के हो समाजवादी मोर्चाको साँचो अन्तर्य ?
केही दलको सत्ता सिन्डिकेटका रूपमा प्रयोग भएको तथाकथित ‘समाजवादी मोर्चा’ षड्यन्त्रमूलक तरिकाले राजकीय स्थानमा सरकारी चियापानसहित गठन भएको थियो ।
कांग्रेस–माओवादी गठबन्धनका बेला सक्रिय रहेको मोर्चा गत वर्ष फागुनको तेस्रो साता एमालेसँग सत्ता समीकरण बनेपछि निष्क्रिय अझ भनौँ मृतप्रायः भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री क. प्रचण्ड सरकारबाट बर्हिगमन भएसँगै यस मोर्चालाई फेरि ब्यँुताउने खेलोमेलो सुरु भएको छ ।
तत्कालीन अवस्थामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्ड लगायत अन्य अग्रगामी समाजवादी रानीतिक शक्तिहरूका बिचमा रूपान्तरित नयाँ शक्तिका रूपमा एक बृहत्तर ‘समाजवादी मोर्चा’ वा केन्द्र निर्माणको डिस्कोर्स सुरु गरेका थिए । विभिन्न चरणमा कुराकानी पनि भएका थिए ।
खासमा यस मोर्चाको उद्देश्य थियो— अल्पकालीन वा छिनछिनमा सरकार बनाउने वा ढाल्ने नभई दीर्घकालीन वा रणनीतिक खालको सरकार बनाउने; संविधानको रक्षासँगै कार्यान्वयन गर्ने, संविधानलाई समयसापेक्ष अग्रगामी संशोधन वा परिमार्जन गर्ने; विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता दिने; संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न अग्रसर रहने ।
‘समाजवादी मोर्चा निर्माण गर्न साँच्चिकै निष्ठावान् हुनुहुन्छ भने बृहत्तर डिस्कोर्सका लागि गोलमेच सम्मेलन आह्वान गर्नुस् र समाजवाद चाहने विभिन्न राजनीतिक दल, व्यक्ति, चिन्तक, वाम बुद्घिजीवी आदिबिच बहसको सुरुवात गर्नुस् ।’
अहिले यस मोर्चाको नेतृत्व नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले गरेका छन् । भर्खरै हतासपूर्ण तरिकाले मोर्चाको बैठक बसेको भनिएको छ । उक्त बैठकमा नेपाल समाजवादी पार्टीबाट निष्कासनमा परेका व्यक्ति महेन्द्र राय यादव मण्डलीलाई नेपाल समाजवादी पार्टी भनी समावेश गरिएछ । यसले यो मोर्चाको वास्तविक नैतिक चरित्र, राजनीतिक दुस्ट्याइँ र सङ्कीर्णतालाई उदाङ्गो पारेको छ । आकार र चरित्र हेर्दा सबैतिरबाट परित्याक्त जडसूत्रवादी कम्युनिस्ट नेताहरूको कुण्ठा व्यक्त गर्ने कोठे थलोको रूपमा यो समाजवादी मोर्चा परिणत भएको चर्चा गर्न थालिएको छ ।
क. विप्लवले यसको नेतृत्व लिइसकेपछि क. प्रचण्ड र विप्लव सहभागी भएको एउटा सार्वजनिक कार्यक्रमका यस स्तम्भकारले यस मोर्चाका बारेमा केही जिज्ञासा र प्रश्न गरेको थियो । अब क. विप्लवको छातीको साइज कत्रो छ, नाप्ने बेला भो भनेर । समाजवादी मोर्चालाई यथास्थितिमा सङ्कीर्ण सोचका साथ केही दलका नेताको स्वार्थपूर्ण रजगज गर्ने थलो मात्र बनाउने कि परम्परागत कम्युनिस्ट आन्दोलनको बृहत् समीक्षासहित व्यापक रणनीतिक डिस्कोर्स सुरु गर्ने ? युगको आवश्यकता अनुरूपको रूपान्तरण र समाजवादी प्रक्रियातर्फ यो मोर्चा अगाडि बढ्नुपर्ने होइन र ?
यिनै प्रश्नको उत्तरबाट निर्धारण हुन्छ, तपाईंहरूले साँच्चिकै समाजवादी रूपान्तरण चाहनुभएको छ वा छैन भन्ने । हिजो आफू सरकारमा हुँदा तपाईंहरूले संविधानको कार्यान्वयन, समयसापेक्ष अग्रगामी संशोधन वा परिमार्जनका लागि के गर्नुभयो ? विकासका काम; शान्ति प्रक्रियाका बाँकी काम; संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना आदि जुन यहाँहरुकै एजेन्डा थिए; तिनको कार्यान्वयनका लागि के के गर्नुभयो ? यसको पनि समीक्षा गर्नुपर्ला नि ? अब सरकार बाहिर हुँदा त्यही कुरा गर्न समाजवादी मोर्चा सक्रिय पारेको हो भनेर जनताले पत्याइदिनुपर्ने !
तपाईंहरू साँच्चिकै समाजवादी मोर्चा बनाउन चाहनुहुन्छ भने आफूलाई मन परेका तथाकथित नेता वा दलको चुलो–चौको बनाउनतिर नलाग्नुस् । बरु समाजवादी मोर्चा निर्माण गर्न साँच्चिकै निष्ठावान् हुनुहुन्छ भने बृहत्तर डिस्कोर्सका लागि गोलमेच सम्मेलन आह्वान गर्नुस् । समाजवाद चाहने विभिन्न राजनीतिक दल, व्यक्ति, चिन्तक, वामबुद्घिजीवी आदिबिच बहसको सुरुवात गर्नुस् । अनि बल्ल कोर्न सकिएला साँचो अर्थमा समाजवादी मोर्चाको वैचारिक, सांगठनिक र कार्यक्रमिक प्रारूप । होइन भने, तपाईंहरूको वर्तमानको कार्य तुष्टीकरणका लागि मात्र वा निरर्थक साबित हुनेछ ।
नेपालको नयाँ संविधानले राजनीतिक रूपमा एउटा युगान्तकारी परिवर्तनलाई संस्थागत गरेको छ; समतामूलक र प्रगतिशील सामाजिक, आर्थिक रूपान्तरणको ढोका खोलेको छ । यद्यपि केही संरचनागत समस्या, अक्षम राजनीतिक नेतृत्व र सत्तालोलुप गठबन्धन संस्कृति आदिका कारण मुलुक सधैँ राजनीतिक अस्थिरताको भुमरीमा फस्न पुगेको छ, प्रतिगमनको खतरा उत्तिकै बढेको छ । यस्तो अवस्थामा देशको राजनीतिक स्थायित्व, शान्ति र समृद्धिमा लागि समुन्नत समाजवादमा आधारित एउटा अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक एवं रूपान्तरित सशक्त समाजवादी शक्ति निर्माणको आवश्यकता छ । यसका लागि विचार र मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वसँग सहकार्य र एकताको थालनी अपरिहार्य छ ।
आफूलाई प्रगतिशील, वामपन्थी र अझ अघि बढेर कम्युनिस्ट भन्ने विभिन्न पुराना राजनीतिक दलहरूको समाजवाद कार्यान्वयन सम्बन्धमा सुस्पष्ट दृष्टिकोण र कार्यक्रम समेत बनिनसकेको छ । यो अवस्थामा सम्पूर्ण प्रगतिशील अग्रगामी र रूपान्तरित आचरणसहितको राजनीतिक शक्तिको एउटा साझा मोर्चाको रूपमा नयाँ समाजवादी केन्द्र निर्माणको औचित्य पुष्टि भएको हुँदा सम्पूर्ण प्रगतिशील अग्रगामी शक्तिहरूले यस आवश्यकतालाई मनन गर्दै सचेततापूर्वक लाग्नुपर्ने देखिएको छ ।
विभिन्न संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई जोगाउँदै संघीय व्यवस्थाको कार्यान्वयन र सुदृढीकरण गर्नुपर्नेछ । जनचाहना अनुरूपको विकास र आर्थिक समृद्घिसँगै जनताका मौलिक हकहरूलाई प्रत्याभूत गर्दै कार्यान्वयन गर्नुपर्ने दायित्व र जिम्मेवारी पनि गुणात्मक रूपमा वैचारिक, आचरणगत एवं व्यावहारिक रूपान्तरणसहितको नयाँ अग्रगामी राजनीतिक शक्तिले मात्रै पूरा गर्न सक्छ ।
नयाँ, अग्रगामी, प्रगतिशील–लोकतान्त्रिक चेतना तथा विचार भएको; सङ्गठन, सङ्घर्ष र नेतृत्व सबै हिसाबले नयाँ ढङ्गको वास्तविक समाजवादी सोच भएको बलियो शक्तिविना देश अग्रगमनमा जान सक्दैन । त्यसो हुँदा प्रगतिशील तथा अग्रगामी राजनीतिका पक्षधरले नयाँ समाजवादी ध्रुवीकरण गरी अभियानात्मक रूपमा नयाँ समाजवादी विचार र आन्दोलन निर्माण गर्न जरुरी छ । यो अभीष्ट आफूलाई मन लागेका अमूक–अमूक दल व्यक्ति समेटेर पूरा हँुदैन भन्ने हेक्का अहिलेको तथाकथित समाजवादी मोर्चाले बुझ्नुपर्छ ।
(शाह नेपाल समाजवादी पार्टीका नेता हुन् ।)