आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

‘सौर्य एयरलाइन्स दुर्घटनामा छानबिन गर्नुपर्ने व्यक्तिको भिनाजुलाई किन छानबिन समितिमा राखेको ?’

आइतबार, १३ साउन २०८१, १४ : २६
आइतबार, १३ साउन २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्स विमान दुर्घटनामा छानबिन गर्नुपर्ने पहिलो व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै अध्यक्ष लिङ्देनले समितिको निष्पक्षतामाथि नै प्रश्न उठाएका हुन् ।

लिङ्देनले भने, ‘छानबिन समितिको गठनमा नै प्रश्न उठेको छ । सौर्य एयरलाइन्स दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिलो आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगमा राखिएको छ । यसरी एउटै व्यक्तिलाई किन पटक–पटक छानबिनको जिम्मेवारी दिइन्छ ?’

सौर्य एयरलाइन्सको दुर्घटनामा केही गम्भीर प्रश्नहरू उठेको उनको भनाई थियो । विमानलाई सी–चेकका लागि पोखरा नै लानु पर्ने, काठमाडौँमा नहुने, के कारण थियो ? काठमाडौँमा त्यो हुन सक्ने हो कि होइन ? भन्दै लिङ्देनले प्रश्न गरे ।

नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स र नेपाल आर्मीको ह्याङ्गरमा यो सी चेक गराउने सुविधा दिन सकिन्थ्यो कि सकिँदैन थियो र यसका लागि प्रयत्न भयो कि भन्नेमा नियामक निकाय, मन्त्रालय र सबैको ध्यान जान जरुरी रहेको उनको भनाई थियो ।

‘योसँग सँगै त्यति ठुलो सङ्ख्यामा कर्मचारीहरू जानुपर्ने, त्यसमाथि पनि गैरप्राविधिकहरु जानुपर्ने आवश्यकता थियो कि थिएन ?,’ उनले प्रश्न गरे, ‘उडान अनुमति दिनुभन्दा अघि को–को जाँदैछन् र कति जना जाँदैछन् भन्ने हेर्ने कुनै निकाय थियो कि थिएन ? हेर्नुपर्थ्यो कि पर्थेन ? असम्बन्धित मानिसहरू कसरी गए ?’

सौर्य एयरलाइन्स दुर्घटनाको घटनाक्रमलाई हेर्दा नियामक निकायको लापरबाही देखिएको उनको भनाई थियो ।  यसअघि पोखरा विमानस्थलमा पनि जडान हुनुपर्ने सबै प्रविधि जडान नभई पोखरा विमानस्थललाई उडानका लागि योग्य भनिएकोमा पनि उनले प्रश्न उठाए । विश्वमा हवाई उडन यात्राका लागि सबैभन्दा सुरक्षित माध्यम मानिए पनि नेपालमा असुरक्षित र सबैभन्दा भयावह रहेको उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप