पटक–पटक चुनाव हारेका जोशीलाई देउवाको आशीर्वाद, बने कर्णालीको प्रदेश प्रमुख
सुर्खेत । सरकारले कर्णाली प्रदेशको प्रमुखमा कञ्चनपुरका यज्ञराज जोशीलाई सिफारिस गरेको छ । सरकारले कर्णाली प्रदेश प्रमुखमा लुम्बिनीका तिलक परियारलाई हटाएर सुदूरपश्चिमका जोशीलाई सिफारिस गरेको हो ।
जोशी कर्णाली प्रदेशको चौथो प्रदेश प्रमुख हुनेछन् । २००६ साल चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका जोशी ३० को दशकदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए ।
०४८ सालदेखि (आठौँ महाधिवेशनबाट) महासमिति सदस्य भएका उनी ०६३ सालमा कांग्रेसको कञ्चनपुर जिल्ला सभापति भएका थिए । ०४९ सालमा कांग्रेसका तर्फबाट महेन्द्रनगर नगरपालिका (हाल भीमदत्त नगरपालिका)को पहिलो मेयर भएका उनी ०५४ सालमा मेयरका लागि उम्मेदवार बने पनि पराजित भए ।
०६५ सालको उपनिर्वाचनमा पनि उनी पराजित हुन पुगे । उनी संसदीय चुनाव लडेको यो पहिलो पटक थियो ।
०७० मा दोस्रो संविधान सभा चुनावमा पनि जोशी उम्मेदवार हुन चाहेका थिए । तर त्यो बेला टिकट पाएनन् । यस्तै ०७४ मा कञ्चनपुर ३ (क) बाट उनी प्रदेश सभा उम्मेदवार बनेका थिए । नेकपा एमालेका प्रकाश रावलसँग उनी पराजित भए ।
०७९ मा पनि उनी उम्मेवार बन्ने आकाङ्क्षी थिए । पछि देउवाकै आग्रहमा पछि हटे । ०५९ सालमा देउवाले कांग्रेस फुटाउँदा भने उनी मूल कांग्रेसमै रहेर जिल्लामा राजनीति गरे । पछि दुई कांग्रेसबिच एकीकरण हुँदा भने आफू शेरबहादुर देउवासँगै रहेको उनले रातोपाटीलाई बताए । एकीकरण हुँदा उनले प्रजातान्त्रिक कांग्रेसका बहादुरसिंह थापालाई सभापतिका लागि मार्ग प्रशस्त गरिदिएका थिए ।
सुशील कोइराला पार्टी सभापति भएका बेला एक पटक आमन्त्रित सदस्य हुनुका साथै १४ औँ महाधिवेशनपछि उनी पार्टीको केन्द्रीय सदस्यसमेत छन् । उनी निरन्तर महासमिति सदस्य पनि छन् । आफू पार्टीमा निरन्तर रूपमा लागेकोले नै ‘शेरबहादुर दाइ’ले प्रदेश प्रमुख बनाइदिएको उनको भनाइ छ ।
‘सुदूरपश्चिममा त शेरबहादुर दाइको साथ नभएपछि गाह्रो हुन्छ नि,’ उनले भने, ‘हामी उहाँकै वरिपरि रहेर पार्टीमा निरन्तर दुःख गरियो ।’
जोशी अहिले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, कटानमा बस्छन् । यस्तै उनको वडा नम्बर ५ मा पनि घर छ । ०३२ सालमै उनको परिवार कञ्चनपुरमा बसाइँ सरेको थियो । त्यहाँ आएदेखिनै आफूले कांग्रेसको राजनीतिमा लागेको उनको भनाइ छ ।
त्रिचन्द्र कलेजबाट ब्याचलरसम्म अध्ययन गरेका जोशी ०६२÷०६३ को जनआन्दोलका क्रममा जेलसमेत परे । कञ्चनपुर कांग्रेसका २२ जना राति १ बजे जुलुस निकालेर आन्दोलन गर्दा पक्राउ परी ६ महिना जेल बसेका थिए उनी । जोशीका श्रीमती, दुई छोरा, एक छोरी छन् ।
कर्णालीमा सधैँ आयातित प्रदेश प्रमुख
कर्णाली प्रदेशमा अहिलेसम्म चार जना प्रदेश प्रमुख बने । त्यसमा तीन जना प्रदेश बाहिरका प्रमुख बने । पहिलो पटक ०७४ मा कांग्रेसको कोटाबाट प्रदेश प्रमुख बनेका दुर्गाकेशर खनाल बाहेक त्यसपछि नियुक्त भएका गोविन्दप्रसाद कलौनी, तिलक परियार र अहिलेका यज्ञराज जोशी प्रदेश बाहिरका हुन् ।
खनाल सुर्खेत वीरेन्द्रनगर निवासी हुन् । ०७६ कार्तिक ७ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे । पछि केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर ०७५ कार्तिक १८ गते एमाले नेता गोविन्द प्रसाद कलौनीलाई प्रदेश प्रमुख नियुक्त गर्यो ।
उनी सुदूरपश्चिमको कञ्चनपुरका हुन् । बैतडीमा जन्मेका कलौनीले डडेल्धुरा र कञ्चनपुरलाई कार्यथलो बनाइ राजनीति गरेका थिए । कलौनी ०७८ कार्तिक २३ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे ।
त्यसपछि नेकपा माओवादीको कोटाबाट प्रदेश कर्णालीको प्रदेश प्रमुख भएर लुम्बिनी प्रदेशको बाँकेका तिलक परियार आए ।
अहिले उनलाई हटाएर फेरि कञ्चनपुरकै यज्ञराज जोशीलाई प्रदेश प्रमुख बनाइयो । प्रदेशभित्र प्रदेश प्रमुखका लागि योग्य पात्र प्रशस्त रहे पनि प्रदेश बाहिरबाट आयातित भइरहेको भन्दै कर्णालीमा आलोचना भइरहेको छ ।
सुर्खेतका एक प्रतिष्ठित व्यापारी चिन्तामणि शर्माले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रदेश प्रमुख फेरि पनि आयातित, कर्णालीमा योग्य मानिस भेटिएनछ ? आयातित प्रदेश प्रमुख मान्दैनौँ भन्ने अभियान सुरु गरौँ न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता