सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाले किन धेरै विधेयक पारित गर्न सकेन ?

सोमबार, १४ साउन २०८१, २० : १४
सोमबार, १४ साउन २०८१

काठमाडौँ । सांसदहरूले सरकारको स्थायित्व नभएका कारण प्रतिनिधि सभाबाट जनअपेक्षा अनुरूपको सङ्ख्यामा विधेयक पारित गर्न नसकिएको बताएका छन् । 

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदहरूले सरकार अस्थिर भएका कारण विधेयक निर्माणमा समस्या भएको बताएका हुन् । सांसदहरूले आजसम्म सरकार परिवर्तनको खेल मात्रै भएको भन्दै विधेयक निर्माण गर्न शीर्ष नेता र पार्टीहरूको ध्यान नपुगेको बताए । 

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार परिवर्तनको कारणले प्रतिनिधि सभाको धेरै समय खेर गएको बताए । उनले आगामी दिनमा विधेयक पारित गर्न समितिले क्रियाशीलता देखाउनुपर्ने बताए । सरकारले तदारुकता देखाउनुपर्ने र सभामुखले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । उनले समितिका सांसदहरूले पनि उच्च रूपमा क्रियाशीलता देखाउनुपर्ने बताए । 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेसका सांसद रामहरि खतिवडाले समितिको बैठक नियमित रूपमा बस्न नसकेको बताए । उनले दिन बिराएर संसद् र समितिको बैठक सञ्चालन गर्नका लागि सभामुखसँग आफूहरूले कुरा राखेको जानकारी दिए । उनले संसदमा बिजनेशको अभाव भएर आकस्मिक, शून्य र विशेष समयमा अल्मल्लिइ रहनुपरेको भन्दै अब भने स्थिर सरकार भएका कारण विधेयकहरू अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

नेकपा (एमाले)का सांसद रघुजी पन्तले विगतमा मन्त्रीहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयकलाई समितिमा छलफल गराउन र पारित गराउन चासो नदेखाएका कारण विधेयकहरू धेरै आउन नसकेको बताए । उनले संसद्लाई बिजनेस दिने काम सरकारको भएको भन्दै यसमा सरकारले ध्यान पुर्‍याउनुपर्ने बताए ।

महिला तथा सामाजिक मामिला समितिका सभापति समेत रहेका एमालेका सांसद किरणकुमार साहले सरकार अस्थिर भएका कारण विधेयक आउन नसकेको बताए । उनले सांसदहरुको मुख्य काम विधेयकको भएपनि सरकारको अस्थिरताको कारण द्रुत गतिमा हुन नसकेको बताए । उनले आफ्नो समितिमा अहिलेसम्म एउटा विधेयक पनि नआएको भन्दै विधेयक शून्यताको अवस्थामा रहेको बताए । 

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले मुख्य दल र नेताहरूको ध्यान सरकार बनाउने र सरकार फेर्नमा मात्र केन्द्रित हुँदा संसद् बरालिएको बताए । उनले संसद् बैठक चलाउन बिजनेसको अभाव रहेको बताए । संसद्को मुख्य काम कानुन निर्माण भएपनि सन्तोषजनक र प्रभावकारी नभएको उनको भनाई छ । 

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संविधानलाई कमजोर बनाउन चाहने पात्रहरूको प्रतिनिधि सभामा बहुमत भएका कारण विधेयकहरू बन्न नसकेका बताए । त्यसकारण संविधानको रक्षा र संविधानको सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐन, कानुन निर्माणमा समस्या पैदा भएको उनको भनाई छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकार परिवर्तन भइरहेका कारणले नै अपेक्षाकृत रूपमा विधेयकहरू निर्माण हुन नसकेको बताए । नयाँ सरकारले पुरानो सरकारले ल्याएको विधेयकको स्वामित्व नलिने गरेको पनि उनको भनाई छ । 

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति समेत रहेका जनमत पार्टीका सांसद अब्दुल खानले संसद् बैठक र समिति बैठकको तालमेल नमिलेका कारण पनि समितिमा भएका विधेयकहरू छलफलमा ढिलाइ भइरहेको बताए । उनले मन्त्रीहरूको फेरबदल भइरहेका कारण विधेयक द्रुत रूपमा पारित हुन नसकेको बताए । 

सांसद खानले पछिल्लो समयमा संसदबाट कुनै न कुनै विधेयक पारित भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप