बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘तीन तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिँदा आयात बढ्दै गयो’

आइतबार, १३ साउन २०८१, १६ : ३१
आइतबार, १३ साउन २०८१

काठमाडौँ । तीन तहको सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिँदा कृषिजन्य उपजहरूको आयातमा वृद्धि हुँदै गएको सरोकारवालाले बताएका छन् ।

खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज)को संयुक्त आयोजनामा गरिएको कृषिको समकालिन अवस्थामाथि पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले मुलुकमा भएको बढ्दो आयात र कृषिजन्य उपजको उत्पादनमा भएको कमीले देशमा आर्थिक संकट पनि बढ्दै गएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशकी सांसद विमला पोख्रेलले तीनै तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकता नदिँदा देशभित्र समस्या बढ्दै गएको बताइन् । उनले राजनीतिक विचारका कारणले गर्दा पनि कृषि क्षेत्रको विकास हुन नसकेको बताइन् । उनले भनिन्, “हाम्रो तीन तहका निकायमा विभिन्न राजनीतिक विचार भएका व्यक्तिहरू हुनुहुन्छ । त्यसकारण एउटाले गरेको निर्णय अर्कोले खारेज गर्दा दिगो कृषि विकास भएको छैन, यसलाई हामीले विचार गर्नुपर्छ ।” उनले पत्रकारहरूले कृषि क्षेत्रका नकारात्मक समाचारलाई भन्दा पनि कृषि क्षेत्रमा भएका सफलताका कथालाई समेत प्राथमिकता दिन आवश्यक रहेको बताइन् ।  

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सरकारको दिगो योजना नहुँदा कृषि क्षेत्रमा भनेजस्तो प्रगति नभएको बताए । उनले आजभन्दा ४० वर्षअघि सरकारले कृषि क्षेत्र र आवास क्षेत्रलाई वर्गीकरण गरेको भए कृषि उत्पादनमा वृद्धि हुने दाबी गरे । उनले आम नागरिकलाई छिटोभन्दा छिटो सम्पन्न हुने हुटहुटी भएकाले कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्ने दीर्घकालीन सोच नराखेको समेत बताए । उनले भने, “स्थानीय तहहरूले कृषि क्षेत्रलाई मुख्य अधार बनाएर अघि बढाए देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ र आयात समेत रोकिन्छ ।” आधिकारीले राज्यले कृषि क्षेत्रतर्फ बनाउने नीतिमा समेत ध्यान नदिएको आरोप लगाए ।  

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि क्षेत्रमा समस्याहरू विकराल रहेको बताउँदै अगामी दिनमा अझै ठुलो छलफलको आवश्यकता रहेको बताए । उनले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरे देशको आर्थिक अवस्था समेत मजबुत हुने र आयात प्रतिस्थापन हुने दाबी गरे ।  

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पंचकाजी श्रेष्ठले राज्यका तीन तहका सरकारले कृषि क्षेत्रलाई कम प्राथमिकता नदिँदा कृषिमा क्रान्ति नभएको बताए । उनले पत्रकारले खोज मूलक कृषि सामाग्रीहरू पस्किन र राज्यको ध्यानाकर्षण गर्नको लागि निरन्तर कलम चलाउन समेत आग्रह गरेका थिए ।

किसान एवं पूर्वपत्रकार नारायण वाग्लेले सरोकारवालाले किसानको मुद्दाको विषयमा बहस गरेर यसलाई निरन्तर दिन आवश्यक रहेको बताए ।  

कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले स्थानीय स्रोत साधनमा आधारित परम्परागत एकीकृत खेती प्राणीलाई उन्नत बनाउने मार्गचित्र मुख्य प्रस्थानविन्दु रहेको बताए । उनले मुलुकलाई आधारभूत खाद्यवस्तुमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवर्द्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुन समेत आग्रह गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरि केसीले मिडियाले विगतदेखि नै समाज परिवर्तनको भूमिका खेलेकाले कृषिमा पनि परिवर्तनको लागि भूमिका खेल्न आग्रह गरे । उनले तीन तहका सरकारमा अधिकार र कर्तव्य जाँदा कुन तहले के कुरामा प्राथमिकता दिएको छ भन्ने विषयमा समीक्षा गर्न समेत आवश्यक रहेको बताए ।

अनाजका अध्यक्ष किरण आचार्यले सञ्चारकर्मीहरूले कृषि क्षेत्रको विकासको लागि निरन्तर कलम चलाएको र अगामी दिनमा सरोकारवालाहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप