बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रघुजीको आरोपबारे स्वर्णिमको जवाफ– मध्य रातमा खुफिया एजेन्सी प्रमुखलाई बोलाउने छैनौँ

मङ्गलबार, १५ साउन २०८१, १६ : ३१
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफ्नो राष्ट्रिय स्वाभिमानमाथि प्रश्न नगर्न आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार बसेको बैठकमा एमाले सांसद रघुजी पन्तले लगाएका आरोपहरूको जवाफ दिने क्रममा सो कुरा बताएका हुन । 

सोमबारको बैठकमा एमाले सांसद पन्तले २०८० साल फागुन २१ गते पार्टीको बैठकमा सांसद वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै उनको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएका थिए । त्यसको जवाफमा वाग्लेले आफू र आफ्नो दल राजनीतिमा नयाँ संस्कार स्थापित गर्न आएको बताउँदै नयाँ दललाई पञ्चायत कालमा अराष्ट्रिय तत्त्व भन्ने जस्तो व्यवहार नगर्न आग्रह गरे । उनले आफू र आफ्नो दललाई कुनै खुफिया प्रमुखलाई मध्यरातमा भेट्न आवश्यक नभएको बताए । 

सांसद वाग्लेको धारणा जस्ताको त्यस्तै: 

नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य डायस्पोरा, एसियाको उदाउँदो भूराजनीतिलाई  आत्मसाथ गर्दै नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता  र स्वाभिमानलाई सधैँ अक्षृण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ । कुरो नबुझ्ने, नबुझेपनि विषयान्तर गर्ने, हाकाहाकी झुटै बोल्ने । पञ्चायत कालमा कांग्रेस कम्युनिस्टलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो । २१ जनामा १९ जना हामी ५० मुनीका छन् । एउटा युवा शक्ति छ, विदेश पढेका छन् । अब यिनीहरूलाई भ्रष्टाचारको आरोप लगाउन त सक्नुहुन्न । अक्षमताको आरोप त लगाउन सक्नुहुन्न । पञ्चायत कालमा लगाएको अराष्ट्रिय तत्त्वको झैँ आरोप लगाइरहनु भएको छ त्यसको हामी डटेर सामना गर्छौं । 

राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तान पछि दोस्रो तन्नम देश नेपाल रहने थिएन । चीन ३५ वर्षअघि ३३३ डलरबाट अहिले प्रतिवर्ष प्रतिव्यक्ति आय १३ हजार पुगेको छ । नेपाल १८५ बाट १३ सयमा गएर अड्किएको छ । दसौँ लाख युवाहरू बाहिर गएका छन् । चरम नैराश्य छ । यो कस्तो खालको राष्ट्रवादले तपाईँहरूले यो देशलाई त्यहाँ पुर्‍याउनुभयो ? हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमतालाई अक्षृण राख्दै आर्थिक लाभ लिने, हाक्का हाक्की संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने, प्रधानमन्त्री नरेन्द्र मोदी १० वर्षअघि यहीँ बोलेर जानुभयो । २ वर्षअघि उहाँलाई भेट हुँदा–महामहिम एचईटी, हाइवे, इन्फोवे, ट्रान्सवे, त्यत्रो एजेण्डा लिनुभएको थियो तर त्यसले गति लिएन नि भनेर मैले उहाँलाई भनेँ । त्यतिखेर विदेशमन्त्री जयशंकर हुनुहुन्थ्यो, नाकाबन्दी लगाएर इन्डियाले हिस्टोरिक ब्लन्डर गरेको छ भनेको छु । चीनका मन्त्रीहरूलाई नक्सा फिँजाएर एयर कनेक्टीभिटीमा हामी किन चुक्यौँ भनेको छु । अर्को महिना १२ रास्वपा सदस्यको नेतृत्व गरेर चिनियाँ नेतृत्वसँग आमने सामने बहस गर्छु । 

हामीलाई मध्य रातमा खुफिया एजेन्सीका प्रमुखहरुलाई बोलाएर गोप्य मन्त्रणा गर्नुछैन । कुनै नदीनालाका सन्धिहरूलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नु छैन । हामी नयाँ संस्कृति, नयाँ राजनीतिकको संस्कार बसाउन आएका छौँ । 

अरूको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा देखिन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउँने, स्टन्टम्यान बनाएर झुट बोलेर पन्छाउन सकिन्छ भनेर कसैले नसोच्नुहोला । यसको लागि नैतिक उचाइ र वैचारिक बल चाहिन्छ, त्यो सायदै कम मानिसमा छ । त्यसैले तपाईँहरूले सक्नुहुन्न, यो कुरा गर्न सक्नुहुन्न । नेपालको हितलाई केन्द्रमा राखेर घण्टौँ बहस गर्न जोसुकैसँग तयार छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप