सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १४ साउन २०८१, २१ : ५०
सोमबार, १४ साउन २०८१

आज २०८१ साउन १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा संसदीय सुनुवाइ समितिबाट प्रधानको नाम अस्वीकृत, माओवादी पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम सकियो, तीन प्रदेश प्रमुख फेरिए; सचिवहरूको सरुवा, पूर्वमन्त्री र व्यवसायीबिचको लेनदेन विवाद अदालतमा, विवादित मन्त्रीबारे कांग्रेस ः आरोप लाग्दैमा फिर्ता बोलाउने भन्ने हुँदैन, स्वअनुभूतिको आधारमा लैङ्गिक पहिचान राख्न पाइने सर्वोच्चको फैसला, २०.४६ अङ्कले घट्यो नेप्से लगायत छन् ।

१. संसदीय सुनुवाइ समितिबाट प्रधानको नाम अस्वीकृत
संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ । समितिले अस्वीकृत गरेसँगै प्रधान नियुक्तिका लागि अयोग्य भएका छन् । यद्यपि समितिले निर्णय सार्वजनिक गर्नु अघि नै प्रधानले आफ्नो नाम फिर्ता लिएका थिए ।

२. माओवादी पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम सकियो
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूको बोल्ने क्रम सोमबार सकिएको छ । मंगलबार अध्यक्ष प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

३. तीन प्रदेश प्रमुख फेरिए; सचिवहरूको सरुवा
सरकारले तीन प्रदेश प्रमुखलाई पदबाट हटाएर उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले केही सचिवको सरुवा समेत गरेको छ ।

४. पूर्वमन्त्री र व्यवसायीबिचको लेनदेन विवाद अदालतमा
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउदले एक व्यवसायीमाथि ठगी गरेको आरोप लागेको छ । उनले बझाङ स्थायी घर भई काठमाडौँ टोखा नगरपालिका–४ बस्दै आएका धनबहादुर बोहरामाथि ठगी गरेको आरोप लागेको हो । यी दुईबिचको विवाद अहिले अदालतमा पुगेको छ ।

५. विवादित मन्त्रीबारे कांग्रेस : आरोप लाग्दैमा फिर्ता बोलाउने भन्ने हुँदैन
संघ सरकार र केही प्रदेशमा विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आलोचना भइरहेको छ । तर कांग्रेसले अहिले देखिएका आलोचना सुन्नबाहेक अर्को विकल्प नरहेको टिप्पणी गरेको छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले आरोप लाग्दैमा मन्त्रीलाई फिर्ता बोलाउने भन्ने नहुने बताए । 

६. स्वअनुभूतिको आधारमा लैङ्गिक पहिचान राख्न पाइने सर्वोच्चको फैसला
सर्वोच्च अदालतले स्वअनुभूतिको आधारमा आफ्नो लैङ्गिक पहिचान निर्धारण गर्न पाउने अधिकार नागरिकलाई हुने व्याख्या गरेको छ । एक पारलैङ्गिक महिला (जन्मिँदा यौनाङ्गको आधारमा बालक÷केटा भनेर चिनिएको)ले दायर गरेको रिटमा पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो पहिचान निवेदकले चाहेकै हुने तर सबै सरकारी कागजातमा एकरूपता हुने गरी उनीहरूले लिङ्ग जनाउनुपर्ने ठाउँमा अन्य, महिला वा तेस्रो लिङ्गी जे राख्न चाहे पनि पाउने व्याख्या गरेको हो । 

७. २०.४६ अङ्कले घट्यो नेप्से
लगातारको वृद्धिमा ब्रेक लाग्दै सोमबार नेप्से सूचक २०.४६ अङ्कले घटेको छ । खासगरी नयाँ सरकार परिवर्तन र मौद्रिक नीतिपछि एकाएक ६ सय अङ्कमाथिले बढेको सेयर बजारमा अधिकांश लगानीकर्ताहरूले नाफा बुक गर्न लाग्दा सोमबार नेप्से सूचक ०.७६ प्रतिशतले घट्दै २६६१.०९ विन्दुमा पुगेको हो ।

८. भीआइपीको मृत्युको कामना गर्दै यज्ञ गर्ने खतिवडा पक्राउ
आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडालाई भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

९. प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट निवेदन संवैधानिक इजलासले कसरी टुङ्ग्याउँछ ? 
केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्तिमा संविधानको गलत धारा प्रयोग भएको दाबी गरिएको रिट संवैधानिक इजलासमा साउन ३० गते सुनुवाइको पहिलो पेसी तोकिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशले रिट निवेदनको पहिलो सुनुवाइ गर्नेछन् । 

१०. नेपाल भ्रमणमा ‘मिस माल्टा’
मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्यटन बोर्डको अगुवाइमा स्वागत गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप