बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
संसद् भवन

निर्धारित समयमा संसद् भवन नबन्दा भाडामा झण्डै ४५ करोड रुपैयाँ खर्च

नयाँ भवन अर्को वर्षमात्रै तयार हुने
सोमबार, १४ साउन २०८१, ०५ : ४४
सोमबार, १४ साउन २०८१

काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको कामले गति लिन नसक्दा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडा बुझाइरहनु परेको छ । नेपालको संघीय संसद्को आफ्नै भवन नभएपछि र भाडाको भवनमा संसद् चलाउनु परेपछि २०७६ साल असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा रहेको पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए ।

झण्डै ६ अर्ब रुपैयाँमा तुँदीसेक जोइन्ट भेन्चरले ठेक्का लिएको यो भवन शिलान्यासको ३ वर्षमा निर्माण सक्ने लक्ष्य भए पनि निर्माणको काम ५ वर्ष भइसक्दा पनि सम्पन्न हुन सकेको छैन । पटकपटक गरेर समय थप गर्दा साढे २ वर्ष समय लम्बिएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाका अनुसार हालसम्म नयाँ संसद् भवनको ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ भने ७० प्रतिशत आर्थिक प्रगति भएको छ । निर्माण व्यवसायी कम्पनीले गरेको ढिलाइका कारण आगामी चैत १९ गतेसम्मका लागि आयोजनाको समय थप गरिएको छ ।

  • आगामी चैतमा सम्पन्न नभए ठोक्का तोडिन्छ : मचाकाजी महर्जन, आयोजना प्रमुख

निर्माण व्यवसायीलाई २०७९ असोजमा निर्माण सम्पन्न गर्ने मिति दिइएको थियो । पटकपटक म्याद थप गर्दै अब २०८१ चैतसम्म काम सक्ने गरी निर्माण कम्पनीले अन्तिम समय पाएको छ । अर्थात् संघीय संसद् निर्माणको काम झण्डै साढे २ वर्ष ढिला भएको छ । 

नयाँ मन्त्री क्वाटर, गोदावरीको सभाहल लगायतका ठुला सरकारी भवन निर्माणको जिम्मेवारी पाएको विशेष भवन निर्माण आयोजनाका प्रमुख मचाकाजी महर्जनले निर्माण संसद् भवन निर्माणको जिम्मेवारी पाएको कम्पनीलाई अन्तिम पटक म्याद थपिएको जानकारी दिए ।

आगामी चैत १९ गतेसम्म ठेक्का सम्झौता अनुसार सम्पूर्ण काम सम्पन्न गरी ह्याण्डओभर गर्न नसके ठेक्का रद्द हुने बताए ।

उनले भने, ‘भवन निर्माण कार्य छिटो होस् भनेर हामी पनि चिन्तित नै छौँ । निर्माण व्यवसायीको ढोका ढक्ढक्याइरहेका छौँ । बैठक बोलाउने, छलफल गराउने काम गरिरहेका छौँ ।’

बेलाबेला झक्झक्यााउने गरेपछि निर्माण व्यवसायीले समयमै काम सक्छु भनेर प्रतिबद्धता जनाएको  उनले सुनाए । ‘कस्सिएर लाग्नुभयो भने आगामी फागुनसम्म काम सक्नुहुन्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘हामीले अन्तिम पटकलाई भनेर आगामी चैत १९ सम्मका लागि म्याद थपेका छौँ । त्यो नै अन्तिम म्याद थपको मिति हो, त्यसपछि ठेक्का नै तोड्नुपर्ने कानुनी व्यवस्था छ ।’

अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्ने दुवै हलमा इन्टेरियर डिजाइनको काम भइरहेको उनले बताए । वर्षातको समय भएकाले पनि काममा केही असर देखिएको उनको भनाइ छ ।

निर्माण व्यवसायीलाई जनशक्ति थप गरेर निर्धारित समयमा काम सक्न ताकेता गरिरहेको महर्जनले बताए ।

नयाँ संसद् भवनको हालसम्म ८१ प्रतिशत भौतिक प्रगति भएको छ भने अब १९ प्रतिशत काम बाँकी छ । अहिलेसम्म भवन निर्माणको कुल बजेटमध्ये ७० प्रतिशत रकम खर्च भएको छ । भवनको डोमको एउटा काम बाँकी रहेको, हलको इन्टेरियर टोलीले पनि काम गरिरहेको महर्जनले जानकारी दिए । उनले भने, ‘इन्टेरियरको काम अर्कै टोलीलाई दिइएको छ भने मुख्य ठेकेदार टोली अहिले भवनको फिनिसिङमा लागेको छ । फल्स सिलिङ हाल्ने, वालको फिनिसिङ गर्ने काममा लागेको छ ।’

वार्षिक रूपमा तिर्नुपर्ने भाडाबाट मुक्ति पाउनका लागि र संसद्को आफ्नै भवन समेत नभएको अवस्थालाई मध्यनजर गर्दै सिंहदरबार परिसरभित्रै नयाँ संसद् भवन बनाउन थालिएको थियो । तर निर्धारित समयमा नयाँ भवनको काम सम्पन्न नहुँदा संघीय संसद् सचिवालयले साढे २ वर्षको ४५ करोडभन्दा बढी रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । निर्धारित समयमा यदि भवन निर्माण भएको थियो भने यो रकम भाडामा जाने थिएन । संघीयले संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनको रूपमा प्रयोग गरेबापत मासिक १ करोड ५८ लाख रुपैयाँ भाडा तिर्ने सम्झौता छ । संसद् बैठक सञ्चालनका लागि हल भाडामा लिए बापत सचिवालयले वार्षिक १८ करोड रुपैयाँ हाराहारी तिर्दै आएको छ । 

  • नयाँ संसद् भवन निर्माणमा ढिलाइप्रति सभामुख र राष्ट्रिय सभा अध्यक्षको चिन्ता

गत साउन ४ गते सहरी विकास मन्त्री प्रकाशमान सिंह, आयोजनाका पदाधिकारीहरू समेतलाई बोलाएर गरिएको छलफलमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो राखेका थिए । अध्यक्ष दाहालले भवन निर्माणको कामलाई गति दिन आग्रह गर्दै २१ औँ शताब्दीको आवश्यकता अनुसार सुहाउँदो संसद् भवन निर्माणको लागि आग्रह गरेका थिए ।

सोही छलफलमा सभामुख देवराज घिमिरेले गुणस्तरीय ढंगले समयमा काम सम्पन्न गर्न आग्रह गरेका थिए । घिमिरेले बेला बेलामा आयोजना स्थलमा गएर कामको अवलोकन समेत गर्ने गरेका छन् । कामको गति नलिएकोमा सभामुख घिमिरेले चिन्ता व्यक्त गर्दै आइरहेका छन् ।

२०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनको रूपमा प्रयोग गरिँदै आइएको छ । अहिले सिंहदरबारमा नयाँ निर्माण भइरहेको संसद् भवन भने ७३ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप