बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
ललितपुरको छेडा घटना

खुकुरी प्रहार गर्ने योजनामा संलग्न आयुष्मानलाई सरकारी वकिलको उन्मुक्ति

आइतबार, १३ साउन २०८१, १९ : ३९
आइतबार, १३ साउन २०८१

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित छेडामा असार ७ मा पाँच जना युवाले मनोज बानियाँलाई खुकरी प्रहार गरे । खुकुरी प्रहारबाट बानियाँको नाडी, हत्केलाको पछाडिपट्टीको भाग र हिपमा गहिरो चोट लागेको थियो ।

नाडी र हत्केलाको भाग करिब छिन्न लागेको अवस्थामा उनलाई आफ्ना कामदारले अस्पताल लगेका हुन् । बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका थिए । बानियाँमाथि रिसोर्टभित्र आक्रमण भएको थियो ।

आक्रमणमा संलग्न दिपक वान्तवा, विभाग गुरुङ उर्फ धराने, आयुष्मान अधिकारी, राजेश केसी, सुरेन्द्र महर्जन र अलिङ्क लामिछाने पक्राउ परे । भैंसेपाटी घर भएका राजेश केसी र बानियाँ छिमेकी हुन् । ‘पुरानो रिसइबी’को कारण बानियाँमाथि राजेशको समूहले योजनाबद्ध खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

आक्रमणमा संलग्न दिपक गुरुङ धनकुटाबाट खुकुरी हान्नकै लागि ललितपुरमा आएको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदी भन्छन्, ‘योजनाबद्ध खुकुरी प्रहार भएको देखिन्छ ।’ घटनामा संलग्न ३ जना अझै फरार छन् ।

पक्राउ परेका ६ जनासहित ९ जनालाई प्रहरीले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा बुझाएको छ । तर, सरकारी वकिल कार्यालय ललितपुरले आयुष्मान अधिकारीलाई प्रतिवादी कायम नगर्ने निर्णय गरेको छ ।

उनलाई ‘हिरासत मुक्त गर्नु’ भन्दै सरकारी वकिल कार्यालयले ललितपुर प्रहरीलाई पत्राचार गरेको छ । वकिलको पत्रको आधारमा अधिकारी रिहा भइसकेका छन् ।

आयुष्मान अधिकारी अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका नाति हुन् । ‘शक्तिकेन्द्र’को अनुचित दबाबमा उनीविरुद्ध मुद्दा नचलाएको आरोप छ । हात्तीगौंडा घर भएका अधिकारी योजना बनाउने र घटनास्थल ‘बतासे कटेज’मा पुगेर रेकी गर्ने काममा संलग्न थिए । आयुष्मान घटनास्थलमा गएको र भैंसेपाटीस्थित ‘साम्स क्याफे’ बसेर योजना बनाउने काममा संलग्न रहेको तथ्य प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आयुष्मानले प्रहरीसँग स्वप्निल भण्डारीले आग्रह गरेपछि घटनास्थलमा गएको बताएका छन् । तर, सरकारी वकिल कार्यालयले उनलाई उन्मुक्ति दिएको छ ।

सो घटनाको फाइल हेर्ने सहायक जिल्ला न्यायाधिवक्ता मदनराज चौलागाईले उनलाई मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

आयुष्मान घटनास्थलमा नपुगेको जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख लोकबहादुर कटुवालले दावी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै जिल्ला न्यायाधिवक्ता कटुवालले भने, ‘कसैले पोल पनि नगरेको हुनाले मुद्दा नचलाउने निर्णय गरिएको छ ।’

तर, आयुष्मान घटनास्थलमा गएको र योजना बनाउने छलफलमा संलग्न रहेको कुरा पक्राउ परेकाहरूले बयान दिएका छन् । आयुष्मानले पनि प्रहरीसँगको बयानमा भनेका छन्, ‘स्वप्निलले भनेर घटना स्थलमा गएको हुँ ।’

घटनामा संलग्न स्वप्निल भण्डारी फरार छन् । उनी मुख्य योजनाकार राजेश केसीका सहोदर भाञ्जा हुन् । स्वप्निल र आयुष्मान साथी हुन् ।

मोही र तल्सिङको विवाद खुकुरी प्रहारसम्म

भैंसेपाटीमा बस्ने मनोज बानियाँ र राजेश केसी छिमेकी हुन् । उनीहरूको बिचमा लामो सयमदेखि जग्गाको मोही र तल्सिङको विवाद छ । बानियाँ मोही र राजेशका बुबा गोकुल केसी तल्सिङ हुन् ।

जग्गा छुट्याउने विवाद नटुङ्गिएपछि २०८१ जेठ २६ मा बानियाँले राजेशलाई मुक्का प्रहार गरेका थिए । तर, सो घटना प्रहरीकहाँ आएन । राजेश केसी भैंसेपाटी क्षेत्रमा ‘बाबा’ भनेर चिनिन्छन् ।

प्रहरीका अनुसार आफुमाथि मुक्का प्रहार गरेपछि राजेशले उनलाई आक्रमण गर्नेबारे आफ्नो समूहमा छलफल गरे । असार ६ मा राजेशका निकटहरूले बानियाँको घर घेरे । तर, घर घेरिरहेको बेला प्रहरी पुगेपछि त्यसदिनको योजना विफल भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘त्यसपछि असार ७ मा आक्रमण गरेका हुन् ।’

घटनास्थलमा धराने, बान्ते, प्रविण महत, सुजन श्रेष्ठ र च्याङ्बाले खुकुरी हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । स्वप्निल, आयुष्मान र आलिङ्क लामिछाने घटनास्थलमा रेकी गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।

आक्रमणपछि राजेश केसीलाई गाडीमा थानकोट लगेर छाडिदिने सुरेन्द्र महर्जनलाई पनि मतियार बनाएर मुद्दा दायर गरिएको छ । तर, आयुष्मानलाई चाहिँ उन्मुक्ति दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप