बचत परिचालनको लागि सहकारी आवश्यक देखिएन : सभापति थापा
![बचत परिचालनको लागि सहकारी आवश्यक देखिएन : सभापति थापा](https://npcdn.ratopati.com/media/news/surya-thapa_k6BSVQNnT2.jpg)
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको लागि सहकारी नै आवश्यक नभएको बताएका छन् ।
मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौँको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् । उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरूको आर्थिक अवस्था राम्रो रहेको बताए । उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको बताए ।
सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए । उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए । उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए । उनले बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७/०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पुर्याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको बताए ।
सभापति थापाले काठमाडौँका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको बताए । उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलापमा चल्ने सहकारी काठमाडौँ सहरमा भेटिएको बताए । उनले सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको बताए । उनले १० लाख भन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरूले पाइने विषय राम्रो नभएको बताए । उनले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरूले बिगारेको बताए । उनले समितिले छानबिन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए ।
सभापति थापाले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजीको विषय भएको बताए । उनले सहकारीमा देखिएको अहिलेको गम्भीर समस्या सहकारी अभियन्ताहरूको पनि असफलता भएको बताए ।