अमेरिकी मगरहरूको दुई दशकको अभिलेखन कृति लोकार्पण
न्यूयोर्क । मगर सङ्घ अमेरिकाको बिसौँ वार्षिकोत्सवको अवसरमा सङ्घको दुई दशकको गतिविधिको ऐतिहासिक दस्तावेजिकरण गरिएको ४६४ पृष्ठको बृहत अभिलेखन कृति “२० वर्ष विगतलाई हेर्दा‘” को सार्वजनिकीकरण गरिएको छ।
अभिलेखन कृतिमा सङ्घको स्थापनाकालदेखि वर्तमानसम्मको गतिविधिहरूका साथै नेपालीत्व, मगर जातिको इतिहास, पहिचान, मगर मातृभाषा, संस्कृतिको ऐतिहासिक महत्त्व र वर्तमान अवस्थाबारे सङ्घले यस अघि सन् २०११, २०१४, २०२१ र २०२३ मा प्रकाशित “याँभू” (ईन्द्रेणी) स्मारिकामा प्रकाशित लेखरचनाहरूको एकल सङ्ग्रह गरी प्रकाशन गरेको हो।
न्यू योर्क सहरमा आइतबार जुलाई २८ तारिख आयोजित समारोहमा प्रमुख अतिथि एवं नेपालको पहिलो संविधानसभा सभासद् पूर्णबहादुर राना मगर, मगर सङ्घ अमेरिकाका वर्तमान र पूर्व अध्यक्षहरू, अभिलेखन कृतिका प्रधान सम्पादक प्रदीप परियार थापा मगर, मगर सङ्घ अमेरिकाको पहिलो र दोस्रो पुस्ताका प्रतिनिधि मगरहरूले उक्त कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।
सो अभिलेखीकरण कृतिमा सङ्घको विगत बिस वर्षको गतिविधिहरूलाई ६४ पृष्ठहरूमा तस्बिरमा समेट्ने प्रयास गरिएको छ भने बाँकी ४०० पृष्ठहरूमा लिखित अभिलेखन गरी दस्तावेजिकरण गरिएको छ।
मगर सङ्घ अमेरिकाको स्थापनाकालदेखि हालसम्म सङ्घलाई ७ जना अध्यक्षहरूले नेतृत्व सम्हालेका छन्, जसअनुसार संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी मगर (२००४–२००६) निलम थापा मगर कार्यवाहक अध्यक्ष (२००६–२००८) लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर (२००८–२०१२) क्या. दलबहादुर रोका मगर(२०१२–२०१५)रुद्र थापा आले मगर (२०१५–२०१८) कुलदिप राना मगर (२०१८–२०२१) र कुलदिप राना मगर (२०२१–२०२३) र याम पुन मगर (२०२३–२०२५) रहेका छन्।
मगर सङ्घ अमेरिका केन्द्रीय अध्यक्ष याम पुन मगरले सङ्घका विगतका सबै प्रकाशनहरूलाई समेटेर एकीकृत ऐतिहासिक दस्ताबेजको रूपमा यो कृति प्रकाशन गरिएको उल्लेख गर्दै भनेका छन्– “कुनै पनि संस्थाको जीवनमा सफलतापूर्वक दुई दशक पुरा गरी क्रियाशील रहनु आफैमा महत्त्वपूर्ण उपलब्धि हो । हालसम्म मगर सङ्घ अमेरिका केन्द्रीय समिति अन्तरगत न्यू योर्क, डीएमभी, टेक्सास, न्यू जर्सी, इलिनोइ, क्लोराडो, पेन्सिलभानिया र मासाचुसेट्स गरी ८ वटा राज्य च्याप्टरहरु स्थापना भई क्रियाशील छन् । मगर सङ्घ अमेरिका केन्द्रीय समितिले सवै राज्य च्याप्टरहरूसँग मिलेर मगर जातिको भाषा, संस्कृति, इतिहास र पहिचानलाई संरक्षण र संवर्द्धन गर्न अमेरिका र नेपालमा सक्दो प्रयास गर्दै आएको छ ।”
स्मारिका प्रकाशन समिति संयोजक एवं सङ्घको वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीप सागर बुढा मगरले समय बलवान / परिवर्तित रहेको उल्लेख गरे। 'आज हामीले इतिहास कोरेनौँ भने यात्राको अर्को फड्को अगाडी बढ्ने बेला विगतमा के भएको थियो भन्ने इतिहास हराउँछ' उनले भने “मगर सङ्घ अमेरिकाको इतिहासलाई साक्षी राख्दै भावी पुस्तालाई सङ्घको २० वर्षे दस्ताबेजिकरण कोसेली दिन “मगर सङ्घ अमेरिका २० वर्ष (विगतलाई हेर्दा) ऐतिहासिक कृति प्रकाशन गर्न लागिएको हो । मगर सङ्घ अमेरिकाको ऐतिहासिकतालाई अविस्मरणीय बनाउन हाम्रो संस्थालाई माया गर्नु हुने सम्पूर्णजनहरुमा इतिहासदेखि वर्तमानसम्मको सत्य तथ्य भोगाई बाँड्न यो कृतिको परिकल्पना गरिएको हो । त्यसैले यो दस्ताबेजिकरणको प्रयास मगर सङ्घ अमेरिकाको गौरवपूर्ण इतिहासको संरक्षण गर्ने एक सतत् प्रयास हो।”
मगर सङ्घ अमेरिकाको वर्तमान सल्लाहकार एवं निवर्तमान अध्यक्ष कुलदीप रानामगरले मगर सङ्घ अमेरिका अहिले तन्नेरी अवस्थामा पुगेको उल्लेख गरे । उनले भने “अमेरिकामा मात्र नभै विश्वभरी रहेका मगरहरुलाई एकताको सन्देश दिंदै सङ्घको २० वर्षको ऐतिहासिक दस्तावेज भावी पीढीहरूको हातमा पुर्याउने उद्देश्य अनुरूप सङ्घको सांगठनिक गतिविधि र रचनात्मक क्रियाकलापलाई एउटै पुस्तकमा दस्तावेजीकरण गर्ने प्रयास गरिएको छ ।”
अमेरिकाको अग्रणी एवं प्रतिष्ठित अनुसन्धान संस्था पिउ रिसर्चका अनुसार अमेरिकामा जन्मेका एसियाली मूलका अमेरिकीहरू मध्ये ६५ प्रतिशत जनसङ्ख्याले अङ्ग्रेजी भाषा मात्र बोल्दछन् । उता ५७ प्रतिशत एसियालीहरू अमेरिका बाहिर जन्मिएका हुन्। सन् २०२० को जनगणना अनुसार अमेरिकामा एसियाली मूलका दुई करोड ६० लाख जनसङ्ख्या छ अर्थात अमेरिकाको कूल जनसङ्ख्या ३३ करोड ३३ लाखको ६.२ प्रतिशत रहेको छ भने नेपालीहरूको जनसङ्ख्या २ लाखदेखि ४ लाख रहेको अनुमान गरिएको छ। जस मध्ये अमेरिकी मगर समुदायको सङ्ख्या झन्डै ८ हजारको रहेको छ।
उक्त रिसर्चको आधारमा ८ हजार मगर जनसङ्ख्या मध्ये झन्डै ३ हजार नयाँ पुस्ता अमेरिकी मगरहरूले नेपाली भाषा बोल्न र बुझ्न सक्दैनन्। मूलतः नेपाली भाषामा दस्तावेजिकरण गरिएको यो ऐतिहासिक कृतिलाई नयाँ पुस्तालाई मध्यनजर राख्दै सङ्घले अङ्ग्रेजी संस्करण समेत प्रकाशन गर्नु पर्ने कुरा सो अभिलेखनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले जोड दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता