सत्ताच्युत भएपछि माओवादी सघन छलफलमा, कसरी हुन्छ पार्टी निर्माण ?
काठमाडौँ । करिब १९ महिनामा सत्ताच्युत भएपछि अहिले माओवादी केन्द्रभित्र वर्तमान परिस्थिति र पार्टी निर्माण सम्बन्धमा गम्भीर बहस भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको कमजोरी, विचारको विकास, पार्टी निर्माणमा आगामी योजनाबारे गम्भीर समीक्षा भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
‘वर्तमान परिस्थिति र पार्टी निर्माणमा गम्भीर बहस केन्द्रित भइरहेको छ । अध्यक्षले वैचारिक, राजनीतिक, सैद्धान्तिक सबै कुरा राख्न खुला गर्नुभएको छ । अहिलेसम्म बहसको निष्कर्ष अब पार्टीको सङ्घर्षका रूपहरू कस्ता हुन्छन् ? सदन र सडकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? जनपरिचालनको रूप कस्तो हुन्छ भन्ने दृष्टिकोणबाट आइरहेका छन्, प्रवक्ता सापकोटाले भने, ‘यसलाई आगामी स्थायी समिति बैठकले खाका तयारी गर्नेछ । केन्द्रीय समिति बैठकले नयाँ योजना बनाएर अगाडि बढ्नेछ ।’
असार १७ गते दुई ठुला दल कांग्रेस र एमाले मिलेर माओवादी नेतृत्वको सरकार ढाल्नेदेखि संविधान संशोधनको मुद्दा अगाडि बढाउनेसम्म ७ बुँदे सहमति गरेका थिए । सोही सहमतिको जगमा अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ मतसहित प्रधानमन्त्री भएका छन् । २०७२ सालमा संविधान जारी भएपछि कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ता लाभ लिएको माओवादी १० वर्षपछि प्रतिपक्षमा पुगेको हो ।
यसले एकातिर दुई ठुला दल कहिल्यै मिल्न नसक्ने अनुमान गरेको माओवादी पछिल्लो सत्ता समीकरणबाट ठुलो धक्का महसुस गर्दैैछ । अर्कोतर्फ सुशासन, सामाजिक न्याय, समृद्धिको मुद्दा लिएर जनतामा जाने अवसर प्राप्त भएको माओवादीको बुझाइ छ ।
खासगरी सत्ता केन्द्रित राजनीतिले शिथिल भएको माओवादी अहिलेकै नेतृत्व र संगठनबाट फेरि तङ्ग्रिन सक्छ कि सक्दैन भन्ने ठुलो प्रश्न खडा भएको छ । नेताहरूको जीवनशैली, आचरण, व्यवहारका कारण पछिल्लो समय माओवादीले निकै आलोचना खेप्नुपरेको छ ।
शान्ति प्रक्रियामा आएको १८ वर्षमा सङ्क्रमणकालीन न्याय नटुङ्गिदा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्गता भएका योद्धाहरूको व्यवस्थापन हुन नसक्दा मुद्दा निकै पेचिलो बन्दै गएको छ । नेताहरू सत्ताको नजिक र जनतासँग टाढा हुँदा साङ्गठनिक संरचना लुलो भएको छ । विचारमा विचलन आउँदा भुत्तो भएको नेताहरूले निष्कर्ष निकालेका छन् ।
पार्टीका सचिव राम कार्की अब ठोस परिस्थितिको ठोस विश्लेषण गरी विचारको विकास गर्नुपर्ने र सोही बमोजिम पार्टी निर्माण गर्नुपर्नेमा जोड दिन्छन् ।
‘मार्क्सवादीहरूले विचारको आन्दोलन भनेको ठोस परिस्थितिको ठोस विश्लेषण भन्छन् । अहिलेको अवस्था के हो, पहिला त्यसलाई चिन्नुपर्छ । समाजवादी क्रान्ति गर्ने अवस्था हो कि ? अहिलेकै पुँजीवादी व्यवस्थालाई अगाडि बढाउने हो ? त्यसमा स्पष्ट हुन जरुरी छ’, कार्कीले भने, ‘विचारको विकास भनेकै पहिला ठोस परिस्थितिको ठोस विश्लेषण हुनुपर्छ । अहिलेको स्थितिमा हाम्रो वर्ग (मदजुर, किसान)को उत्थान वा माथि पर्ने के कार्यक्रम हुन सक्छ ? त्यही हो विचारको बहस ।’
पार्टी यो हालतमा किन पुग्यो ? वर्गसँग पार्टीको सम्बन्ध किन टुट्यो ? माओवादीलाई एक्ल्याउने आँट कांग्रेस र एमालेले किन गरे भन्ने सवालमा खुला रूपले बैठकमा गम्भीर छलफल भइरहेको कार्कीले दाबी गरे ।
‘माओवादीलाई कांग्रेस र एमालेले एक्ल्याउने आँट किन गरे ? जबकि एजेण्डा सबै माओवादीका हुन् । गणतन्त्र, सङ्घीयता र समावेशी माओवादीको एजेण्डा हो । यी राजनीतिक मुद्दाहरूको क्याम्पेनलाई अलग गरेर अगाडि बढ्ने कांग्रेस र एमालेको आँट कसरी आयो ? त्यसमा समीक्षा गर्दैछौँ’, उनले भने ।
अरु बेला बोलिसक्नु वा छोइसक्नु नभए पनि ओरालो झरेकै बेला कम्युनिस्ट पार्टीमा चेत खुल्ने गरेको उनले नेतृत्वमाथि व्यङ्ग्य गरे । जे भए पनि अहिले विचारको विकार र पार्टी निर्माणबारे खुला छलफल भइरहेको कार्कीले जानकारी दिए । अहिलेकै नेतृत्व र संगठनबाट विचारको विकास र पार्टी निर्माण हुनेमा उनी विश्वस्त हुन सकेका छैनन् ।
प्रवक्ता सापकोटाले १६ वर्षदेखि २५ वर्ष उमेरका करिब ६१ लाख जनसङ्ख्यालाई जनयुद्ध, गणतन्त्रात्मक आन्दोलनबारे जानकारी दिन नसक्दा पार्टी कमजोर भएको निष्कर्ष निकाले । यद्यपि बैठकमा वैचारिक र राजनीतिक बहसबाहेक नेतृत्वको विकल्पमा कुरा नउठेको उनले दाबी गरे ।
‘अहिले वैचारिक र राजनीतिक बहसबाहेक नेतृत्वको विकल्पमा कुरा उठेको छैन । बाहिर जसरी नेतृत्वको विकल्पमा बहस ल्याउन खोजिएको छ, बैठकमा त्यसबारे छलफल भएको छैन’, उनले भने ।
सापकोटाले अबको आन्दोलन वैज्ञानिक समाजवादी आन्दोलन भएकाले त्यसमा प्रस्ट व्याख्या हुनुपर्ने बताए । पार्टीको आगामी लक्ष्य जनगणतन्त्र भएकाले अहिलेको समग्र विश्वपरिस्थिति, क्षेत्रीय परिस्थिति, भूराजनीतिक, देशभित्रको शक्ति सन्तुलन हेरेर आगामी योजना बनाउने बताए ।
‘यी सबै हेरेर अहिले बुर्जुवा गणतन्त्रमा रोकिने कुरा भइहाल्यो । अघि बढ्ने कुरामा यो सङ्क्रमणकाल कति समय रहन्छ भन्ने कुरा आगामी राजनीतिक शक्ति सन्तुलनले निर्धारण गर्छ’, सापकोटाले भने ।
साथै उनले एमालेसँग इमानदारिता, निष्ठाका साथ स्वाभाविक प्राकृतिक खालको वामपन्थी एकता र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने प्रस्ताव गरिएको दाबी गरे । तर कांग्रेससँग समीकरण भत्काउनु ठिक थियो कि थिएन भन्ने विषयमा बैठक निष्कर्षमा पुगेपछि मात्र भन्न सकिने सापकोटाले बताए ।
बैठकको पहिलो दिन आ–आफ्ना भनाइ राखेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायत नेताहरूले पछिल्लो परिस्थितिको ठोस विश्लेषण गरी विचार विकास गर्नुपर्नेमा जोड दिएका थिए । श्रेष्ठ र पुनले माओवादी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना भएको प्रस्ट पारेका थिए । उनीहरूले लामो समय सत्तामा बस्दा पार्टी बिग्रिएकाले रुपान्तरणका लागि अब जनतामा जानुपर्ने धारणा राखेका थिए ।
‘सरकारले सुशासनको पक्षमा निर्मम ढङ्गले अगाडि बढ्दा आत्तिएका कांग्रेस र एमाले भ्रष्टाचार, विकृतिलाई ढाकछोप गर्नका लागि एक ठाउँमा आइपुगे । सरकारमा बसेर राम्रो काम गर्दागर्दै १० वर्षपछि प्रतिपक्षमा पुग्ने अवसर प्राप्त गरेका छौँ । अब नयाँ परिस्थितिमा पार्टीले गम्भीर समीक्षा गरी विचारको विकास गरी पार्टी निर्माणका लागि फेरि जनतामा जानुपर्छ’, उपमहासचिव पुनले भने ।
उपाध्यक्ष पम्फा भुसालले समाजवादी विचारको विकास र पार्टी निर्माणका गम्भीर छलफल भएकाले सोही बमोजिमको आगामी योजना आउने बताइन् । शनिबार आफ्नो धारणा राखेकी उनले सबैको जोड पार्टी निर्माण र विचारको विकासमा रहेको जानकारी दिइन् ।
‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा खुला र गम्भीर छलफल भइरहेको छ । सबैको जोड विचारको विकास र पार्टी निर्माणमा रहेको छ । विचारको संश्लेषण गरी पार्टीले आगामी योजना बनाउने छ’, उनले भनिन् ।
उपमहासचिव मात्रिका यादवले पनि विचारको विकास र पार्टी निर्माणमा जोड दिनुपर्ने कोणबाट सबैको धारणा आइरहेको बताए । पहिला पार्टीलाई बलियो बनाउने र त्यसपछि विचार मिल्नेसँग एकता, सहकार्य गरेर अगाडि बढ्ने उनले स्पष्ट पारे ।
‘आफ्ना कमीकमजोरी सुधारेर विचारको विकास गर्ने, पार्टी निर्माणमा जोड गर्ने । मुख्यतः आफ्नो पार्टी बलियो बनाउने, त्यसपछि एकतामा आउनेसँग पनि एकता गर्ने । मोर्चा पनि बनाउने, सहकार्य पनि गर्ने, यी सबै विषय खुला राख्नुपर्छ । आगामी दिनमा सरकारले कस्तो नीति लिन्छ, सोही अनुसार पार्टी अगाडि बढ्छ’, यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई