शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेश : कांग्रेसमा चरम विवाद, २९ सांसदमध्ये २७ जना मन्त्रीको दौडमा

कोशीको मन्त्री बन्न गण्डकी र सुदूरपश्चिम बाधक !
मङ्गलबार, १५ साउन २०८१, १५ : ५०
मङ्गलबार, १५ साउन २०८१

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागिताको लागि खुट्टा उचालेर बसेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा निर्णय गर्न सोमबार बिहान महाराजगञ्जमा कांग्रेस केन्द्रीय पदाधिकारीको बैठक बसेको थियो । उक्त बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको स्रोतको भनाइ छ ।

कोशी प्रदेश सरकारबाट गत साउन ११ गते माओवादी बाहिरिइसकेको छ । माओवादीले त्यसअवधिसम्म सम्हालेका भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय अहिले मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै जिम्मामा छ ।

एमाले–कांग्रेसबिच चार–चार वटा मन्त्रालय भागबण्डा गर्ने सहमति भइसकेको छ । तर, कांग्रेसले ती तीन मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयमध्ये एक मन्त्रालयमा मन्त्री पठाउन सकेको छैन ।

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा बसेको थियो । उक्त बैठकले एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी हुनेलगायतका निर्णय गरेको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझीका अनुसार बैठकले सरकार निर्माण गर्दा समावेशी हुनुपर्ने निर्णय गरेको छ । यस्तै हिक्मतकुमार कार्की नेतृत्वको सरकारसँग समन्वय गरेर अगाडि बढ्न संसदीय दललाई निर्देशन दिने निर्णय पनि कार्यसम्पादन समितिको बैठकले गरेको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझीले पार्टीका २९ सांसदमध्ये २७ जनाले नै मन्त्रीमा दाबी गरेको जानकारी दिए । ‘योग्यता भएपछि मन्त्री बन्छु भन्न पाइयो । हाम्रोमा २ जना बाहेक २७ जना नै मन्त्री बन्न योग्य हुनुहुन्छ । त्यसमा ४ जनादेखि ६ जनासम्म मन्त्री र राज्यमन्त्री गरेर हुनसक्ने सम्भावना छ,’ रायमाझीले भने ।

रायमाझीले प्रदेश कार्यसम्पादन समितिले गरेको निर्णयको आधारमा दलका नेता उद्धव थापा र मुख्यमन्त्री कार्कीले काठमाडौँ गएर शीर्ष नेतासँग छलफल गरेपछि मन्त्रीमण्डल विस्तार हुने बताए । ‘यहाँको मुख्यमन्त्री र हाम्रो दलका नेता काठमाडौँमा गएर नेतृत्वसँग छलफल गर्नु होला,’ रायमाझीले भने, ‘गण्डकीको मुख्यमन्त्री पनि उपचार गराउन भारत जानु भएको छ । सुदूरपश्चिममा पनि अन्योल रहेको कारणले तीनैवटा प्रदेशको एकैपटक सक्ने भन्ने भएको छ । अब अझै ५–७ दिन लाग्न सक्ने देखिएको छ ।’

उनले कांग्रेसका २९ सांसदमध्ये २७ जनाले नै मन्त्रीमा दाबी गरेको जानकारी दिए । ‘योग्यता भएपछि मन्त्री बन्छु भन्न पाइयो । हाम्रोमा २ जना बाहेक २७ जना नै मन्त्री बन्न योग्य हुनुहुन्छ । उहाँहरूले समान हक राख्नुहुन्छ । यो स्वाभाविक हो । त्यसमा ४ जनादेखि ६ जनासम्म मन्त्री र राज्यमन्त्री गरेर हुनसक्ने सम्भावना छ,’ रायमाझीले भने ।

उता, कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले प्रदेशको भन्दा पनि केन्द्रीय नेताहरूमा देखिएको समस्याकै कारण सरकारमा जान ढिलाइ भएको बताए । ‘माथि नै समस्या देखियो । हाम्रो तलको समस्या होइन,’ उनले भने, ‘नेताहरूले मन्त्रीको नामावली दिएपछि मन्त्रीमण्डलमा सहभागिता हुन्छ । अझै एक हप्ता लाग्न सक्छ ।’

उनले आफू मन्त्रीको दौडमा नरहे पनि पार्टीका २९ सांसदमध्ये २ जना पूर्वमुख्यमन्त्री बाहेक २७ जना नै आकाङ्क्षी रहेको बताए ।

कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहेका सांसद भुपेन्द्र राईले पनि आफूलाई ०७९ सालमै खोटाङका जनताले मन्त्री बन्न पठाएको बताए । यद्यपि नेताको ढोकामा गएर आफूलाई मन्त्री बनाउनुपर्छ भनेर नभनेको उनले बताए ।

कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, डाक्टर शेखर कोइराला गुटबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने गरी छलफल भइरहेको छ । जसका लागि देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम छन् ।

‘मलाई मन्त्री बनाउन २०७९ सालमै खोटाङका जनताले निर्वाचित गरेर पठाएका हुन् । अहिलेसम्म बन्न सकिएको छैन । आफूले मन्त्री बन्न कोही नेतालाई पनि भिडाएको छैन । भिडाउँदा पनि भिडाउँदिनँ,’ तपाईं मन्त्री बन्न दौडधुपमा हुनुहुन्छ रे भन्ने प्रश्नमा उनले भने ।

कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, डाक्टर शेखर कोइराला गुटबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने गरी छलफल भइरहेको छ । जसका लागि देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम छन् ।

यसअघि ताप्लेजुङका प्रहरी प्रमुखलाई काटमारको धम्की दिएको घटनामा हाङ्गामको संलग्नता रहेको सार्वजनिक भएको थियो । कार्की अघिल्लो प्रदेश सभाको कार्यकालमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए भने सुनुवार प्रदेश सभाको यही कार्यकालमा तीन पटक मन्त्री भइसकेका छन् ।

उता, शेखर कोइराला गुटबाट भने मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरीमध्ये मन्त्री बन्ने चर्चा छ । लिम्बू कोइराला गुटको पनि सुनिल शर्मा समूहका नेता हुन् । उदयपुरका खत्री भने यसअघि दुई पटक मन्त्री बनेका छन् । केदार कार्की नेतृत्वको सरकारका पालामा उनी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका थिए । इलामका गिरी भने नयाँ अनुहार हुन् ।

यसअघि केदार कार्की नेतृत्वको सरकारमा राज्यमन्त्रीको रूपमा धनकुटाकी इन्दिरा थापा र सुनसरीकी सुनितादेवी राम सहभागी थिए । कांग्रेसमा सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायतले मन्त्री बन्ने लविङ गरेको बताइन्छ ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन् । दुई जनामध्ये एक जनालाई सिटौलाले मन्त्री बनाउने चर्चा छ ।

कोशी प्रदेश कांग्रेसको कार्यसम्पादन समितिको बैठकले लैङ्गिक र समावेशीतालाई ख्याल गरेर मन्त्री बनाउने निर्णय गरिसकेको भए पनि अहिले मन्त्री बन्न चर्चामा रहेका नाममा महिला भने छैनन् ।

यसअघि केदार कार्की नेतृत्वको सरकारमा राज्यमन्त्रीको रूपमा धनकुटाकी इन्दिरा थापा र सुनसरीकी सुनितादेवी राम सहभागी थिए । कांग्रेसमा सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैया श्रेष्ठलगायतले मन्त्री बन्ने लविङ गरेको बताइन्छ ।

यसअघि सरकारबारे कांग्रेस र एमालेबिच ‘केन्द्रमा जे हुन्छ, प्रदेशमा त्यही’ हुने सहमति भइसकेको छ । संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेश सभाबाट कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । गत असार १७ गते नयाँ गठबन्धन (एमाले र कांग्रेस) बनेसँगै असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । सोही अनुसार कोशी प्रदेश सरकारमा पनि कांग्रेस सहभागी हुने अन्तिम तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप