बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

आरएसएसले सत्ता गठबन्धनसँग गर्‍यो नेपाललाई हिन्दु राष्ट्र बनाउने अपेक्षा

सोमबार, १४ साउन २०८१, १७ : २७
सोमबार, १४ साउन २०८१

काठमाडौँ । भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले नेपालको वर्तमान सत्ता गठबन्धनसँग हिन्दु राष्ट्र स्थापनाको अपेक्षा गरेको छ ।

आरएसएसले आफ्नो मुखपत्र ‘पाञ्चजन्य’को अनलाइन संस्करणमा एउटा लेख प्रकाशित गरी संविधान संशोधनमार्फत नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताएको छ । नयाँ गठबन्धनको एजेण्डामा सबैभन्दा बढी चर्चा भनेको संविधान संशोधनकै छ ।

sansodhan

नेपालबाट आरएसएसमा आबद्ध पंकज दासले लेखेको सो लेखमा सत्ता गठबन्धनका प्रमुख दुई दलका शीर्ष नेता कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली दुवै जना हिन्दु राष्ट्रको पक्षमा रहेको कुरा उनीहरूको विगतको क्रियाकलापले प्रस्ट देखिएको भनिएको छ ।

सभापति देउवाले सार्वजनिक रूपमै देशमा राजतन्त्र त फर्किन सक्दैन तर हिन्दु राष्ट्रका लागि विचार गर्न सकिने भनेको उक्त लेखमा उल्लेख गरिएको छ । यसमा एमालेलाई पनि आपत्ति नरहेको दाबी पाञ्चजन्यले गरेको छ ।

नेपाली कांग्रेसको महासमिति बैठकमा उपस्थित लगभग १४ सय प्रतिनिधिमध्ये १२ सयले हिन्दु राष्ट्रलाई पार्टीको एजेण्डा बनाउन माग गरेका थिए । र, त्यसका लागि हस्ताक्षर अभियान समेत चलाएको उल्लेख गर्दै पाञ्चजन्यले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि धर्मनिरपेक्ष नेता नरहेको दाबी गरेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा पशुपतिनाथ मन्दिरमा लगभग एक क्विन्टल सुनको जलहरी चढाएका थिए । चितवनमा अयोध्या नामक स्थान पर राम मन्दिरमात्र बनाएनन्, त्यहाँ उनले भगवान् राम, जानकी, लक्ष्मण र हनुमानको ठुलो मूर्ति आफ्नो लगानीमा स्थापना गराएका थिए ।

यी दुई कुराले सभापति देउवा र प्रधानमन्त्री ओली हिन्दु राष्ट्रको पक्षमा रहेको बुझ्न सकिने उल्लेख गर्दै पाञ्चजन्यले नेपाली जनताको मनमा राजनीतिक स्थिरता, आर्थिक उन्नति, समृद्धिको चाहना राख्छन् नै, तर देशलाई एक पटक पुनः हिन्दु राष्ट्रको रूपमा देख्न चाहेको र त्यसका लागि संविधानबाट धर्मनिरपेक्षता शब्द हटाएर हिन्दु राष्ट्र बनाउन सङ्घर्ष गर्न पनि तयार रहेको पाञ्चजन्यले उल्लेख गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप