गजबका समर्थक : दुई वर्ष साइकल चलाएर पेरिस ओलम्पिकमा !
काठमाडौँ । विश्व खेलकुदमा समर्थक पनि गजबका हुन्छन् । यस्तै एक समर्थक पेरिस ओलम्पिकमा पनि फेला परेका छन् । उनी भारतीय एथलेटिक्स खेलाडी निरज चोपडाका सच्चा समर्थक हुन् ।
फायिस असरफ अली नामका ती समर्थक निरज चोपडाकै हौसला बढाउन पेरिस पुगेका हुन् । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण अहिले फ्रान्सको राजधानी पेरिसमा भइरहेको छ ।
आफ्ना प्रिय खेलाडीको हौसला बढाउन समर्थकहरू विश्वको विभिन्न कुनामा पुग्नु अनौठो विषय होइन । तर, फायिस असरफ अलीको प्रसंग केही फरक छ । उनी हवाइजहाज चढेर पेरिस पुगेका होइनन् ।
खासमा, उनी साइकल चलाउँदै फ्रान्सको राजधानी सहरसम्म पुगेका हुन् । पेरिस ओलम्पिकमा निरज चोपडाको पहिलो स्पर्धा अगस्त ६ तारिखमा परेको छ । त्यसअघि नै उनका समर्थक पेरिस पुगेका हुन् ।
फायिस असरफ अलीले आफ्नो यात्रा सन् २०२२ को अगस्त १५ तारिखमा भारतबाट सुरु गरेका थिए । उनी विभिन्न १७ देशको सिमा पार गर्दै पेरिस पुगेको समाचारमा जनाइएको छ ।
साइकलमा पेरिस पुग्न उनलाई दुई वर्ष लागेको थियो । उनी सन् २०२३ को अगस्तमा हंगेरीको बुढापेष्टमा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपमा पनि निरजको हौसला बढाउन पुगेका थिए ।
अगस्त १ तारिखमा बुढापेष्टको एक होटेलमा पुगेर उनले आफ्ना प्रिय खेलाडी निरजलाई सफलताको शुभकामना दिएका थिए । त्यतिबेला निरजले नै उनलाई पेरिस ओलम्पिक हेर्न सल्लाह दिएका थिए ।
निरजको सल्लाह अनुसार नै फायिस असरफ अली अहिले पेरिस पुगेको समाचारमा जनाइएको छ । फायिस असरफ अली भारतको केरलस्थित कालिकटका स्थायी बासिन्दा हुन् ।
उनले पेरिस पुग्न साइकलमा २२ हजार किलोमिटर दुरी तय गरेका थिए । पेरिस पुगेर उनले त्यहाँको विश्व चर्चित एफिल टावर अगाडि उभिएर तस्बिर खिचाउँदै इन्स्टाग्राममा पोष्ट पनि गरेका छन् ।
फायिस असरफ अलीले अतिरिक्त ५० केजी सामानसहित साइकल यात्रा गरेको समाचारमा जनाइएको छ । साइकल यात्राका क्रममा उनले इङ्ल्यान्डमा चर्चित क्रिकेटर क्रिस गेल, हरभजन सिंह र सुरेश रैनासँग पनि भेटेका थिए । यी क्रिकेटरले पनि आफ्नो हौसला बढाएको उनले बताएका छन् ।