बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

लागुऔषध कारोबार गरेको आरोपमा सात जना पक्राउ

सोमबार, १४ साउन २०८१, १२ : ०६
सोमबार, १४ साउन २०८१

काठमाडौँ । लागु औषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । झापा, बाँके, सिराहा लगायतका जिल्लाबाट ७ जना पक्राउ परेका हुन् । 

झापाको बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना बस्ने २५ वर्षीय सम्बर राई र उनकै भाइ २३ वर्षीय सुरेन्द्र राईलाई ब्राउन सुगर १ ग्राम ५ सय ३० मिलिग्रामसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेकै नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट  ब्राउन सुगर  ८ ग्राम ५ सय मिलिग्रामसहित सुर्खेत गुर्भाकोट नगरपालिका–६ बस्ने २९ वर्षीय प्रकाश केसी पक्राउ परेका छन् । उनलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ
गरेको हो ।

उता, सिराहाको बरियारपट्टी गाउँपालिका–३ हुलाकी सडकबाट  ब्राउन सुगर  १ सय ३ ग्रामसहित गोलबजार नगरपालिका–६ बस्ने २४ वर्षीय विनय सिंह र भारत घर भएका ३४ वर्षीय रोशनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले आइतबार साँझ मधेश प्रदेश ०१–००४ प ९९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका–९ बबिया चोकबाट  १ सय १५ किलो ७ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँघुरिगढी गाउँपालिका–१ बस्ने ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बु रहेका छन् ।

गाँजा बोकेको प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी सशस्त्र प्रहरी बल नेपाल सुनसरीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले गाडीबाट ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक रामकुमार र गाडीमा सवार बुद्धलाई आइतबार साँझ नियन्त्रणमा लिएको छ । सबै घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप