बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युआनको प्रयोग बढ्यो

सोमबार, १४ साउन २०८१, १३ : ३०
सोमबार, १४ साउन २०८१

बेइजिङ । अन्तर्राष्ट्रिय बजारमा चिनियाँ मुद्रा युआनको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । विश्वको आपूर्ति शृङ्खलामा चीनको मुख्य भूमिका रहिरहँदा सीमापारिका बजारमा चिनियाँ मुद्राको प्रयोग बढ्दो छ । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा युआन अन्तर्राष्ट्रियकरण सूचकाङ्क २२ दशमलव ९ प्रतिशतले बढेको रनमिन विश्वविद्यालयले शनिबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले देखाएको हो । विश्वको आपूर्ति शृङ्खलामा सेवा दिने प्रक्रियामा चीनको वित्तीय प्रणालीको स्तर पनि बढिरहँदा चिनियाँ युआन प्रयोगको आधार पनि बलियो बन्दै गइरहेको प्रतिवेदनमा विश्वविद्यालयले भनेको छ ।

कठिन खालको बाह्य अवस्थाका कारण अन्य देशहरूसँग चीनको व्यापार केही दबिएको भएपनि अन्य प्रमुख मुद्राको दाँजोमा युआनको अन्तर्राष्ट्रियकरण तीव्र रहेको पनि प्रतिवेदनमा भनिएको छ । गएको वर्ष युआनको औसत अन्तर्राष्ट्रियकरण अङ्क ६ दशमलव २७ रहेको छ । अमेरिकी डलर भने ५१ दशमलव ५२ अंकमा छ । यो सूचकमा यूरोले २५ दशमलव शून्य ३ अङ्क पाएको छ । युआन सूचकमा बेलायती पाउन्ड र जापानी येनभन्दा माथि छ । यी दुबैले क्रमशः ३ दशमलव ७६ अंक र ४ दशमलव ४ अङ्क पाएका छन् ।

हालैका वर्षमा चीनले विश्वभर युआनको प्रयोग बढाउने कोसिस तीव्र पारिरहेको छ । अमेरिकी प्रतिबन्ध छल्न वा डलरमाथिको निर्भरता कम गर्न केही देशहरूले रुसलगायत प्रतिबन्धको सूचिमा परेका देशहरूसँगको व्यापारमा चिनियाँ युआनको प्रयोग बढाइरहेका छन् । यसले पनि युआनको अन्तर्राष्ट्रिकरणलाई टेवा मिलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप