बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोचिङ सेन्टरमा साथीको मृत्युपछि आक्रोशित विद्यार्थीद्वारा दिल्लीमा विरोध प्रदर्शन

सोमबार, १४ साउन २०८१, १६ : ४२
सोमबार, १४ साउन २०८१

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा एक कोचिङ सेन्टरमा शनिवार तीन जना विद्यार्थीको मृत्यु भयो । सडकको पानी कोचिङ सेन्टरको भवनको बेसमेन्टमा भरिएपछि शनिवार पुरानो राजिन्दर नगरस्थित राउज आईएएसको पुस्तकालयमा बसेर पढेर बसिरहेका विद्यार्थीहरूको मृत्यु भएको हो । 

भारी वर्षात्पछि शनिवार सडक जलमग्न बनेको थियो । सडकमा एसयूभी गुज्रिँदा पानीको बहावले कोचिङ सेन्टरको फलामे गेटमा दबाब सृजना भयो र गेट भाँच्चियो । सडकमा जमेको पानी तेज गतिमा कोचिङ सेन्टरभित्र छिर्न थाल्यो ।

सो बेसमेन्टमा कोचिङ सेन्टरको पुस्तकालय थियो । घटनाको समयमा त्यहाँ ३० जना विद्यार्थी पढेर बसिरहेका थिए । साँझ ७ बजे लाइब्रेरी बन्द भएपछि विद्यार्थीहरू बाहिर निस्कन खोजे । तर सडकको पानी लगातार बेसमेन्टमा आइरह्यो । पानीको वेग यति धेरै थियो कि मानिसहरू निस्कन सकेनन् । 

भुइँबाट बेसमेन्टको छत १२ फिट जतिको थियो । २–३ मिनेटमै बेसमेन्टको छतसम्म पानी भरियो । डोरीको साहाराले २७ जना विद्यार्थीलाई बाहिर निकालियो । तर २५ वर्षकी श्रेया यादव, २५ वर्षीय तान्या सोनी र २८ वर्षका नेविन डाल्विन भने निस्कन सकेनन् । एक वर्ष कोचिङ पढाएको २ लाख फिस लिने सो कोचिङ सेन्टरमा सुरक्षालाई भने व्यापक बेवास्ता गरिएको थियो । सञ्चालकहरूको लापरबाहीका कारण सो घटना घटेको भन्दै विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।

विद्यार्थीहरूले उक्त घटनाको विरोधमा लगातार दोस्रो दिन पनि विरोध प्रदर्शन गरिरहेका छन् । तर दिल्ली नगर निगम (एमसीडी) का कुनै पनि अधिकारी आफूहरूलाई भेट्न नआएको उनीहरूको गुनासो छ । मृतक, अस्पतालमा भर्ना भएकाहरूको जानकारी, एफआईआरको प्रक्रिया, आगामी कारबाही मृतकको परिवारलाई १ करोड भारु र घाइतेलाई ५० लाख भारु क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरूले आइतबार नै डीएसपीलाई बुझाएका थिए । तर यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यस मामिलामा अहिलेसम्म प्रहरीले कोचिङ सेन्टर सञ्चालक तथा समन्वयकर्ता समेत सात जनालाई पक्राउ गरेका छन् । यस घटनामा दोषी हरेकलाई कडा सजाय दिइने प्रहरीले बताएको छ । यो घटनापछि सो कोचिङ सेन्टरलाई ‘सिल’ गरिएको छ । यो घटनापछि एससीडीले पुरानो राजिन्दर नगरमा कम्तीमा १३ अवैध कोचिङ सेन्टरलाई बन्द गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप