पेरिस ओलम्पिक : दुई वटा पदक जित्ने पहिलो भारतीय खेलाडी बनिन् मनु भाकर
मङ्गलबार, १५ साउन २०८१, १४ : ०३

काठमाडौँ । दक्षिण एसियाली राष्ट्र भारतले ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा दोस्रो कांस्य पदक जितेको छ । भारतले मंगलबार सुटिङको १० मिनेट एयर पिस्तल मिक्स्ड टिम स्पर्धामा कांस्य पदक हात पारेको हो ।
उक्त स्पर्धामा भारतका लागि मनु भाकर र सरबजोत सिंहको जोडीले पदक जितेको हो । मनु र सरबजोतको जोडीले कोरियाका खेलाडीलाई हराएर कांस्य पदक पक्का गरेको हो । जारी पेरिस ओलम्पिकमा यसअघि भारतले सुटिङमै कांस्य पदक जितेको थियो ।
भारतका लागि पहिलो कांस्य पदक मनु भाकरले जितेकी थिइन् । मनुले यही स्पर्धाको महिला एकलतर्फ कांस्य जितेकी हुन् । जारी ओलम्पिकमा मनुले जितेको यो दोस्रो कांस्य पदक हो । उनी एउटै ओलम्पिकमा दुई वटा पदक जित्ने पहिलो भारतीय खेलाडी पनि बनेकी छन् ।