सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ राजदूत सोङमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाए प्रश्न : स्पष्टीकरण सोध्न माग

मङ्गलबार, १५ साउन २०८१, १८ : ३३
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । सामाजिक सञ्जाल एक्समा सक्रिय रहने नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले दिएका अभिव्यक्तिलाई लिएर नेपालको प्रतिनिधि सभामा सांसदहरूले प्रश्न उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरू रामहरि खतिवडा र सर्वेन्द्रनाथ शुक्लले राजदूत सोङको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनलाई बोलाएर स्पष्टीकरण सोध्न सरकारलाई आग्रह गरेका छन् । 

गत असार २८ गते चितवनको सिमलतालमा २ वटा बस दुर्घटना भई ६२ यात्रुसहित बेपत्ता भएको विषयमा राजदूत सोङले भद्धा कटाक्ष र व्यङ्ग्य गरेको भन्दै सांसदहरूले आपत्ति प्रकट गरेका छन् । 

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले बेपत्ता यात्रु र हराएको बसको खोजीका बारेमा राजदूत सोङले भद्दा टिप्पणी गरेको भन्दै विरोध जनाए । उनले परराष्ट्र मन्त्रालयलाई चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण लिन आग्रह गरे । 

सांसद खतिवडाले भने,‘एक जना महामहिमले कूटनीतिक मर्यादा र आचार संहिता विपरीत अभिव्यक्ति दिन थाल्नुभएको छ । सर्च गर्ने टोलीलाई गुड लक अल द सर्च टिम भनेर ट्वीटरमा लेख्ने गरिएको छ । बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत् पर्दा सहयोग गरौँ मानवीय समवेदनाको बारेमा बोलौँ । अप्ठ्यारो परेको बेलामा हाँसी मजाकमा नउडाऔँ भनेर म अनुरोध गर्न चाहन्छु । परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लिइयोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’

सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा नेपाल र भारतका टोली संयुक्त रूपमा खटिएका थिए । सो क्रममा बस खोज्न प्रयोग भएको चुम्बक समेत हराएपछि चिनियाँ राजदूत सोङले सामाजिक सञ्चाल एक्समा असभ्य टिप्पणी गरेका थिए ।

सोही विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले गत असार २८ गते त्रिशूली नदीमा २ वटा बस दुर्घटना भएको विषयमा कूटनीतिक नियोगको व्यक्तिले कटाक्ष गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  

कुनै राजदूतको नाम नलिई उनले एकजना राजदूतले खोजीकार्यबारे सामाजिक सञ्जाल एक्समा व्यङ्ग्य र मजाका उडाउने काम गरेको र त्यो कूटनीतिक मर्यादा विपरीत भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । ती राजदूतले ३ दिनदेखि लगातार सामाजिक सञ्जालबाट बस दुर्घटनाको विषयलाई लिएर व्यङ्ग्य गरेकोले त्यसलाई नोटिसमा लिनुपर्ने बताए । 

सांसद शुक्लाले भने,‘७ दिनसम्म सय जनाभन्दा बढी ठुलो सङ्ख्याले खोजी गर्दा बस फेला नपार्नु दुर्भाग्यपूर्ण हो । तर त्यो भन्दापनि ठुलो दुर्भाग्यपूर्ण हो व्यङ्ग्यपूर्ण अभिव्यक्ति । दुर्घटनाबाट कैयौँ गाउँबासी अझै शोकमग्न छन् । त्यो अप्रत्याहित घटनाबाट सबै शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उढाएका छन्, सामाजिक सञ्जाल एक्सको पोष्टमा । यो हेर्दा मित्रले पीडाबोध गर्नु त कहाँ हो कहाँ, संयुक्त प्रयासलाई निरन्तर लेख्दै अपहेलित गर्ने काम भइरहेको छ सभामुख महोदय ।’

सांसद शूक्लाले अगाडि भने,‘यो कृत्य कुनैपनि देशको कूटनीतिक मर्यादा विपरीत हो । नेपालको नेतृत्वमा भएको यो खोजीकार्यलाई सफल भएपनि, असफल भएपनि त्यसको मजाक उडाउने कार्य निन्दनीय हो । यसबारे सरकारलाई मैले ध्यानाकर्षण गराएँ । अहोरात्र खटिइरहेको हाम्रो सुरक्षा निकाय, हाम्रो मित्रराष्ट्रका विज्ञहरुको टोलीले गरिरहेको कार्यहरूको लगातार ३ दिनदेखि व्यङ्ग्य गर्ने काम भइरहेको छ, यसलाई नोटिसमा लिनुपर्छ र कूटनीतिक तरिकाबाट यसलाई रोक्नुपर्छ ।’

पछिल्ला दिनमा सामाजिक सञ्जाल एक्समा चिनियाँ राजदूत चेन सोङले बस दुर्घटनाको विषयमा कटाक्ष गर्दै आएका छन् । उनले दिएका अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि टिप्पणी गर्ने गरेका छन् । उनी बेला बखत नेपालका पत्रकारहरूसँग सामाजिक सञ्जाल एक्समा क्रिया–प्रतिक्रिया व्यक्त गरेर विवादमा पर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप