मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : दक्षिणलाई उत्तर कोरिया भनेपछि आईओसी अध्यक्षले राष्ट्रपतिसँग मागे माफी

सोमबार, १४ साउन २०८१, १४ : ३६
सोमबार, १४ साउन २०८१

काठमाडौँ । ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद आयोजक समितिले दक्षिण कोरियासँग माफी मागेको छ । आयोजक समितिले ओलम्पिकको उद्घाटन समारोहमा भएको गम्भीर गल्तीका लागि माफी मागेको हो ।

प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास्ट गर्दा एक सय ४३ सदस्यीय दक्षिण कोरियाली खेल टोलीलाई कार्यक्रम सञ्चालकले उत्तर कोरियाको खेल टोली भनेर सम्बोधन गरेका थिए । ओलम्पिकको स्थानीय आयोजकले मानवीय त्रुटिका कारण यस्तो भएको स्पष्टीकरण पनि दिएको छ ।

उद्घाटन समारोहमा कार्यक्रम सञ्चालकले आफ्नो राष्ट्रिय झण्डासहित उपस्थित दक्षिण कोरियाली टोलीलाई ‘पिपल्स डेमोक्रेटिक रिपलब्धिक अफ कोरिया’ भनेर सम्बोधन गरेका थिए । खासमा त्यो उत्तर कोरियाको आधिकारिक नाम हो ।

दक्षिण कोरियाको आधिकारिक नाम भने ‘रिपब्लिक अफ कोरिया’ हो । विश्वभर प्रत्यक्ष प्रसारण भइरहेको ओलम्पिक खेलको उद्घाटन समारोहमा यस्तो गल्ती भएपछि दक्षिण कोरियाले आपत्ति जनाएको थियो ।

दक्षिण कोरियाको खेलकुद मन्त्रालयले विज्ञप्ति नै प्रकाशित गरी उक्त घटना ‘अकल्पनीय र दुःखद’ भएको बताएको थियो । ‘ओलम्पिकजस्तो वृहत् खेल उत्सवमा एउटा राष्ट्रलाई अर्को राष्ट्रको रूपमा परिचय गराउनु दुःखद विषय हो,’ मन्त्रालयले भनेको छ ।

खासमा, दक्षिण र उत्तर कोरियाबिचको राजनीतिक सम्बन्ध राम्रो छैन । दुई कोरियाबिच निकै लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ । दुई कोरियाबिच सन् १९५३ मा युद्ध विराम भए पनि हालसम्म कुनै शान्ति सन्धिमा हस्ताक्षर भने भएको छैन ।

त्यसैले ओलम्पिकको उद्घाटन समारोहमा भएको गल्तीका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस ब्याचले पनि औपचारिक रूपमा माफी मागेका छन् । आईओसी अध्यक्ष ब्याचले दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई टेलिफोन गरी क्षमा याचना गरेका हुन् ।

उत्तर कोरियाले पनि पेरिस ओलम्पिकमा आफ्नो खेल टोली पठाएको छ । पेरिस ओलम्पिकमा उत्तर कोरियाका १६ जना खेलाडी सहभागी रहेका छन् । तर, उत्तर कोरियाले भने उद्घाटन समारोहमा उद्घोषकबाट भएको गल्तिको विषयमा औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप