गण्डकीका दुध उत्पादन किसानले पाए ३ करोड अनुदान
पोखरा । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।०८० मा प्रदेशभरि २ लाख ६४ हजार मेट्रिक टन दुध उत्पादन भयो । त्यसअघिको वर्ष २ लाख ८२ हजार मेट्रिक टन उत्पादन भएको थियो । लम्पी स्किन र विभिन्न रोगका कारण पछिल्लो वर्ष उत्पादन केही कम भयो ।
यद्यपि गत वर्ष २०८०।०८१ उत्पादन बढेर २ लाख ६६ हजार मेट्रिक टन पुगेको छ । अघिल्लो वर्ष ५६ हजार ९ सय मेट्रिक टन मासु उत्पादन भएकोमा अहिले बढेर ५७ हजार ८ सय मेट्रिक टन पुगेको छ । आव २०७८/७९ मा ६२ हजार २ सय मेट्रिक टन मासु उत्पादन भएको थियो । लम्पी स्किनका कारण २ वर्षअघि देशैभरि पशुजन्य उत्पादनमा ठुलो गिरावट आएको थियो ।
अहिले बिस्तारै पुरानै अवस्थामा फर्किने क्रम सुरु भएको छ । पछिल्ला वर्षहरूमा सरकारले किसानलाई विभिन्न माध्यमबाट सहुलियत दिइरहेको छ । अहिले उत्पादन बढ्नुमा मुख्य कारण उत्पादनका आधारमा दिइएको अनुदानलाई लिइएको छ । निर्देशनालयकी महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराई दुधमा दिइएको अनुदान निकै प्रभावकारी भएको बताउँछिन् । ‘उत्पादन सबै क्षेत्रमा बढेको छ । हुन त मासुमा इफेक्टिभ छैन । मासु सहकारीबाट बेच्ने चलन छैन,’ उनी भन्छिन्, ‘दुधमा अनुदान पनि राम्रै नै गयो, उत्पादन पनि राम्रै भयो । बर्सेनि २ प्रतिशतका दरले उत्पादन बनेको छ ।’ सरकारले गत वर्ष दुध उत्पादन गर्ने किसानलाई प्रतिलिटर साढे २ रुपैयाँका दरले ३ करोड ९ लाख अनुदान वितरण गरेको छ ।
१३ हजार ९ सय ६१ मेट्रिक टन दुधमा अनुदान दिइएको निर्देशनालयले जनाएको छ । यस्तै, १ सय १८ मेट्रिक टन खसी बोकालाई २३ लाख ७५ हजार अनुदान दिइएको छ । दुधमा ६ करोड ५५ लाख अनुदान दिने गरी बजेट विनियोजन भएपनि सरकारको नीति स्पष्ट नआएपछि आधा मात्रै खर्च भएको हो । ‘सुरुमा ५ रुपैयाँ दिने भन्ने थियो । तर त्यो निर्णय राजपत्रमा प्रकाशन भएन,’ सेढाईंले भनिन्, ‘अघिल्लो वर्ष प्रतिलिटर साढे २ रुपैयाँ थियो । त्यही कार्यान्वयन गर्दा आधा रकम खर्च भएन ।’ दुधमा ६४ वटा सहकारी र मासुमा ८ वटा सहकारीलाई अनुदान दिइएको हो । आगामी वर्ष दुधमा साढे ६ करोड अनुदान उपलब्ध गराउने लक्ष्य लिइएको कृषि मन्त्रालयले जनाएको छ ।
अनुदानका कार्यक्रमले साना भन्दा व्यावसायिक किसान बढेका छन् । ‘लोकल भन्दा क्रस पशु बढेको छ । यसको उत्पादन बढी हुन्छ । हामीले साना किसान भन्दा व्यवसायीक किसान बढेको देखेका छौं,’ उनले अघि भनिन्, ‘सरकारले चाहेको पनि त्यही हो । एउटा पशुले एउटा घरलाई धान्छ र बेच्नका लागि उत्पादन हुँदैन । कम्तीमा १०–१५ वटा गाईबस्तु पाल्दिनुस् भनेर सानै किसानलाई पनि आग्रह गरेका छौं ।’ गण्डकी दुध, फूल र मासुमा आत्मनिर्भर छ । राष्ट्रिय उत्पादन दर भन्दा गण्डकीको दर उच्च छ । दुधको राष्ट्रिय उत्पादन २५ लाख मेट्रिक टन छ भने गण्डकीको करिव ११ प्रतिशत उत्पादन छ । मासु ५ लाख मेट्रिक टन उत्पादन राष्ट्रिय तथ्यांकमा भएकोमा गण्डकीमा मात्रै ११.५ प्रतिशत उत्पादन हुन्छ ।
अण्डा १ अर्ब ३० करोड गोटा उत्पादन भएकोमा गण्डकीमा २४ करोड अर्थात् १७ प्रतिशत उत्पादन हुन्छ । माछाको उत्पादन चाहिँ अन्यत्र भन्दा कम छ । राष्ट्रिय उत्पादन १ लाख मेट्रिक टन छ भने यहाँ १ हजार ४ सय मेट्रिक टन अर्थात् १.३ प्रतिशत मात्रै छ । गण्डकीका नागरिकलाई दुध प्रतिवर्ष प्रतिव्यक्ति १ सय ८ लिटर पुग्छ भने माछा मासु २३.४ किलो र अण्डा ९९ गोटा पुग्छ । जबकि राष्ट्रिय तथ्यांकमा प्रतिव्यक्ति ८८ लिटर मात्रै उपलब्धता छ भने माछा मासु १८ किलो र अण्डा ४६ गोटा छ । ‘दुध बाहिरबाट खासै आउँदैन ।
यहाँको दुध पनि अन्यत्र खासै जाँदैन,’ भट्टराईले अघि थपिन्, ‘धेरैजसो पोखरा, दमौली, नवलपुर लगायत ठाउँमा खपत हुन्छ । बाँकी दुध सुजल डेरीमा ल्याएर बेच्छन् ।’ खसी बोका भने अरू प्रदेशबाट पनि आयात हुन्छ । गण्डकीको उत्पादन अन्यत्र पनि विक्री हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै