‘केन्द्रमा जे हुन्छ, प्रदेशमा त्यही’
विराटनगर । कोशी प्रदेश सरकारबारे नेपाली कांग्रेस र एमालेबिच केन्द्रमा जे हुन्छ, प्रदेशमा त्यही हुने सहमति भएको छ । प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने कांग्रेसले अडान राखेपछि दुई पार्टीको बैठकले यस्तो सहमति गरेको हो ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच जसरी सहमति भएको छ र सरकार जुन दिन परिवर्तन हुन्छ, त्यही अनुसार कोशी प्रदेशमा पनि हुने सहमति भएको बताए । यद्यपि दुई पार्टीबिच लिखित सहमति भने अहिलेसम्म भएको छैन ।
काठमाडौँमा शनिबार बसेको दुई पार्टीको बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की, दलका उपनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी सहभागी थिए । यस्तै कांग्रेसको तर्फबाट भने दलका नेता उद्धव थापा, कांग्रेस प्रदेशका उपसभापति रमेशजङ्ग रायमाझी र प्रमुख सचेतक गोपाल तामाङ सहभागी थिए ।
‘लिखित सहमति भएको छैन । लिखित सहमति हुन अझै १–२ दिन लाग्न सक्छ ।
कांग्रेस ४ वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको छ,’ तामाङले भने, ‘मुख्यमन्त्री र आलोपालो भन्ने विषयमा भने केन्द्रमा जे हुन्छ, प्रदेशमा त्यही हुन्छ । केन्द्रले २ वर्ष र डेढ वर्ष भन्छ भने यहाँ पनि त्यही हुने भयो ।’
तामाङका अनुसार कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास तथा कृषि मन्त्रालयमध्ये एक मन्त्रालय पाउने भएको छ ।
यस्तै कांग्रेस र एमालेबिच संसदीय समितिको नेतृत्वको विषयमा पनि सहमति भएको छ । ‘विषयगत समितिमा पनि एमालेले ३ वटा र कांग्रेसले २ वटाको नेतृत्व लिने सहमति गरेको छ । बाँकी दुई समितिमा माओवादीको पनि हुनसक्छ,’ तामाङले भने ।
माओवादीले सार्वजनिक लेखा समितिको सभापति पाउने निश्चित छ । तर, अर्को सभापति पाउने नपाउने भन्ने विषयमा भने निर्णय भइनसकेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
भण्डारीले कांग्रेससँग कुनै लिखित सहमति नहुने बताए । ‘लिखित सहमति हुँदैन । समीकरण गरेर जाने भनेको विश्वासको आधारमा हो । केन्द्रमा लिखित गरिसकेको कारण प्रदेशमा अर्को लिखित गरिरहनु जरुरी छैन,’ उनले भने, ‘अबको एक हप्तामा सरकारले पूर्णता पाउँछ ।’
भण्डारीले साउन महिनाभरमा समितिले सभापति पनि पाउने बताए ।
एमालेसँग गरेको सहमतिको विषयमा नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसको पार्टी कार्यालय बरगाछीमा बस्ने बैठकले एमालेसँग भएको सहमति अनुमोदन गर्ने तामाङले बताए ।
‘प्रदेश समितिको कार्यसम्पादन समितिको बैठक विराटनगरस्थित प्रदेश कार्यालयमा सोमबार बिहान ११ बजे डाकिएको छ,’ तामाङले भने, ‘कांग्रेस सरकारमा जाने विषयमा प्रदेश समितिले औपचारिक निर्णय गर्छ ।’
कार्यसम्पादन समितिको बैठकले सरकारमा जानेहरूको नाम भने तय नगर्ने उनले बताए । ‘मन्त्रीको नाम दिने केन्द्रले नै हो, सबैले बुझेकै कुरा हो । केन्द्रबाट त्यस्तो नाम पर्सीसम्ममा आउला कि भन्ने आशा छ । प्रदेशको निर्णयबारे जतिसुकै स्वायत्तताको कुरा गरे पनि केन्द्रले नै तय गर्छ । केन्द्रको पनि दुई जनामा निर्भर हुने देखियो,’ तामाङले भने ।
संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेश सभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् । गत असार १७ गते नयाँ गठबन्धन (एमाले र कांग्रेस) बनेसँगै असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । सोही अनुसार कोशी प्रदेश सरकारमा पनि कांग्रेस सहभागी हुने अन्तिम तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म
-
राष्ट्रपति ट्रम्पलाई रास्वपाले दियो शुभकामना