बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न– दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छ कि लिँदैन ?

आइतबार, १३ साउन २०८१, १८ : ५९
आइतबार, १३ साउन २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले सौर्य एयरलाइन्सको जहाज दुर्घटना तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्दै उनले  दुर्घटनाको नैतिक जिम्मेवारी लिएर आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने सुझाव समेत दिए । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले दुर्घटनाको नैतिक जिम्मेवारी लिँदै मन्त्रीले राजीनामा दिनुपर्ने बताए । यस्तो दुर्घटना हुँदा एउटा छानबिन समिति बनाउने र निरीह कर्मचारीलाई कारबाही गरेर मात्रै नहुने बताउँदै उनले प्राधिकरणलाई अस्तव्यस्त बनाउने मन्त्रीले किन राजीनामा दिनुहुँदैन भन्ने प्रश्नको जवाफ समेत उनले माग गरे । 

यही साउन ९ गते काठमाडौँमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका साथै दुई साता अघि सिमलतालमा भएको दुर्घटनाको नैतिक जिम्मेवारी सम्बन्धी मन्त्रीले लिनुपर्ने र उनीहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनले सुझाव दिए । 

‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ? ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’ साहले प्रश्न गर्दै भने । 

उनले सरकार वास्तवमा जनउत्तरदायी हो भने जहाज दुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । उनले जहाज दुर्घटनालगत्तै सरकारले उद्धार तथा राहतको लागि तदारुकता देखाएकोमा धन्यवाद ज्ञापन गरे । साथै बस दुर्घटनामा सरकार जिम्मेवार तरिकाले नलागेकोमा उनले आपत्ति समेत व्यक्त गरे । 

सिमतालमा भएको बस दुर्घटनाको घट्नाको विषयमा पीडित परिवारलाई राज्यले बेवास्ता गरेको उनको आरोप थियो । उनले अहिलेसम्म २५ जनाको मात्रै शव भेटिएको र बाँकी शवको पनि टुँगो नलागेकोमा राज्य त्यहाँ नदेखिएको गुनासो पोखे । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सवालमा पनि राज्य चुकेको उनको आरोप छ । पीडित परिवारले राज्यबाट कुनै क्षतिपूर्ति नपाउनुका साथै बीमाको रकम पाउन पनि पीडित परिवार हारगुहार गरिरहेको तर सरकारले नसुने जस्तो गरेको उनले बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप