शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

प्रतिपक्षमा पुगेपछि माओवादीको चेत खुलेको हो ?

सोमबार, १४ साउन २०८१, २० : ४२
सोमबार, १४ साउन २०८१

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनदेखि जारी माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूले पहिलो पटक दिल खुलेर बहस गरेका छन् । अहिलेको परिस्थितिमा विचारको विकास र पार्टी निर्माणबारे सबै नेताहरूले समय लिएरै आ–आफ्ना धारणा राखे ।

कांग्रेस–एमालेबिच भएको ७ बुँदे सहमतिले सत्ताच्यूत भएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक सबैको कुरा ध्यानपूर्वक सुनेको नेताहरूले अनुभूति गरेका छन् । सोमबार सबै पदाधिकारीले आ–आफ्ना धारणा राखेपछि मंगलबार अध्यक्ष प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

मंगलबार नै पार्टीको भावी योजनाको प्रारुप तयार हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने छ । स्थायी समिति बैठकले आगामी केन्द्रीय समितिको एजेण्डा तय गर्नेछ र त्यसैले पार्टीको नयाँ योजना ल्याउने प्रवक्ता सापकोटाले दाबी गरे ।

‘पार्टीभित्र अहिले विचारको विकास र पार्टी निर्माणबारे वृहङ्गम छलफल भएको छ । विचार संश्लेषणका आधारमा पार्टीको भावी योजना बन्नेछ । कसरी जाने भन्ने विषयमा बैठकले निर्देशन दिनेछ’, उनले भने ।

यसअघि रातोपाटीसँग कुरा गर्दै पार्टी सचिव राम कार्कीले कम्युनिस्ट पार्टीमा ओरालो लागेपछि चेत खुल्ने गरेको उदारहण प्रस्तुत गरेका थिए । उनले शान्ति प्रक्रियामा आएपछि पार्टी सत्तामुखी हुँदा नेताहरूको सुझाव नेतृत्वले नसुन्दा समस्या आएको निष्कर्ष निकाल्दै अहिले कम्तीमा खुला बहस भएकोमा खुसी व्यक्त गरेका थिए ।

agni

आइतबार डेढ घण्टा बोलेका उपमहासचिव जनार्दन शर्माले माओवादी इतिहासदेखि अहिलेको अवस्थासम्म उठान र बैठानबारे आफ्नो धारणा राखेका थिए । साथै उनले आफ्नो कुरा नेतृत्वले नसुनेकोमा गुनासो पोखेका थिए । सचिव गणेश साहले अध्यक्ष प्रचण्डलाई मुख्य नेतृत्वको भूमिका लिन पनि नसकेको भन्दै आगामी दिनमा लिन शुभकामना दिएका थिए । साथै उनले ‘अध्यक्ष प्रचण्डले धेरै बोलिसक्नुभयो । अब कम बोल्नुहोला’ भन्दै धेरै लेखपढ गर्न र अरूको कुरा सुन्नसुझाव दिएका थिए ।

चार दिनको बहसले पार्टीलाई फेरि नयाँ उचाइमा पु¥याउन सकिने उपमहासचिव हरिबोल गजुरेलको आत्मविश्वास छ । षड्यन्त्रमुलक ढङ्गबाट कांग्रेस–एमालेले माओवादीलाई सत्ताच्यूत गरे पनि प्रकारान्तरमा यसले पार्टी बनाउन अवसर मिलेको निष्कर्ष उनले निकाले ।

यता पहिलो दिनमै आफ्ना धारणा राखेका अर्का सचिव चक्रपाणि खनालले माओवादी शान्ति प्रक्रियामा आएको झण्डै १९ वर्षमा १४ वर्ष सत्तामा रहेको भन्दै यस बिचमा पार्टी कहाँ चुक्यो भन्ने विषयमा पनि प्रश्न आएको स्वीकारे । साथै आगामी दिनमा सदनदेखि सडकसम्म पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा बहस केन्द्रित भएको उनको भनाइ छ ।

यसै विषयमा बैठकको अन्तिममा आफ्ना भनाइ राखेका उपमहासचिव गजुरेल र सुरुमै आफ्ना विचार राखेका सचिव खनालको अनुभूति जस्ताको तस्तै राखिएको छ । प्रस्तुत छ, गजुरेल र खनालले दिएको विचारको सम्पादित अंशः

अहिले विचार निर्माण नै मुख्य कुरा हो : हरिबोल गजुरेल

पछिल्लो घटनाक्रमबारे सबै नेताहरूले आ–आफ्ना धारणा राखेका छन् । भावी दिनमा पार्टीलाई कस्तो बनाउने ? रणनीति र कार्यनीति कस्तो बनाउने ? कसरी जाने ? नेताहरूको रुपान्तरण कसरी गर्ने ? लगायत विषयमा उजागर गर्ने काम भयो । नेताहरूको कार्यशैली, आचरण, गुटबन्दीका विषयमा केही प्रश्न उठेका छन् ।

षड्यन्त्रकारी ढङ्गले सरकार परिवर्तन गरियो, त्यो राम्रो होइन । यद्यपि सकारात्मक ढङ्गले पार्टीलाई अगाडि बढाउने राम्रो अवसर हो । माओवादीलाई एउटा अवसर आएको छ । माओवादीले ठिक ढङ्गले ट्याकल गर्यो भने ठुलो अवसर हो ।

बैठकमा सबैले मनमा लागेका कुरा भन्न पाए । अध्यक्षले कुरा सुन्नुभयो । हिजो सम्भव थिएन । लिडरशीपले पनि धक्का खाएका छन् । पार्टीले पनि धक्का खाएको छ, खाइन्छ पनि । धक्का खाएपछि आखिर चेतना आउँछ । अब माओवादीका लागि यो टर्निङ प्वाइन्ट हुन सक्छ । छलफलबाट सही निष्कर्ष निकाले आवेश र उत्तेजनामा नआई काम गरे अवसर आउन सक्छ । अध्यक्ष प्रचण्डले संसदमा बोलेको अभिव्यक्तिले राम्रो सन्देश दिएको छ । अहिले विचार निर्माण नै मुख्य कुरा हो । विचार र राजनीति ठिक भएपछि अन्य कुरा ठिक हुँदै जान्छ । कार्यशैली आचरण त्यसैमा भर पर्छ । त्यसमा मेहनत गर्नुपर्छ ।

प्रतिपक्षमा पुग्दा खुसी भएको भन्ने कुरा विल्कुल सही होइन : चक्रपाणि खनाल

बैठकमा सरकारबाट हट्नुपर्नाको कारण, सदन, सडकबाट पार्टीलाई कसरी प्रभावकारी बनाउने ? सत्ता बाहिर रहेको अवस्थामा प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने भन्ने कोणबाट विचार आएका छन् । अहिले नै यही कार्यक्रम बनाउने भन्दा पनि सत्ता पक्षको ७ बुँदे र संविधान संशोधनको विषयलाई हेरेर त्यही अनुसार जाउँ भन्नेमा छलफल केन्द्रित भएको छ ।

एमालेसँग कुन आधारमा एलान्स भएको थियो भन्ने विषयमा मोटामोटी कुरा उठेको छ । यसबारे अध्यक्षले भोलि जवाफ दिनुहोला । त्यतिबेला अध्यक्ष नै बढी जिम्मेवार भएको हुनाले कांग्रेससँग तोड्ने स्थिति के थियो ? उहाँले बलियो कम्युनिस्ट पार्टी निर्माण गर्ने भन्नुभएको थियो । भित्री कुरा केही भए गर्नुपर्ने फेरि भन्नुहोला । अहिले नै बैठक निष्कर्षमा पुगेको छैन । अध्यक्ष प्रचण्डले जवाफ दिएपछि एउटा निष्कर्षमा पुग्न सकिएला । अहिलेसम्म पार्टी निर्माणको कुरा भएको छ । कस्तो विचार भन्नेमा खासै कुरा भएको छैन । वैचारिक र सैद्धान्तिक समाजवादी हुनुपर्छ भन्ने उठेको छ ।

शान्ति प्रक्रियामा आएपछि पार्टी १४ वर्ष सत्तामा रहेछ । यसबिचमा पार्टी ठुलो हुनुभन्दा कमजोर भएको छ । यो प्रश्न अनुत्तरित छ । सरकारमा बस्नै पर्थ्यो भन्ने अर्को तर्क थियो । संविधान हामीले निर्माण गर्ने, त्यस अन्तर्गत सरकारमा नबसेको भए झन् पार्टी रक्षा हुँदैन । त्यो त बस्नै पर्थ्यो भन्ने कुरा उठेको थियो । जहाँसम्म सत्तामा भन्दा प्रतिपक्षमा पुग्दा खुसी भएको भन्ने कुरा विल्कुल सही होइन । त्यो कुरा गलत हो । यद्यपि सरकारमा रहँदा कमी कमजोरीबारे प्रश्न उठेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप