आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

पर्यटन विरोधी प्रदर्शनको केन्द्र बन्दै यूरोप

सोमबार, १४ साउन २०८१, १७ : ४८
सोमबार, १४ साउन २०८१

ब्रसेल्स । यो गर्मीयाममा यूरोपभर नै पर्यटन विरोधी चर्का प्रदर्शनहरू भए । नेदरल्यान्ड, ग्रिस र स्पेनमा समेत प्रदर्शनहरू भएको देखिए । 

जुलाईको सुरुमा स्पेनी सहर बार्सिलोनामा चर्चित पर्यटकीय क्षेत्रमा प्रदर्शनकारीहरूले वाट गनले पानी छ्याप्दै ‘पर्यटकहरू आफ्नै घर जाऊ’ भन्ने नारा लगाएका थिए । हालसालै स्पेनको मालोर्क टापुमा हजारौँले प्रदर्शन गरेका थिए । टापुको पर्यटन मोडलले कामदारहरूलाई गरिब बनाएको र केहीलाई मात्रै धनी बनाएको प्रदर्शनकारीहरूको दाबी थियो । प्रदर्शनको विरोधको केन्द्रमा बढ्दो घरभाडा र घरको मूल्य वृद्धि थियो । गएको एक दशकमा भाडा ६८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यूरोपका अन्य सहरहरूमा पनि यस्तै खालको प्रवृत्ति देखिएको छ । अत्यधिक पर्यटनका कारण घर भाडा र घरको मूल्य आकासिएका छन् । केही त आफ्नो आवाज सुनियोस् भनेर भोक हडतालमै बसे । जुलाई ६ मा र्बािलोनामा आगन्तुकहरुमाथि पर्यटन विरोधी प्रदर्शनकारीहरूले वाटर पेस्तोल चलाएपछि यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको थियो । स्पेनमा सर्वसाधारणले मात्रै होइन कम्पनीहरू समेत यस्ता प्रदर्शनमा सहभागी भइरहेका छन् । तर यस्ता खालका प्रदर्शनले पर्यटकहरूको मनमा खराब छाप बस्ने सस्टेनेबल पर्यटनका विज्ञहरूको चिन्ता छ ।

केही यूरोपेली सहरमा स्थानीय अधिकारीहरूले पर्यटनलाई नियन्त्रणमा ल्याउन अनेकौँ उपायहरू अपनाइरहेका छन् । भेनिसमा अधिकारीहरूले हालै पर्यटनमा अंकुश लगाउन अस्थायी प्रवेश शुल्क लिएका थिए । यो योजना लागू भएको समयमा सहरमा पर्यटकको सङ्ख्या घटेको भएपनि योजना हटेपछि पहिलाको जस्तै भीड देखिन थालेको छ ।  केहीले यस्तै खालको उपायहरू अपनाइरहेका छन् भने अरूले पर्यटक शुल्क बढाउन खोजिरहेका छन् । केही क्रुज यात्रीका लागि सहरको पर्यटक कर बढाउन चाहेको हालै बार्सिलोनाको मेयर जायूम कोलबोनीले भनेका थिए । कोलबोनीले छोटो अवधिका लागि भाडामा बस्नेका लागि भने अनुमति दिएको १० हजार अपार्टमेन्टको लाइसेन्स पनि खारेज गर्न खोजेका छन् । यतिबेला समस्या घर भाडाको मात्रै छैन । पर्यटकहरूको दूरव्यवहारको पनि छ । पर्यटकहरूको खराब व्यवहार, पर्यटकीय स्थलमा क्षति पुर्‍याउने गतिविधि आदिका कारण यूरोपभर समस्या भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप