आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रलक्षित सांसद बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौँ

मङ्गलबार, १५ साउन २०८१, १५ : ५०
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गरेका छन् । संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरूको अभिव्यक्ति आउन थालेपछि उनले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो कुरा बताएका हुन् । 

सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठुला दल कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताए । उनले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसैविरुद्ध लक्षित नरहेको दाबी समेत गरे । 

सांसद बास्कोटाले साना दलहरूले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढ्नुपर्ने बताए । 

उनले भने, ‘दुई वटा ठुला दल मिलेका छन् । ती राजनीतिक रूपमा मिल्दैनन्, सैद्धान्तिक रूपमा मिल्दैनन् । कार्यक्रमको रूपमा मिल्दैनन् । मुलुकलाई निकास दिन मिल्छन् । इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन् । भोलि पनि मिल्छन् । यति कुरा हो–मुलुकका आवश्यकता अनुसार कसैका विरुद्ध यो होइन । आ–आफ्नो सामर्थ्यमा चलौँ । अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौँ ।’

सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबिच संसदमा आरोप/प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप