बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

किमको स्वास्थ्य ठिक नभएको खबरबिच विरासत सम्हाल्न छोरीलाई दिइयो तालिम

मङ्गलबार, १५ साउन २०८१, १२ : १५
मङ्गलबार, १५ साउन २०८१

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्था राम्रो नभएको खबर पछिल्ला केही महिनायता बारम्बार सुनिँदै आएको छ । यसैबिच किमकी नाबालिग छोरीले पिताको विरासत सम्हाल्न तालिम लिइरहेको दक्षिण कोरियाको गुप्तचर निकायले बताएका छ । 

यो खबरले किमको स्वास्थ्य झनै बिग्रिएको हो कि भन्ने आशंका थप बढाएको छ । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस)ले सोमबार किमकी छोरीको सार्वजनिक उपस्थिति र किमको वंशजमा उनको हैसियतसम्बन्धी आफ्नो विश्लेषणका आधारमा संसदीय समितिमा एउटा ब्रिफिङ गरेको थियो ।

किम जु–ए ११ वर्षकी छिन् । यिनी पहिलो पटक सन् २०२२ मा उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र प्रक्षेपण गर्दा पितासँगै देखिएकी थिइन् । त्यसयता उनी बारम्बार उत्तर कोरियाको मुख्य सैन्य कार्यक्रममा सेनाका शीर्ष अधिकारीहरूको साथमा देखिँदैआएकी छिन् । 

सरकारी स्वामित्वका सञ्चार माध्यमले उनलाई ‘सम्मानित छोरी’, ‘प्रिय सन्तान’ यस्तै यस्तै अनेक सम्बोधन गरेको सुनिन्छ । यस्तो सम्बोधन त्यहाँ प्रायः शीर्ष नेता वा तिनका भावी उत्तराधिकारीलाई मात्रै गरिन्छ । किम जु–एको ६० प्रतिशतभन्दा धेरै गतिविधि आफ्नो पितालाई सैन्य गतिविधिमा साथ दिनु रहेको एनआईएसको निष्कर्ष छ ।

उत्तरले किम जु–एलाई भावी उत्तराधिकार बन्न सिकाइरहेको र उनी किमको सम्भावित उत्तराधिकारी हुन सक्ने पनि बताइएको छ । यसो भएमा उत्तर कोरियामा शासन सम्हाल्ने किम जु–ए पहिलो महिला बन्नेछिन् । 

भविष्यमा किमको कुनै छोरा जन्मिएमा उनले किम जु–एलाई विस्थापित गर्न सक्ने सम्भावनालाई एनआईएसले नकारेकोभ भने छैन । किमको स्वास्थ्य अवस्था राम्रो नभएको र उनको विलासी जीवनशैलीका कारण उनलाई कयौँ रोगले गाँजेको अड्कलबाजी चर्किरहँदा हालैका वर्षमा उत्तर कोरियामा किमको उत्तराधिकारी को बन्ला भन्ने प्रश्न उठिरहेको छ ।

अत्यधिक रक्सी सेवन र धूम्रपानले किमको स्वास्थ्य बिगारेको छ । यस्तोमा उच्च तनावले पनि उनको अवस्था थप बिगारेको विश्लेषणहरू आइरहेका छन् । मोटोपना किमको स्वास्थ्यमा अर्को समस्या हो । ४० वर्षका किम १४० केजीका छन् । किम ३० वर्ष कट्दैदेखि उनमा उच्च रक्तचाप र मधुमेहका लक्षण देखिएका थिए । अहिले पनि यी यावत् समस्या छ । किमको रोग निको पार्न उनका डाक्टरहरूले नयाँ नयाँ औषधि खोजिरहेका छन् ।  हालै कीर्तिमान तोडिने गरी भएको वर्षा र बाढीले उत्तर कोरियामा उत्पात मच्चाएको थियो ।

अधिकांश संसाधन सैन्य गतिविधि र हतियार निर्माण तथा त्यसको प्रक्षेपणमा खर्च भइरहेको स्थितिमा उत्तर कोरिया चरम भोकमरीको स्थितिबाट गुज्रिरहेको खबरहरू आइरहेका छन् । यस्तोमा हालैको बाढीले खेतीयोग्य जमिन र बालीनालीमा व्यापक क्षति गराएको छ । चीनसँगको सीमावर्ती काउन्टीमा भारी वर्षाका कारण घरहरु डुबानमा  परेका थिए । त्यति बेला किम आफैँ प्रभावित क्षेत्रमा गएर उद्धार कार्यहरूको निरीक्षण गरिरहेका भिडियो र तस्बिर सार्वजनिक भएका थिए । 

यस्तोमा प्राकृतिक विपद्ले किमको तनाव बढाइरहेको बताइएको छ । किम बिरामी रहेको खबरबिच अधिकांश सैन्य कार्यक्रममा किम जु–एको उपस्थितिले उनलाई उत्तर कोरियाको भावी शासक बनाउन लागिएको अफबाहमा आगोमा घ्यूको काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप