१० बजे, १० समाचार
आज २०८१ साउन १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा निलम्बित मुख्य सचिव भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा, सौर्य एयरलाइन्स दुर्घटना प्रकरण : बीमा भुक्तानी गर्न कम्पनी तयार, पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर, कांग्रेस–एमाले सरकार : सुशासनको यात्रा कति सार्थक ?, ०८४ मा एक्लै चुनाव लडेर जित्ने प्रचण्डको दाबी, नेकपा एकीकृत समाजवादीका पदाधिकारी छान्न सकस, पोखरामा आन्दोलित यातायात व्यवसायी र सरकारबिच सहमति, सेयर बजार ११३ अङ्कले बढ्यो लगायत छन् ।
१. निलम्बित मुख्य सचिव भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा
निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
२. सौर्य एयरलाइन्स दुर्घटना प्रकरण : बीमा भुक्तानी गर्न कम्पनी तयार
सौर्य एयरलाइन्स दुर्घटनामा यात्रु बीमा बापतको रकम छिटोभन्दा छिटो उपलब्ध गराउन कम्पनी तयार भएको छ । दुर्घटनाको सन्दर्भमा र यात्रु बीमा दाबी भुक्तानीको सन्दर्भमा आइतबार प्रतिनिधि सभालाई जानकारी दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा भएको र उक्त इन्स्योरेन्सले बेलायतस्थित लोयर्ट रिइन्स्योरेन्समा रिइन्स्योरेन्स गरेको बताए ।
३. पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर
सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो ।
४. कांग्रेस–एमाले सरकार : सुशासनको यात्रा कति सार्थक ?
नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकारले सुशासनको दिशामा चालेको कदमप्रति विज्ञहरूले आशंका व्यक्त गरेका छन् । सरकारको मूल्याङ्कन गर्ने समय भइनसके पनि केही विषय र प्रसङ्गले सरकारको काम कारबाही सुशासनप्रति केन्द्रित नदेखिएको उनीहरूको भनाइ छ ।
५. ०८४ मा एक्लै चुनाव लडेर जित्ने प्रचण्डको दाबी
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
६. नेकपा एकीकृत समाजवादीका पदाधिकारी छान्न सकस
नेकपा एकीकृत समाजवादीका पदाधिकारी छान्न सकस भएको छ । केन्द्रीय समिति छान्न सकस भएको सो पार्टीमा पहिला केन्द्रीय समितिलाई पूर्णता दिने र त्यसपछि पदाधिकारी छान्ने मोटामोटी सहमति भएको छ ।
७. पोखरामा आन्दोलित यातायात व्यवसायी र सरकारबिच सहमति
पोखरामा आन्दोलित यातायात व्यवसायी र सरकारबिच सहमति भएको छ । राइड सेयरिङको विरोध गर्दैै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।
८. सेयर बजार ११३ अङ्कले बढ्यो
मौद्रिक नीतिको प्रभाव सेयर बजारमा स्पष्ट रूपमा देखिएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार अन्तिमसम्ममा ११३.४२ अङ्क बढेर बन्द भएको हो ।
९. युरोप, अस्ट्रेलियाको भिसा पाएपछि दुबईको कार्यक्रम छाडे कलाकारले
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको पूर्वनिर्धारित कार्यक्रम केही कलाकारले अन्तिम समयमा रद्द गरेपछि आयोजक आक्रोशित बनेका छन् । युरोप, अस्ट्रेलिया जस्ता देशको भिसा निश्चित भएसँगै खाडी देशलाई हेपेर उनीहरूले यूएईको कार्यक्रम अन्तिम समयमा रद्द गरेको भन्दै आयोजक आक्रोशित बनेका हुन् ।
१०. के गर्दैछ राष्ट्रिय अनुसन्धान विभाग ?
गुप्तचर भनेर चिनिने राष्ट्रिय अनुसन्धान विभाग पुरानो संगठन हो । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता बचाउन तथा आन्तरिक सुरक्षा कायम गर्न विभागले गुप्तचर (इन्टेलिजेन्स) सम्बन्धी काम गर्छ । सूचना सङ्कलन र विश्लेषण गर्ने संयन्त्र कमजोर भएको भनेर बेला–बेलामा प्रश्न उठिरहन्छ । तर, राज्यले सो संयन्त्रलाई बलियो बनाउने गरी लगानी गरेको छैन । २००८ सालमा स्थापना भएको विभागमा २ हजार २६५ जना कर्मचारी कार्यरत छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
-
बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !