बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
समाचार

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी ठगीमा सहकारी बैंक अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

१५ करोड ७७ लाख २० हजार ४० बिगो दाबी
सोमबार, १४ साउन २०८१, १९ : ४२
सोमबार, १४ साउन २०८१

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राष्ट्रिय सहकारी बैंक अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीसहित ९ जान विरुद्ध सहकारी ठगीमा मुद्दा दायर  गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनीसहित ९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । उप्रेती आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।

उनीहरुविरुद्ध पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान प्रतिवेदनपछि  सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार मुद्दा दायर गरेको हो ।

सहकारी अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, सोही संस्थाका तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे र सदस्य बद्री महत समेतलाई अभियोगपत्रमा प्रतिवादी बनाइएको छ ।

त्यस्तै हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाललाई पनि प्रतिवादी बनाइएको छ ।

मर्जरपछिको संस्थाका सदस्य भएका प्रकाशमान शाही खड्गीलाई समेत अभियोगपत्रमा प्रतिवादी बनाइएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय भएर सञ्चालनमा रहेका पाँच सहकारी संस्था मर्जर भई आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीसहित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी मर्जर भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो ।

यी पाँच सहकारी ‘मर्ज’ (एकापसमा गाभिनु) भएपनि एकीकृत कारोबार सुरु नगरी ‘डिमर्ज’ (छुट्टिने) निर्णय गर्दै सहकारी विभागमा निवेदन दिएका थिए । तर, विभागले डिमर्जको स्वीकृति दिएको थिएन ।  यही बिचमै सहकारी संकटग्रस्ट भएको थियो ।

मर्जर अगाडि नै समस्या देखिएका संस्थामा मर्जरपछि एकीकृत कारोबार सुरु नभए पनि सबै संस्थाले बचत फिर्ता गर्न सकेका छैनन् । सात संस्थाको एकीकृत कारोबार ७ अर्बभन्दा धेरै भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।

अभियोगपत्रमा १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी भएको दाबी गरिएको छ। प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सजाय माग गरिएको छ। प्रतिवादीमध्ये केबी उप्रेती मात्रै पक्राउ परेका छन् भने अन्य अभियुक्त फरार छन् । उनीहरूलाई फरार नै देखाउँदै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप