शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

युरोप–अस्ट्रेलियाको भिसा लागेपछि कलाकारले गरे यूएईमा कार्यक्रम रद्द, प्रतिकारको चेतावनी

आइतबार, १३ साउन २०८१, १२ : २२
आइतबार, १३ साउन २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको पूर्वनिर्धारित कार्यक्रम केही कलाकारले अन्तिम समयमा रद्द गरेपछि आयोजक आक्रोशित बनेका छन् । युरोप, अस्ट्रेलिया जस्ता देशको भिसा निश्चित भएसँगै खाडी देशलाई हेपेर उनीहरूले यूएईको कार्यक्रम अन्तिम समयमा रद्द गरेको भन्दै आयोजक आक्रोशित बनेका हुन् । 

चर्चित लोक दोहोरी गायक राजु परियार, गायिका सुनिता बुढा क्षेत्री र रीता थापा मगरले अर्को देशको भिसा लागेको भन्दै गैरजिम्मेवार तरिकाले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेको आयोजकहरूको भनाइ छ । 

परियारलाई सैनामैना सेवा समाज यूएईले कार्यक्रमका लागि निमन्त्रण दिएको थियो । तर, उनले युरोपका ३ देशबाट अफर आएको भन्दै यूएईको कार्यक्रम रद्द गरेको भन्दै समाजले विज्ञप्ति नै जारी गरेर आक्रोश पोखेको छ । 

2751a8ef-1133-498e-bd8f-f873d08f876e

असहाय एवं विपन्न विद्यार्थीहरूको शैक्षिक विकासका लागि अक्षयकोष स्थापनार्थ तीजको अवसरमा आयोजित ‘तीज विशेष सांस्कृतिक धमाका २०२४’ का लागि अगस्ट २५ मा परियारको उपस्थितिमा प्रस्तुति रहने निश्चित भएसँगै सम्पूर्ण तयारी पूरा भएको अवस्थामा अन्तिम समयमा गैरजिम्मेवार बनेर उनले कार्यक्रम स्थगित गरेको भन्दै विज्ञप्तिमार्फत आपत्ति प्रकट गरिएको छ ।

कार्यक्रम संयोजक केशव भट्टराई, अध्यक्ष विष्णु प्रसाद पन्थी र महासचिव सुरेन्द्र परियारले जारी गरेको विज्ञप्तिमा कलाकारले विभेदजन्य व्यवहार सहित खाडी मुलुक र त्यहाँ कार्यरत नेपाली दर्शक श्रोताहरूको भावनामै खेलबाड गरेको आरोप लगाइएको छ ।  ‘खाडी मुलुकको कार्यक्रमलाई लत्त्याउँदै युरोपबाट अफर आएको भन्दै ३ देशको कार्यक्रममा जानुपर्ने भनेर यहाँको कार्यक्रम रद्द गरिनु यहाँका सबै नेपालीहरुप्रतिको धोका नै हो’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आगामी दिनमा युएईमा हुने कुनै पनि कार्यक्रममा परियारको उपस्थिति रहेमा अनुशासित तवरबाट विरोध सहित प्रतिकार गर्ने चेतावनी समेत दिइएको छ । 

यसैगरी वालिङ समाज स्याङ्जा, युएइले तिज विशेष कार्यक्रममा गायिका सुनिता बुढा क्षेत्रीलाई निमन्त्रण गरेर आउने निश्चित भएको बताएको छ । सोहीअनुसार आगामी १८ अगस्त हुने कार्यक्रमका लागि सबै तयारी अघि बढिसकेपनि उनले अस्ट्रेलियाको भिसा लागेको भन्दै खाडी देश तथा खाडीका दर्शक श्रोताहरूलाई नजरन्दाज गरेको आयोजकले विज्ञप्तिमार्फत आरोप लगाएको छ । 

अध्यक्ष सूर्य गोतामेसहितले जारी गरेको विज्ञप्तिमा उनी आगामी दिनमा  युएइको कुनै पनि कार्यक्रममा आएमा अनुशासित ढंगले सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिइएको छ । 

103def7a-be94-4e9c-83c9-d9049edb1506

यस्तै कास्की आदर्श समाज यूएईले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष समेत रहेकी रीता थापालाई निम्ता गरेर आवश्यक प्रचार प्रसार थालेको थियो । तर उनले अहिले आफू अन्य देशमा जानुपर्ने भएकाले नआउने बताएको आयोजकले गुनासो गरेका छन् । 

तर, रीताले भने आयोजकसँग आफ्नो सिधैकुरो भएको नभएको जिकिर गरिन् । ‘ पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने दाइले समय मिलेसम्म मिलाउने र  अहिलेलाई पोष्टर बनाउँदै गर भनेर मेरो फोटो पठाउनु भएको रहेछ’, उनले भनिन्, ‘मसँग पुरुषोत्तम दाइले कुरा गर्दा समय मिलेन । त्यसपछि फोटो हटाउन लगाइदिनु भनेको थिएँ ।’

5920d96b-6990-4ad9-a593-add04ddb04c1

केही दिन अगाडि मगर संघ क्षेत्रीय समिति दुबईको आयोजनामा त्यहाँ जाँदा पनि आयोजकसँग भेट भएपनि सेप्टेम्बरमा हुने भनिएको कार्यक्रमका लागि कुनै सम्झौता नभएको उनको भनाइ छ । ‘अहिले आउनु भएन, युरोप क्यानडा लगायत भिसा लाग्यो भनेर भन्नु भएको छ । त्यो गलत हो र राम्रो पनि होइन’, उनले भनिन् ।   

कलाकारले यूएईलाई प्राथमिकता नदिएको भनेर यूएईमा रहेका नेपालीहरूमाझ चर्चा परिचर्चा चलेकै बेला गैरआवासीय नेपाली संघ, यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले यूएईलाई अपमान गर्नेहरुमाथि लोक तथा दाहोरी गीत प्रतिष्ठानले कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिष्ठान यूएईको सल्लाहकार समेत रहेका उनले सामाजिक सञ्जालमार्फत खाडीलाई हेपेर डलरमा बिक्नेहरूको संस्थामा नबस्ने भन्दै अलग भएको घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप