पेरिस ओलम्पिक : सेन नदीको पानी प्रदूषित भएपछि ट्रायथलनको स्पर्धा स्थगित
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा पुरुषतर्फको ट्रायथलन खेल तत्कालका लागि स्थगित गरिएको छ । वर्षाका कारण खेल स्थलको पानी प्रदूषित भएकाले ट्रायथलन खेल स्थगित गरिएको स्थानीय आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय ट्रायथलन महासंघले पनि यो समाचारको पुष्टि गरेको छ । ‘सेन नदीको पानी प्रदूषित भएकाले पुरुषतर्फको एकल स्पर्धा स्थगित गरिएको हो,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदूषित पानीका कारण खेलाडीको स्वास्थ्यमा असर पर्ने भएकाले स्पर्धा स्थगित गरिएको हो ।
मंगलबार महासंघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को प्राविधिक टोलीले सेन नदीको पानीको नमूना परीक्षण गरेपछि ट्रायथलनको उक्त स्पर्धामा स्थगित गर्ने निर्णय लिइएको समाचारमा जनाइएको छ ।
जारी ओलम्पिकमा ट्रायथलनको पुरुषतर्फको एकल स्पर्धा मंगलबार खेलाइने कार्यक्रम थियो । स्थगित स्पर्धा बुधबार खेलाइने सम्भावना छ । महिलातर्फको एकल स्पर्धा पनि बुधबार नै खेलाउने कार्यक्रम रहेको छ ।
‘सेन नदीको पानीको गुणस्तरमा अझै सुधार आएको छैन । यस्तोमा खेलाडीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । त्यसैले तत्कालका लागि स्पर्धा स्थगित गर्ने निर्णय लिएका हौँ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पानीको गुणस्तरको विषयलाई लिएर खेलाडीहरुले पनि गुनासो गर्दै आएका थिए । गत शुक्रबार ओलम्पिकको उद्घाटन समारोहको दिन र त्यसको भोलीपल्ट पेरिसमा ठुलो वर्षा भएको थियो । सोही कारणले नदीको पानी निकै प्रदूषित बनेको थियो ।
नदीको पानी प्रदूषित भएपछि ट्रायलथन खेलाडीले त्यहाँ नियमित अभ्यास पनि गर्न पाएका छैनन् । ट्रायथलनको मिक्स टिम स्पर्धा भने सोमबार हुनेछ । पानीको गुणस्तर खराब भएकै कारण सरकारले उक्त नदीमा पौडी खेल्न लामो समयसम्म प्रतिबन्ध लगाएको थियो ।
गत जुनमा विस्तृत रूपमा पानीको गुणस्तर परीक्षण गरिएको थियो । पानीमा खेलिने खेलसँग सम्बन्धित महासंघहरुले पानीको गुणस्तरको विषयमा निश्चित मापदण्ड बनाएका हुन्छन् । तर, जुनमा गरिएको परीक्षणको नतिजा पनि त्यो मापदण्डभन्दा तल्लो स्तरको थियो ।
त्यसपछि पेरिसकी मेयर एनी हिडाल्गोले हालै सीन नदीमा पौडी खेलेर त्यहाँको पानी सुरक्षित रहेको सन्देश दिने प्रयास गरेकी थिइन् । ओलम्पिक सुरु हुनुभन्दा केही समयअघि पनि सीन नदीको पानीको गुणस्तर परीक्षण गरिएको थियो । त्यतिबेला पानीको गुणस्तर पौडी खेल्नका लागि उपयुक्त रहेको दाबी गरिएको थियो । तर, गत शुक्रबार र शनिबार भएको ठुलो वर्षाका कारण पानीको गुणस्तर झनै ब्रिगिन पुगेको थियो ।
हाललाई पुरुष र महिलातर्फको एकल स्पर्धा बुधबार खेलाउने तयारी गरिएको छ । तर, त्यो पनि अन्यौलमै छ । मंगलबार पनि पेरिसमा ठुलो वर्षाको सम्भावना रहेको चेतावनी त्यहाँको जल तथा मौसम विज्ञान विभागले दिएको छ ।
यदि मंगलबार ठुलो वर्षा भएमा सेन नदीको पानी थप प्रदूषित बन्नेछ । अहिले प्रत्येक दिन सीन नदीको पानीको गुणस्तर परीक्षण गरिँदै आएको छ । फ्रान्स सरकारले ओलम्पिक खेलकुदअघि नै सेन नदीको पानीलाई गुणस्तरयुक्त बनाउन एक अर्ब ४० करोड युरो खर्च गरेको थियो ।