बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
विकास बोर्ड नेतृत्वविहीन

को–बन्ला चलचित्र विकास बोर्डको अध्यक्ष ?

फिल्मकर्मीको चाहना : नेपाली मौलिक सिनेमा प्रवर्द्धन, विदेशी चलचित्र व्यवस्थित
सोमबार, १४ साउन २०८१, ११ : ५९
सोमबार, १४ साउन २०८१

काठमाडौँ । चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यतिबेला खाली छ । साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै पद खाली रहेको हो ।

अध्यक्ष पदलाई लिएर अहिले विभिन्न चलचित्रकर्मीले राजनीतिक भेटघाट बढाएका छन् । विशेष गरेर सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस निकटका चलचित्रकर्मीहरू बोर्डको अध्यक्ष बन्ने दौडधुपमा छन् ।

कांग्रेस–एमालेको गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङ छन् । चलचित्र विकास बोर्ड सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको संस्था हो । त्यसैले एमालेभित्रकै चलचित्रकर्मी बढी दौडधुपमा छन् ।

अध्यक्षको दौडमा अहिले विशेष गरेर ५ जना अगाडि देखिएका छन् । सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा बोर्डको अध्यक्ष बन्ने दौडमा अगाडि देखिएका छन् । यी सबै आ–आफ्नो नजिकका नेता तथा शक्ति केन्द्रमा धाइरहेका छन् । अध्यक्षका लागि आवदेन दिने समय अझै बाँकी रहेकाले आकाङ्क्षी बढ्न सक्ने अनुमान गरिएको छ ।

कसको सम्भावना कति ?

बोर्डको अध्यक्षका लागि सबैभन्दा चर्चामा सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी छन् । एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षसमेत रहेका डिसीलाई  जनपक्षीय चलचित्रकर्मी संघले अध्यक्षका लागि सिफारिस गरिसकेको छ । उक्त सिफरिस प्रधानमन्त्री केपी ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अलावा एमाले पार्टी कार्यालयमा पनि पुगेको छ ।

पार्टीले जिम्मा दियो भने केही गरेर देखाउने डिसी बताउँछन् । ‘बोर्डको जिम्मेवारी पाएँ भने केही गरेर देखाउँछु’, उनले भने ।

डिसीसँगै एमालेबाटै अभिनेत्री करिश्मा मानन्धर पनि अध्यक्षका लागि इच्छुक देखिएकी छन् । करिश्मा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकोे आग्रहले पार्टीमा प्रवेश गरेकी हुन् । पूरै जीवन चलचित्र क्षेत्रमा बिताएकाले बोर्डको नेतृत्व गर्ने इच्छा आफूमा हुनु स्वाभाविक रहेको करिश्मा बताउँछिन् । बोर्डमा आफू अध्यक्ष भए सबैलाई समेटेर लाने उनको धारणा छ ।

चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन पनि अध्यक्षका लागि आकाङ्क्षी छन् । उनले पनि अध्यक्षका लागि भित्रभित्र तयारी गरेर आफ्ना नजिकका नेताहरू भेटिरहेको बुझिन्छ । महर्जन निर्माता, वितरक र प्रदर्शकको रूपमा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय छन् ।

त्यस्तै कलाकार, फिल्म निर्देशक नरेश पौडेल पनि अध्यक्ष बन्ने दौडमा छन् । भुवन केसी अध्यक्ष चयनको समयमा दौडमा रहेका उनी नेपाली कांग्रेस निकट फिल्मकर्मी हुन् । बोर्डको अध्यक्षका लागि आफू योग्य रहेको र आफूलाई दिँदा नेपाली फिल्म क्षेत्रको भविष्य राम्रो हुने उनको भनाइ छ ।

सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा पनि अहिले दौडमा छन् । बोर्ड अध्यक्षका लागि उनी विभिन्न नेताहरूलाई भेटिरहेको बताइन्छ ।

फिल्मकर्मीको चाहनामा कस्तो अध्यक्ष ?

चलचित्र विकास बोर्डको अध्यक्ष बनेर अहिलेसम्म थुप्रै व्यक्तिले नेतृत्व गरिसकेका छन् । सुरुका केही अध्यक्ष छोडेर भन्ने हो भने अधिकांशको कामप्रति फिल्मकर्मी असन्तुष्ट छन् ।

विभिन्न महत्त्वाकाङ्क्षी सपना देखाएर अध्यक्ष बन्ने र जाने बेलामा सरकारलाई दोष दिने प्रवृत्ति पूर्वअध्यक्षमा देखिएको छ । हालै दुई वर्षे कार्यकाल बिताएका भुवन केसीले पनि सोही गरे । केसीको कार्यकाल फिल्म क्षेत्रका लागि फलदायी नभएको फिल्मकर्मीको धारणा छ ।

फिल्मका लेखक तथा समीक्षक सामिप्य तिमिल्सेना निर्माण गर्ने भनिएको फिल्म छायाङ्कन स्टुडियोका लागि विभिन्न पोलिसी कार्यान्वयन गर्न सक्ने र बोर्ड स्थापनाका उद्देश्य पूरागर्ने अध्यक्ष अहिलेको खाँचो रहेको बताउँछन् ।

‘अहिले बोर्ड आफ्नो स्थापनाको उद्देश्यबाट भड्किरहेको छ’, तिमिल्सेनाले भने, ‘नेपाली मौलिक सिनेमा, राष्ट्रिय चलचित्र उद्योगको प्रवर्द्धन गर्ने र विदेशी फिल्म वितरणमा व्यवस्थित गर्ने भनेर बोर्ड गठन भएको हो ।’

फिल्म निर्देशक दीपेन्द्र कुमार खनाल चलचित्र विकास बोर्ड स्वायत्त नभएको बताउँछन् । ‘स्वायत्त नहुँदा काम गर्न सक्दैन’, खनाल भन्छन्, ‘अहिले जो आए पनि काम उस्तै हो ।’

उनी विकास बोर्डलाई स्वायत्त बनाउन सक्ने, समय सापेक्ष ऐन ल्याउन सक्ने र नेपाली मौलिक सिनेमा, राष्ट्रिय चलचित्र उद्योगको प्रवर्द्धन गर्ने अध्यक्षको खाँचो रहेको सुनाउँछन् । उनले भने, ‘अबको अध्यक्षले विदेशी फिल्म वितरणमा पनि व्यवस्थित गर्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप