आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : प्रदूषित पानीको भुमरीमा रुमल्लिएको ट्रायथलन खेल

मङ्गलबार, १५ साउन २०८१, ११ : १३
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । पानीको अत्यन्तै खराब गुणस्तरका बाबजुद पेरिस ओलम्पिकमा ट्रायथलन खेल सेन नदीमै खेलाइने आयोजकले जनाएको छ । ट्रायथलन खेलका लागि निर्धारण गरिएको सेन नदीको पानी निकै प्रदूषित रहेको भन्दै सहभागीहरूले गुनासो गर्दै आएका छन् ।   

गत शुक्रबार ओलम्पिकको उद्घाटन समारोहको दिन पेरिसमा ठुलो वर्षा भएको थियो । त्यसपछि ढलको पानी सेन नदीमा मिसिएको थियो । सोही कारणले नदीको पानी निकै प्रदूषित बनेको थियो । पेरिस सहर विगतदेखि नै ढल निकासको समस्यासँग जुध्दै आएको छ ।

नदीको पानी प्रदूषित भएपछि ट्रायलथन खेलाडीले त्यहाँ नियमित अभ्यास पनि गर्न पाएका छैनन् । आइतबार र सोमबार नियमित अभ्यासका लागि सेन नदी पुगेका खेलाडी अभ्यास नगरी फर्किएका थिए । तर, स्थानीय आयोजकले भने ट्रायथलनको स्पर्धा निर्धारित स्थानमै गराउने जनाएको छ ।  

आयोजकले प्रतिस्पर्धा सुरु हुनु अघिसम्म पानीको गुणस्तरमा सुधार ल्याउने प्रयास भइरहेको दाबी नि गरेको छ । ट्रायथलनको पुरुष स्पर्धा मंगलबार खेलाइने छ । पेरिसमा मंगलबारको तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ ।  

ट्रायथलको महिला स्पर्धा बुधबार हुनेछ । मिक्स टिम स्पर्धा भने सोमबार हुनेछ । ‘हालसम्म पानीको गुणस्तरमा अपेक्षित सुधार आएको छैन । हामी अझै आसावादी छौँ । पानीको गुणस्तरमा सुधार ल्याउने प्रयास पनि भइरहेको छ,’ आयोजक समितिका एक पदाधिकारीले भनेका छन् ।

आफूहरूले विभिन्न विकल्पको विषयमा पनि छलफल गरिरहेको जानकारी दिए । ‘हामी विभिन्न विकल्पको विषयमा पनि छलफल गरिरहेका छौँ । महिला र पुरुष दुवैको स्पर्धा एकै दिन गराउने विषयमा पनि कुराकानी भइरहेको छ,’ उनले भनेका छन् ।

पानीको गुणस्तर खराब भएकै कारण सरकारले उक्त नदीमा पौडी खेल्न लामो समयसम्म प्रतिबन्ध लगाएको थियो । गत जुनमा विस्तृत रूपमा पानीको गुणस्तर परीक्षण गरिएको थियो । पानीमा खेलिने खेलसँग सम्बन्धित महासंघहरुले पानीको गुणस्तरको विषयमा निश्चित मापदण्ड बनाएका हुन्छन् ।

तर, जुनमा गरिएको परीक्षणको नतिजा पनि त्यो मापदण्डभन्दा तल्लो स्तरको थियो । त्यसपछि पेरिसकी मेयर एनी हिडाल्गोले हालै सेन नदीमा पौडी खेलेर त्यहाँको पानी सुरक्षित रहेको सन्देश दिने प्रयास गरेकी थिइन् ।

ओलम्पिक सुरु हुनुभन्दा केही समयअघि पनि सेन नदीको पानीको गुणस्तर परीक्षण गरिएको थियो । त्यतिबेला पानीको गुणस्तर पौडी खेल्नका लागि उपयुक्त रहेको दाबी गरिएको थियो । तर, गत शुक्रबार र शनिबार भएको ठुलो वर्षाका कारण पानीको गुणस्तर झनै ब्रिगिन पुगेको थियो ।

त्यसमाथि, ट्रायथलनको पुरुषतर्फको स्पर्धा हुने दिन मंगलबार पनि ठुलो वर्षाको सम्भावना रहेको चेतावनी त्यहाँको जल तथा मौसम विज्ञान विभागले दिएको छ । अहिले प्रत्येक दिन सेन नदीको पानीको गुणस्तर परीक्षण गरिँदै आएको छ । सोमबार गरिएको परीक्षणले पनि पानीको गुणस्तर खराब रहेको देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप