शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
अप्ठेरोमा विकल्प

सिङ्गै घर यसरी सारिन्छ

विराटनगरका डुबान क्षेत्रका घर उचाल्न र सार्न सुरु
मङ्गलबार, १५ साउन २०८१, १२ : २४
मङ्गलबार, १५ साउन २०८१

विराटनगर । विराटनगरको डुबान क्षेत्रका बासिन्दा लामो समयदेखि पीडित छन् । पछिल्लो समय निर्माण गरिएका सडक पुराना घरको सतहभन्दा अग्लो बनाएर पिच गरिएको छ । सडक नै अग्लो बनाएपछि त्यस आसपासका घर सानोतिनो वर्षा हुँदा पनि डुबानमा पर्नु स्वाभाविक हो ।

पछिल्लो समय विराटनगरमा डुबानमा परेका घर जमिनको सतहभन्दा माथि उचाल्ने वा केही वरपर सार्ने क्रम सुरु भएको छ । घर भत्काएर अर्को बनाउनुभन्दा सस्तो र जग पनि पहिलेकै जस्तो दह्रो हुने भएकाले केही लाख लगानी गरेर मानिसहरू घर उचाल्ने वा केही यताउता सार्ने गरिरहेका छन् । विराटनगरमा यस्तो प्रविधि भित्रिएको केही महिना अगाडिमात्रै हो ।

गत पुस महिनामा विराटनगरका औद्योगिक घराना राजेन्द्र राउतले दुई अर्ब ५० करोड लगानी गर्दै बुढीगंगा–१ टंकीसिनुवारीमा हस्पिटल निर्माणको शिलान्याश गरे । अस्पतालको भवन निर्माण गर्ने स्थानमै झण्डै चार तलाभन्दा अग्लो बिल्डिङ थियो । करोडौँ रुपैयाँ लगानी गरेर केही वर्ष अगाडिमात्रै बनाइएको उक्त बिल्डिङ भत्काउनुपर्ने अवस्था आयो । तर, राउतले अहिलेको नयाँ प्रविधिलाई प्रयोग गर्दै क्रेनको मद्दतले सिङ्गो घरलाई जुरुक्कै बोकेर स्थानान्तरण गरे । त्यसरी घर सार्दा आफूलाई घर भत्काएर नयाँ बनाउनुभन्दा ८० प्रतिशत सस्तो भएको उनले सुनाए ।

‘फाउण्डेसन र नयाँ जग बनाउनु प-यो । त्यो बाहेक सार्नमात्रै १५ देखि २० लाख भारु लाग्यो । तर, पहिले जस्तो थियो, सारेको घर त्यस्तै छ । पुरानो र नयाँमा केही फरक पाइएन,’ राउतले भने, ‘डुबान प्रभावित क्षेत्रका घरहरू उचालेर बनाउँदा केही फरक नपर्ने अवस्था छ ।’

Ghar Sariyo (3)

राउतले घर सारेजस्तै विराटनगर–११ मा ३ तले घर अहिले धमाधम उचालिँदैछ । १ हजार ७५० वर्गफुटको घर डेढ महिना लगाएर उचालेर भित्र जग बसाउने काम चलिरहेको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडकभन्दा तल परेपछि चारफुट उचालेर समानान्तर बनाउन लागिएको हो ।

घरै उचाल्ने वा सार्ने काम भने अहिले भारतको बिहार राज्य, सहरसा जिल्लास्थित एल.बी.एल हाउस लिफ्टिङ कन्ट्रक्सनले गरिरहेको छ । फ्रेम स्ट्रक्चर भएको घरको बेसबीमबाट उचालेर नयाँ जग बसाउने काम भइरहेको छ । उचालिएको घर फलामको जगमा राखिएको छ ।

कन्ट्रक्सनका प्रोपाइटर तथा इन्जिनियर लालचनकुमार गुप्ताका अनुसार उक्त घर उचालेको प्रतिवर्गफुट ६ सय रुपैयाँ खर्च लाग्छ । घरको क्षेत्रफल तथा तलाको आधारमा दररेट कायम हुन्छ । फ्रेम स्टक्चर (पिलर) घरको एकतला भए ४ सय, दुई तला भए ६ सय, तेस्रो तला भए ८ सय र चौथो तला एक हजार २ सय प्रतिवर्गफुट पैसा लाग्ने गुप्ता बताउँछन् । आवश्यक पर्ने निर्माण सामग्री भने घरधनीले नै उपलब्ध गराउनु पर्छ ।

घरको जगदेखि बेसबीम बिचमा नयाँ संरचना निर्माण गरेर पिलरमा जडान गरिन्छ । त्यसका लागि सबै संरचना बेसबीमभन्दा तल निर्माण गर्नुपर्ने इन्जिनियर गुप्ताले बताए । उनका अनुसार एक हजार ७५० स्क्वायर फिटको दुईतले घर उठाउनका लागि दुई महिना लाग्छ । विराटनगरमा डेढ महिनादेखि यो घरमा काम भइरहेको छ । अब पन्ध्र दिनमा घरको संरचना पूर्ण रूपमा बस्न योग्य हुन्छ ।

Ghar Sariyo (2)

फ्रेम स्ट्रक्चरमात्रै नभइ लोड बेरिङ (पर्खाल) घरसमेत उचाल्न मिल्ने उनले दाबी गरे । एक तला मात्रैको घर प्रतिवर्गफुट ३ सय रुपैयाँ लाग्ने इन्जिनियर गुप्ता बताउँछन् । उनका अनुसार नेपालमा यसरी घर उचाल्ने काम सुरु भएको चार वर्ष भइसकेको छ ।

विराटनगर महानगरपालिकाभित्र यो छैटौँ घर लिफ्टिङ भएको हो । विराटनगरमा अहिले पनि १० वटा घर उठाउने माग भएको गुप्ता बताउँछन् । नेपालमा आफ्नो कम्पनीमार्फत मात्रै १५० भन्दा बढी घर उचालिएको उनी बताउँछन् । अहिले देशभरमा डेढ सयभन्दा बढी कर्मचारीले काम गरिरहेको उनले बताए ।

‘काठमाडौँ, जनकपुर, लहान, धरानमा पनि काम भइरहेको छ । एउटा घरको लागि २ महिना लाग्छ,’ गुप्ताले भने । उनले मजदुरहरू भने सबै भारतीय लगाएका छन् । आठतला अग्ला घर पनि ४–५ फिटसम्म उचालिएको उनले बताए । त्यस्तै घरहरूलाई उचालेर बिचमा रेल बनाएर १ सय २ सय फिटसम्म सार्न सकिने पनि उनले बताए ।

विराटनगर–३ को औषधि व्यवस्था विभाग र आयल निगमको पूर्वतिर अहिले पनि डुबिरहेको छ । विराटनगर–५ का गोपाल आचार्य पनि डुबेका घरहरू सार्न यो उपयोगीजस्तो देखिएको बताउँछन् । विराटनगर–३ का भरत पौडेलले पनि डुबेका घर सार्ने र उचाल्ने यो प्रविधि उपयोगी देखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप