण भइरहेको छ । यसमा हामी सचेत छौँ ।’

सत्तापक्षमै राजनीतिक स्थायित्वका विषयमा बुझाइ फरक देखिएको उनको भनाइ छ । कांग्रेसले ठुला दलहरूको समीकरणलाई राजनीतिक स्थायित्व भनिरहेको र एमालेले लोकतन्त्रको अभ्यास तथा सरकार र प्रतिपक्षमा हुनुलाई भनिरहेको उनले बताए ।

माओवादीको नेतृत्वमा देश र जनतालाई हानि हुने काम नभएको उनले दाबी गरे । माओवादी विचार र एजेण्डामा सशक्त रहेकाले संविधानमाथि हस्तक्षेप भए आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

बैठकमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले साना दलको आड भरोसामा ठुला दलहरूले शासन सत्ता चलाइरहेको बताए । संविधान संशोधनको स्पष्ट खाका नबनेकाले राप्रपा वर्तमान गठबन्धन सरकारलाई सघाउने पक्षमा नरहेको उनले प्रस्ट पारे ।

वर्तमान सरकारका कारण राप्रपाले बोक्दै आएको संघीयता खारेजी र धर्म निरपेक्षताको एजेण्डामा बल पुग्ने काम गरिरहेको उनले बताए ।

बैठकमा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले गुटगत भागबण्डाका कारण संघीयता र संविधानलाई नै खतरा हुने काम भइरहेको बताए । केन्द्रमा सरकार परिवर्तन हुने बित्तिकै प्रदेशमा सरकार परिवर्तन हुनुमा कुनै राजनीतिक तर्क नरहेको उनको भनाइ छ ।

राजनीतिक स्थायित्वका नाममा विनाविभागीय मन्त्री राख्ने र मन्त्रालय बढाउने काम भइरहेको खनालको आरोप छ । ठुला दलको गुटगत राजनीतिका कारण प्रदेशका मन्त्री र मन्त्रालय निरन्तर बढिरहेको उनको भनाइ छ । दलहरूले स्थायित्व नै चाहेका भए प्रदेशमा ७ मन्त्रालय कायम गरी मितव्ययी हुन उनले आग्रह गरे ।

त्यसैगरी नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले शासक दलहरू विभिन्न बहानामा राज्य शक्तिको दुरुपयोगमा लागेको बताए । नागरिकलाई झुक्क्याउन स्थिरता र निर्वाचन प्रणाली परिवर्तनका नाममा शासन शक्ति हातमा लिने काम भएको उनले बताए ।

संविधान संशोधन मुद्दा र एजेण्डाभन्दा पनि सत्ता कब्जाको माध्यम बनेको उनको भनाइ छ । विगतदेखि नै प्रतिपक्षको भूमिकामा रहेकाले सिद्धान्त र एजेण्डा विहीन दिशामा आफूहरू अग्रसर नहुने उनले बताए ।

नेमकिपा विचार, सिद्धान्त र नैतिकताको राजनीतिबाट विचलित नभई अडिग रहेको दाबी गर्दै गोसाईंले शासक दलहरू पद र प्रतिष्ठाको लोभमा लिप्त भएर नागरिक र देशमाथि घात गर्न प्रेरित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप