आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : सम्भवतः अन्तिम पटक आपसमा भिड्दैछन् विश्व टेनिसका यी दुई महान् हस्ती

सोमबार, १४ साउन २०८१, १२ : २२
सोमबार, १४ साउन २०८१

काठमाडौँ । समकालीन विश्व टेनिसका दुई महान् खेलाडी हुन्, राफेल नाडाल र नोभाक योकोभिच । ३८ वर्षीय स्पेनिस खेलाडी नाडाल र ३७ वर्षीय सर्बियन स्टार योकोभिच दुवै आफ्नो खलजीवनको उत्तरार्धमा छन् ।

यी दुवै टोलीले विश्व टेनिसमा हात पार्न बाँकी सायदै कुनै उपलब्धि होला । थुप्रै प्रतियोगितामा यी दुई खेलाडी एक–अर्काका प्रतिद्वन्द्वीको रूपमा पनि कोर्टमा ओर्लिएका छन् । अहिले फ्रान्सको राजधानी सहर पेरिसमा ३३औँ गृष्मकालीन ओलम्पिक भइरहेको छ ।

पेरिस ओलम्पिकका क्रममा एकपटक फेरि यी दुई प्रभावशाली खेलाडी एक–अर्काविरुद्ध मैदानमा ओर्लने संयोग जुरेको छ । पुरुष एकलतर्फको दोस्रो चरणको खेलमा नाडाल र योकोभिच आपसमा भिड्न लागेका हुन् ।  

पहिलो चरणको खेलमा योकोभिचले अस्ट्रेलियाका म्याथ्यु एबडनलाई ६–०, ६–१ को सोझो सेटमा हराएका थिए । नाडालले भने पहिलो चरणको खेलमा हंगेरीका मार्टन फुस्कोभिचलाई ६–१, ४–६, ६–४ अङ्कले पाखा लगाएका थिए ।

त्यसपछि यी दुई महान् खेलाडीले दोस्रो चरणमा एक–अर्काविरुद्ध भिडन्त पक्का गरेका हुन् । यसअघि नाडाल र योकोभिचबिच विश्व टेनिसमा कुल ६० खेल खेलिएको छ ।

फ्रान्समै आयोजना हुने चर्चित ग्रान्डस्लाम प्रतियोगिता रोनाल्ड गारोसमै पनि यी दुई खेलाडीबिच १० पटक भिडन्त भइसकेको छ । फ्रेन्च ओपनमा सन् २००६ मा यी दुई खेलाडीबिच पहिलो पटक भिडन्त भएको थियो ।

फ्रेन्च ओपनमा नाडालले आठपटक योकोभिचलाई हराएका छन् भने दुई पटक योकोभिचले नाडाललाई पराजयको स्वाद चखाएका छन् । योकोभिच र नाडाल दुवै सक्रिय खेलजीवनबाट बिदा लिने तयारीमा छन् । त्यसैले सोमबार राति खेलिने खेल यी दुवै प्रभावशाली टेनिस स्टारको आपसमा अन्तिम भिडन्त हुने अनुमान गरिएको छ ।

‘पक्कै पनि शक्तिशाली प्रतिद्वन्द्वीविरुद्ध कोर्टमा ओर्लनु सधैँ रोमाञ्चक हुन्छ । सोमबार हुने खेल पनि निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरेको छु । योभोकिच विश्व टेनिसका महान् खेलाडी पनि हुन्,’ दोस्रो चरणको खेलअघि नाडालले भनेका छन् ।

नाडालले हालसम्म २२ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । उनले दुईपटक अस्ट्रेलियन ओपनको एकल उपाधि चुमेका छन् । उनले १४ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसका अतिरिक्त उनले दुईपटक विम्बल्डन र चारपटक यूएस ओपन जितेका छन् । उनले सन् २००८ को ओलम्पिकमा पनि स्वर्ण पदक हात पारेका थिए ।

यसैगरी योकोभिचले हालसम्म २४ पटक ग्रान्डस्लाम प्रतियोगिताको एकल उपाधि उचालिसकेका छन् । उनले १० पटक अस्ट्रेलियन ओपन र तीनपटक फ्रेन्च ओपनको उपाधि चुमेका छन् । उनले सात पटक विम्बल्डनको उपाधि पनि हात पारेका छन् । यसका अतिरिक्त उनले चारपटक यूएस ओपन पनि जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप