आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

यसका कारण चर्चामा छ श्रीलङ्काली बलर कामिन्दु मेन्डिसको बलिङ शैली

सोमबार, १४ साउन २०८१, १० : ५०
सोमबार, १४ साउन २०८१

काठमाडौँ । हाल भारतीय क्रिकेट टोली श्रीलङ्का भ्रमणमा छ । श्रीलङ्का भ्रमणका क्रममा भारत र आयोजक राष्ट्रबिच तीन वटा टी–२० अन्तर्राष्ट्रिय र तीन वटा टेस्टको शृङ्खला खेलिँदैछ ।

यस क्रममा खेलिएको पहिलो र दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतले श्रीलङ्कालाई हराइसकेको छ । योसँगै भारतले टी–२० शृङ्खला जित्ने पनि पक्का भइसकेको छ ।

भारत पहिलो टी–२० मा ४३ रनले र दोस्रो टी–२० मा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा सात विकेटले विजयी भएको थियो । तेस्रो टी–२० खेल मंगलबार खेलिँदैछ ।

टी–२० शृङ्खला भारतले जित्ने पक्का भइसके पनि यतिबेला श्रीलङ्काली टोलीका बलर कामिन्दु मेन्डिस चर्चाको शिखरमा छन् । पहिलो टी–२० खेलदेखि नै उनको व्यापक चर्चा भइरहेको छ ।

खासमा, भारतविरुद्धको पहिलो टी–२० मा कामिन्दुले एक ओभरमात्र बलिङ गरेका थिए । त्यही एक ओभरमा कामिन्दुले विश्व क्रिकेटमा अनौठो तरिकाले बलिङ गरेका थिए ।

२५ वर्षीय कामिन्दुले दुवै हातले बलिङ गरेर चर्चा बटुलेका हुन् । उनले एक ओभरको ६ बल फरक–फरक हातले फालेका थिए । यद्यपि, विश्व क्रिकेटमा यसअघि पनि यस्तो घटना भइसकेको छ ।

२८ वर्षीयअघि श्रीलङ्का बलर हसन तिलकरत्नेले दुवै हातले बलिङ गरेका थिए । सन् १९९६ को एक दिवसीय विश्वकप भारत, श्रीलङ्का र पाकिस्तानमा संयुक्त रूपमा आयोजना भएको थियो ।

उक्त विश्वकपको केन्याविरुद्धको खेलमा श्रीलङ्काका हसन तिलकरत्नेले यस्तो दुर्लभ बलिङ गरेका थिए । हसन तिलकरत्नेले आफ्नो सक्रिय खेलजीवनमा एक दिवसीय क्रिकेटमा केवल ६ विकेट लिएका थिए । खासमा उनी विकेटकिपर ब्याट्सम्यान थिए ।

कामिन्दु पनि टोलीका अलराउन्डर खेलाडी हुन् । यद्यपि, उनले हालसम्म श्रीलङ्काका लागि धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । उनले केवल तीन टेस्ट, सात एक दिवसीय र १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

भारतविरुद्धको पहिलो टी–२० मा सूर्यकुमार यादव र ऋषभ पन्तले ब्याटिङ गरिरहँदा कामिन्दुले दुवै हातले बलिङ गरेका थिए । उनले बलिङ गर्ने यो शैली अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप