सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

अपुग शिक्षक दरबन्दी पूर्ति नभए विद्यालय बन्द गर्ने मौलापुरको चेतावनी, शिक्षामन्त्रीलाई ज्ञापन पत्र

सोमबार, १४ साउन २०८१, १७ : ३८
सोमबार, १४ साउन २०८१

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री विद्या भट्टराईलाई ज्ञापन पत्र बुझाएकी छन् । 

आज सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गर्नुपर्ने माग गरेकी हुन् । तहगत र विषयगत अपुग शिक्षक तत्काल आपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी समेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिइन् । 

मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा आठ हजार भन्दा विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षक दरबन्दी एक सय ६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन् । हाल मौलापुरमा एक सय २ शिक्षक दरबन्दी अपुग रहेको छ । 

‘मौलापुर नगरपालिकामा आठ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् । मौलापुरमा एक सय १६० शिक्षक हुनुपर्नेमा ५८ शिक्षक मात्रै रहेका छन् । तपाई आफै बिचार गर्नुस् त ५८ शिक्षकले १६० शिक्षकको पढाउने काम कसरी गर्न सक्छ ?’ मौलापुरकी मेयर साहले प्रश्न गर्दै भनिन्, ‘कि शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुपर्‍यो वा हामीलाई शिक्षक नियुक्त गर्ने अधिकार दिनुपर्‍यो । विद्यार्थीको भविष्यसँग मन्त्रालयले खेलबाड गर्न पाउँदैन । हामीले यस बारेमा सरकारलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाइ भएको छैन । सरकारको यस्तै रवैया रह्यो भने हामी बाध्य भएर पठनपाठन बन्द गरेर आन्दोलनमा जान्छौँ ।’

मौलापुरमा अपुग शिक्षक आपूर्तिका लागि मेयर साहले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएकी छन् ।  विद्यार्थी अनुपातमा मौलापुरमा मात्रै नभएर मधेस प्रदेशमै शिक्षकको अभाव रहेको छ । तर सरकारले विभेद गर्दै आएको कारण विद्यार्थीको भविष्य अन्धकार बनाउन खोजेको आरोप मेयर साहले लगाएकी छन् ।

मधेस प्रदेशको पहिलो महिला मेयर साहले भनिन्, ‘विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी नहुँदा शिक्षकको अभावमा मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको पठनपाठन अस्तव्यस्त भई बालबालिकाहरूको भविष्य अन्धकारमा पर्न गएको छ ।’ 

ज्ञापन पत्र बुझ्दै शिक्षा मन्त्री भट्टराईले विभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दी छिटै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको बताइन् । ‘हामी अध्ययन गरिरहेका छौँ । विभिन्न विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले छिटै नै व्यवस्थापन गर्दैछौं । तपाईँहरू आन्दोलन नगरिदिनुहोला,’ उनले भनिन् ।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बराबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रूपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन । 

शिक्षा मन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाउन मौलापुरकी मेयर साहका साथै आम जनता पार्टी (आजपा)का केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साह लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप