शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सभ्यता

मिथिला सभ्यतामा कोशी नदी

मङ्गलबार, १५ साउन २०८१, ०९ : ५८
मङ्गलबार, १५ साउन २०८१

अधिकांश ठाउँमा नदी किनाराबाटै मानव सभ्यता सुरुवात र विकास भएको इतिहास पाइन्छ । संस्कृतिको विकासमा समेत नदीको महत्त्वपूर्ण भूमिका छ । 

हिउँ पग्लिएर अर्थात् प्राकृतिक मुहानबाट निस्कने पानीको प्रवाहलाई नदी भनिन्छ । जसले मानव सभ्यतामा महत्त्वपूर्ण भूमिका खेलेको छ । मानव सभ्यताको विकासमा भूमिका खेलेकै कारण नदीहरूलाई मातृको संज्ञा दिइएको छ । कृषि सिँचाइमा यसको विशिष्ट भूमिका छ । 

हामीकहाँ साना–ठुला गरेर ६ हजारभन्दा बढी नदीनाला छन् । हाम्रा अधिकांश नदीका मुहान हिमालय पर्वत नै हुन् । सिँचाइ, जलविद्युत्, जल यातायात, खानेपानीका मुख्य स्रोतका रूपमा हाम्रा नदीलाई उपयोग गर्न सकिन्छ । 

हामीकहाँ सात प्रदेशमध्ये चारवटाको नाम नदीबाट राखिएको छ— कोशी, बाग्मती, गण्डकी र कर्णाली । 

कोशी नदी क्षेत्रमा पूर्वी नेपालका भू–भागका साथै दक्षिणी तिब्बतका केही भाग समेत पर्छन् । मुख्यतः कोशी नदी क्षेत्रभित्र सप्तकोशी पर्छ । कोशी नदी क्षेत्रको कुल क्षेत्रफल ६०,४०० वर्ग किमि हो, जसको करिब ४६ प्रतिशत नेपालमा पर्छ र बाँकी ५४ प्रतिशत तिब्बतमा । 

उद्गमस्थल, स्थायित्व, पानीको बहाव क्षमता आदिका आधारमा हाम्रा नदीलाई तीन स्तरमा विभाजन गरिएको छ । 

पहिलो स्तरका नदी— हिमाली पर्वत शृङ्खलाका हिउँ पग्लेर उत्पत्ति भई अटूट रूपमा उत्तरबाट दक्षिणतर्फ बग्ने ठुला र लामा नदीलाई प्रथम स्तरको भनिन्छ । सप्तकोशी, सप्तगण्डकी, कर्णाली नदीका सहायक नदीहरू यसअन्तर्गत पर्छन् । यी नदीले देशको कुल जल सम्पदाको करिब ७४ प्रतिशत हिस्सा ओगटेका छन् । पहिलो स्तरका नदीहरू आर्थिक, धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण छन् । 

  • धार्मिक ग्रन्थमा कोशी नदी

मानव सभ्यतामा नदीको विशिष्ट भूमिका रहेकाले धार्मिक ग्रन्थहरूमा नदीहरूको चर्चा पाइन्छन् । मिथिला संस्कृतिका सन्दर्भमा चर्चा गरिएका अधिकांश ग्रन्थमा नदीहरूको चर्चा भएको पाइन्छ । खासगरी गंगा नदीपछि सबैभन्दा बढी आदरपूर्वक चर्चा गरिएको छ, कोशीको । मिथिला क्षेत्रको विकासमा यस नदीको महत्त्वपूर्ण भूमिका छ । 

नदीहरूलाई देवीको प्रतिरूप मानिने हुँदा नेपालका ज्यादाजसो नदी देवीका नामले परिचित छन् । संस्कृत साहित्यमा कोशी नदीको नाम कौशिकी दिइएको छ, जो कुशिक ऋषिकी पुत्री मानिन्छिन् । यता कौशिकीलाई शिवकी शक्ति उमा या पार्वतीका नामले पनि जान्ने गरिएको छ । 

नदीहरूलाई मातृ शक्तिका रूपमा मान्ने परम्परा छ । जसरी आमाले आफ्नो दुधबाट आ–आफ्ना सन्तानलाई सिञ्चन गर्छिन्, त्यसरी नै नदीले खेतको सिञ्चन गरी मानव शरीरलाई आवश्यक खाद्यान्न उत्पादनमा भूमिका खल्छन् ।

त्यसो त तिब्बती भाषाबाट पनि केही नदीका नाम बनेका छन् । तिब्बती भाषामा पानी या नदीलाई कू भनिने हुँदा केही नदीको नामका पछाडि कु या को प्रयोग भएको पाइन्छ । जस्तो ः कोशी नदी तिब्बतबाट अभ्युदय भएकाले यसको नाम तिब्बतीले कोशी राखेको हो भन्ने विश्वास छ । खासगरी किरातहरूले यसलाई अंगीकार गरी कोशी नाम रहेको राखेको बताइन्छ । यद्यपि तिब्बती कु या को अक्षरबाट कोशी बनेको कुरा भने खोजीकै विषय बनेको छ ।

मिथिलासँग सम्बन्धित विभिन्न ग्रन्थमा कोशीको चर्चा गरेको पाइन्छ । कोशी नदीलाई एउटा पवित्र नदीका रूपमा मानेर यसको चर्चा अनेक ग्रन्थमा गरिएको पाइन्छ । कोशीको चर्चा कतै शृंगार रसमा गरिएको छ भने कतै यसको रौद्र रूपलाई वीर रसले चर्चा गरिएको छ । एउटा नदीको विभिन्न स्वरूप हुनुमा ऋतु वा मौसम र नदी बग्ने जमिनको सतहले निर्धारण गर्छ । त्यसैले लेखकले आ–आफ्नो दृष्टिकोणका आधारमा कोशीको चर्चा गरेका छन् । 

कालिदासकृत संस्कृत काव्य ‘कुमारसम्भवम्’ ग्रन्थमा भनिएको छ कि यस नदीको तटमा साक्षात् भगवान् शंकरको निवास रहन्छ । रामायण ग्रन्थमा कोशी (कौशिकी) लाई ऋषि विश्वामित्रकी बहिनी भनेर उल्लेख गरिएको छ । यस्तै महाभारत ग्रन्थको वन पर्वमा पनि कोशीबारे चर्चा गरिएको देखिन्छ । 

महाभारत ग्रन्थको वनपर्व खण्डको ८४औँ अध्यायमा कौशिकी नदी तथा यस क्षेत्रका तीर्थको वर्णन गरिएको छ, जसको पहिचान गर्नु एवं यसका बारेमा अध्ययन र अनुसन्धान गर्न सांस्कृतिक भूगोलका अध्येताका लागि आज एउटा चुनौतीको विषय छ ।

भनिन्छ कि हिमालयको काखबाट जुन स्थानमा कोशी बाहिर निस्केको छ, त्यहाँ सुनकोशी, अरुणकोशी र तमार (तमोर) कोशीको संगम भएको छ । त्यसै संगम निकट भागमा समुद्रको गर्भबाट सर्वप्रथम पृथ्वीको आविर्भाव भएको थियो । 

पौराणिक आख्यान अनुसार कोशीको तटमा बराहमूर्तिको स्थापना गरिएको थियो तथा यो बराह तीर्थका रूपमा विख्यात भयो । वराहपुराण ग्रन्थको १४०सौँ अध्यायमा कोशी क्षेत्रमा अनेक तीर्थ रहेको वर्णन गरिएको पाइन्छ । 

महाभारत ग्रन्थको वनपर्व खण्डको ८४औँ अध्यायमा कौशिकी नदी तथा यस क्षेत्रका तीर्थको वर्णन गरिएको छ, जसको पहिचान गर्नु एवं यसका बारेमा अध्ययन र अनुसन्धान गर्न सांस्कृतिक भूगोलका अध्येताका लागि आज एउटा चुनौतीको विषय छ । उक्त अध्यायको १३१ देखि १५८ सम्मका श्लोकहरूमा कुशिकाश्रम, कौशिकी, चम्पकारयको ज्येष्ठित, कन्या–संवेद्य, निश्चीरा–संगम, वसिष्ठाश्रम, देवकूट–शिखर, कौशिक– हृद, वीराश्रम, अग्नि–धारा, पितामह–सर, कुमार–धारा, गौरीशंकर–शिखर, स्तन–कुण्ड, ताम्रारुण–तीर्थ, नन्दिनी–कूप, कालिका–संगम, उर्वशी–तीर्थ, कुम्भकर्णाश्रम तथा कोकामुख नामक तीर्थहरूको चर्चा विस्तारपूर्वक गरिएको पाइन्छ । 

महाभारत ग्रन्थका रचयिताका अनुसार यो यात्रा क्रम नेपाल क्षेत्रबाट आरम्भ भएर क्रम–विपर्यय हुँदै कोकामुखतीर्थ (वाराह क्षेत्र) सम्म पुग्छ, किनभने यस सन्दर्भमा वर्णन गर्दै वामनाश्रममा हरि भगवानको दर्शनपश्चात् सबै पापको नाश गर्ने कुशिकाश्रममा जानुपर्ने भनिएको छ । 

यसमा वर्णित चम्पकारण्य शब्दले बिहार राज्यको चम्पारण भनेर भ्रम रहेको समेत देखिन्छ । वस्तुतः चम्पकारण्य भनेको चम्पा राज्यको अरण्य–प्रदेश थियो, जुन गंगा नदीदेखि उत्तर तथा कोशी नदीदेखि पश्चिमको भू–भागमा फैलिएको थियो । 

यसै चम्पकारण्यको पश्चिमोत्तर कोणमा सरस्वती तीर्थ छ, जहाँ चम्पकेश्वर नामक महादेव स्थापित छन् । बिहार राज्यको मधेपुरा जिल्लाको शंकरपुर नामक स्थानमा चम्पावती देवीको मूर्ति रहेको छ, यसबाट प्रमाणित हुन्छ कि यो क्षेत्र प्राचीनकालमा चम्पारण्यको सिमानाभित्र रहेको थियो तथा कोशी नदी यसभन्दा पूर्वतिर प्रवाहित थियो । 

कोशी नदीको महिमा रामायण र महाभारत ग्रन्थहरूका साथै पद्मपुराण, बराहपुराण, वायुपुराण, मत्स्यपुराण, ब्रह्माण्डपुराण, वामनपुराण, नारदीयपुराण, श्रीमद्भागवत आदि ग्रन्थमा गरिएको छ । कोशी नदीलाई सप्तकोशी अथवा सप्तकौशिकी पनि भनिन्छ, किनभने यस नदीमा सातवटा नदीहरूको जल प्रवाहित छ । यी सात नदीका नाम पश्चिमदेखि पूर्वसम्म क्रमशः इन्द्रावती, सुनकोशी (भोटेकोशी), तामाकोशी, लिधु (लिघु) कोशी, दूध कोशी, अरुण कोशी र तमोर कोशी हुन् । तर सबैको चर्चा कोशीकै रूपमा रहेको छ । 

अहिले जल प्रदूषण संसारका लागि ठुलो खतराका रूपमा अगाडि आएको छ । संसारका नदीहरू मानिसको लापरबाहीका कारण नर्कमा परिणत हुँदै गएका छन् । धार्मिक महत्त्वले समेत नदीहरूलाई जोगाएको अवस्था छ । यसतर्फ राज्यको ध्यान जानुपर्ने छ । कोशी एउटा नदी नभएर यसले संस्कृति र सभ्यताको रूप पनि धारण गरेको पाइन्छ । 

सन्दर्भ स्रोत 

१) मिथिलाको ऐतिहासिक भूगोल— वासुदेव लाल दास ।

२) कौशिकी संस्कृति— डा. सोमप्रसाद खतिवडा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र रमण
वीरेन्द्र रमण
लेखकबाट थप