सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
लेनदेन विवाद

पूर्वमन्त्री र व्यवसायीबिचको आर्थिक लेनदेनको विवाद सतहमा, अदालतमा मुद्दा दायर

सोमबार, १४ साउन २०८१, १५ : २१
सोमबार, १४ साउन २०८१

काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री झपटबहादुर साउदले एक व्यवसायीमाथि ठगी गरेको आरोप लागेको छ । उनले  बझाङ स्थायी घर भई काठमाडौँ टोखा नगरपालिका–४ बस्दै आएका धनबहादुर बोहरामाथि ठगी गरेको आरोप लागेको हो । 

यी दुई बिचको आर्थिक लेनदेनको विवाद बढ्दै अहिले अदालतसम्म पुगेको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला साउदले विभिन्न योजना हालिदिने, ठेक्का पट्टा मिलाइदिने आश्वासन दिँदै एक करोड ५० लाख असुलेको आरोप बोहोराले लगाएका छन् । 

तर, उनले उक्त रकम दिएपछि कुनै काम नमिलाइदिएको बरु उल्टै प्रहरी लगाएर हैरानी दिएको बोहोराको भनाइ छ । बोहराका अनुसार साउदले पटकपटक गरी २२ लाख बराबर रकममात्रै फिर्ता गरेका छन् । बाँकी रकम अझै फिर्ता गर्न बाँकी रहेको बोहराले रातोपाटीलाई बताए । उनले पैसा दिन्छु भन्दै साउदले असारको दोस्रो हप्ता आफूलाई काठमाडौँ बोलाएर प्रहरी वृत्त नयाँ बानेश्वरमा थुनाएको समेत दाबी गरे । 

‘म मन्त्री भएपछि चार पाँच वटा टेन्डरको मेसो मिलाएको छु । त्यहाँबाट आएका कमिसन लिएर उता चलाउनुहोला भनेर विभिन्न आश्वासन देखाइदिनुभयो’, गुनासो पोख्दै उनले भने, ‘म सानोतिनो व्यापार गरेर बसेको मान्छे । लास्टमा काम दिनुभएन, उल्टै ठग्नुभयो । पैसा फिर्ता गर्नोस् सर भन्दा दिन्छु भनेर काठमाडौँ बोलाएर उल्टै थुनाइदिनु भयो ।’ 

२०८१ असार ११ गते प्रहरी वृत्त नयाँ बानेश्वरमा निवेदन दिएर उनले आफूलाई पक्राउ गराएको बोहराको भनाइ छ । उनले भने, ‘एक जना व्यापारीमार्फत चार करोडको चेक रेडी गरेको छु भनेर नयाँ बानेश्वर पाठशाला नेपाल अगाडि बोलाउनु भयो । बस्दै गर्नु भनेर आधा घण्टामा प्रहरी लगाएर मलाई थुनाइयो । तीन महिना थुन्छु भनेपछि मेरो उता(बझाङ)मा यार्सागुम्बाको काम भएकाले डर लाग्यो । बाध्य भएर मैले मिलापत्रमा हस्ताक्षर गरेँ ।

‘...बोहोराले विभिन्न किसिमको लेनदेन भएको जनाउँदै पत्रकार सम्मेलन गरी बदनाम गरिदिने भनी धाकधम्की दिँदै बारम्बार मानसिक यातना दिँदै ब्ल्याकमेल गरेको भनी आवश्यक अनुसन्धान गरी कारबाही गरी पाउँ’, बोहराविरुद्ध साउदका तर्फबाट प्रहरीमा परेको थियो । सोही उजुरी/निवेदनको आधारमा बोहरा पक्राउ परेपछि असार १३ गते दुवै पक्षको उपस्थितिमा मिलापत्र भएको कागजातमा देखिन्छ । 

Fullscreen capture 7292024 33027 PM

‘अब उप्रान्त कुनै पनि प्रकारको डर त्रास देखाउने, गालीगलौज धाकधम्की दिने लगायत व्यक्तिगत र व्यवसायीक जीवनमा समेत असर पर्ने खालको कुनै पनि कार्यहरू गर्ने गराउने छैन भनेर सहमति गरेका छौँ ।  साथै उल्लेखित कार्यहरू पुनः दोहोरिएमा वा भए गरेमा गराएमा समेत यसै कागजलाई आधार मानी कानुन बमोजिम सहन भोग्न तयार छु भनी दुवै पक्षको राजीखुसीमा यो मिलापत्र कागज लेखि लेखाई सहिछाप समेत गरी प्रहरी वृत्त नयाँ बानेश्वर मार्फत नेपाल सरकारमा चढायौँ’, मिलापत्रमा उल्लेख छ । 

निवेदकको पक्षबाट साउदका स्वकीय सचिव राजेन्द्र र विपक्षी पक्षबाट बोहराले सहीछाप गरेका छन् । रोहबरमा नाताले काका पर्ने नरबहादुर गुरु धामीले पनि सहीछाप गरेका छन् । 

तर, अहिले बोहोरा आफूलाई मिलापत्र चित्त नबुझेको भन्दै अदालतको शरणमा पुगेका हुन् । असार १७ गते उनले काठमाडौँ जिल्ला अदालतमा साउदविरुद्ध मुद्दा दायर गरेका हुन् । अदालतमा दायर भएको अभियोगमा पत्रमा ठगी तथा अपराधिक बल प्रयोग गरेको र व्यक्तिगत सम्पत्ति हत्याएकाले न्याय दिन माग गरिएको छ । 

यसबारे काठमाडौँ प्रहरी परिसर टेकुमा साउदविरुद्ध उजुरी दिए पनि प्रहरीले दर्ता नगरेपछि अदालत नै पुगेको बोहराको भनाइ छ । 

Untitled-1

निर्माण व्यवसायी र जडीबुटी सप्लायर्स रहेका बोहराले यसअघि पनि साउदविरुद्ध २०८० माघ १४ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । आफूलाई आर्थिक समस्या परेको भन्दै ऋण लिएको, दिने समय सकिँदा समेत रकम फिर्ता नगरेको, रकम फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख थियो । यो उजुरी उनले फिर्ता लिएका थिए । 

ठगीको आरोप लागेका साउदको स्थायी ठेगाना अछाम जिल्लाको तत्कालीन रामारोशन गाविसको भटाकाटीया–६, पुदु हो । हाल उक्त वडा रामारोशन गाउँपालिका– ६ मा पर्छ । उनी काठमाडौँ आएका बेला भक्तपुर लोकन्थलीमा बस्छन् । साउदले आफूले बोहरासँग १० लाख रुपैयाँ लिएको मात्रै साँचो भए पनि त्यो यसअघि नै चुक्ता गरिसकेको दाबी गरे । 

उनले भने, ‘२०७८ साल कात्तिक ११ गते ऊसँग १० लाख रुपैयाँ ऋण लिएको हो । मैले २०७९ साउनमा पैसा तिरिसकेको छु । त्यसपछि उसले मलाई निरन्तर ब्ल्याकमेलिङ गरिरहेको छ ।’ यो भन्दा बाहेक उनीसँग कुनै लेनदेन नभएको साउदले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप