आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
चेपाङ समुदाय

चेपाङ समुदाय : जसले सालको बोक्राले छोपेर लास गाड्छन्

आइतबार, १३ साउन २०८१, १२ : ०१
आइतबार, १३ साउन २०८१

कुनै समय चेपाङ समुदाय पहाडको टुप्पो र गुफामा बस्न रुचाउँथे । अध्येताहरूका अनुसार, चेपाङ भाषामा ‘च्यो’ शब्दले ‘पर्वत शिखर’ र ‘वाङ’ शब्दले ‘ढुङगो’लाई बुझाउँछ । पर्वतको शिखरमा ढुङ्गाको ओढारमा बस्ने जातिलाई च्योवाङ भनियो र कालान्तरमा चेपाङ भन्न थालियो । 

अर्को भनाइ छ, चेपाङ शब्दको ‘चे’ले कुकुर र ‘पाङ’ले बाँणलाई बुझाउँछ । कुकुर र बाँणले सिकार खेली जीवनयापन गर्ने जाति नै चेपाङ हुन् । 

जेहोस्, नेपालको मकवानपुर, चितवन, गोर्खा र धादिङ जिल्लामा चेपाङ तथा प्रजा समुदायको बसोबास छ ।

२०६८ को जनगणना अनुसार, चेपाङको संख्या ६७ हजार ९०३ थियो । पछिल्लो जनगणना अनुसार देशभर ८४ हजार ३६४ चेपाङ छन् । यस तथ्याङ्कले १० वर्षमा चेपाङको जनसंख्या २४ प्रतिशतले वृद्घि भएको देखाउँछ । कुल चेपाङमध्ये चितवनमा मात्र १७.९ प्रतिशत छन् । राष्ट्रिय जनसंख्यामा चेपाङले ०.२९ प्रतिशत अंश ओगटेको छ । 

यस समुदायमा मुखिया छनोट गर्ने प्रचलन छ । ज्येष्ठ, परिपक्क, इमानदार, सहयोगी जस्ता गुण र नेतृत्वदायी क्षमता भएको व्यक्ति नै मुखिया हुने गर्छन् । 

चितवन धमेलीका मुखिया सुनबहादुर चेपाङ भन्छन्, ‘सभा डाक्ने, संकट टार्ने, असमझदारी मिलाउने, काम बाँडफाँड गर्ने सबै जिम्मेवारी मुखियाको हो । यो प्रचलन हाल पनि कायमै छ ।’ 

‘हाम्रो मृत्यु संस्कार भिन्न छ । पहिले सालको बोक्रा ओछ्याएर लास राखिन्छ, माथिबाट पुनः बोक्राले छोपेर लासलाई खाल्डोमा गाडिन्छ,’ धमेलीका ३४ वर्षीय मित्र चेपाङले भने ।

धमेलीमा रहेका चेपाङहरूका अनुसार, परापूर्वकालदेखि उनीहरूले गिट्ठा, भ्याकुर, तरुल, भोर्लाको फूल, खनायो, चिउरी, गंगटा, माछा र चमेरा खाँदै आएका छन् । यद्यपि आधुनिकतासँगै उनीहरूको खानपानदेखि दैनिकीमा परिवर्तन आएको छ । चिउरी, कुसुमको फल, घिउ आदि बेच्ने; पशुपालन तथा कृषि गर्ने; पसल खोल्ने तथा ज्याला मजदुरी गर्नेजस्ता कार्यले चेपाङको जीवनस्तर केही हदसम्म सुधारेको छ । 

चेपाङहरूको परम्परागत पेसा सिकार खेल्नु भएकाले सिकार बोक्न विशेष प्रकारको झोला (जाबी) बोक्ने गर्थे, कतिपयले अझै पनि जाबी भिरेको देखिन्छ । पोसाकमा यिनीहरूले ‘भाङ्ग्रा’ र ‘लोक्ता’का सामग्री प्रयोग गर्दै आएका थिए । पछिल्लो समय भने आधुनिकतासँगै विभिन्न बजारिया कपडा प्रयोग गर्न थालेका छन् । 

शिक्षाको पहुँचसँगै चेपाङहरूमा साक्षरता दर बढ्दो छ । धमेलीमा रहेको ‘जनज्योति आधारभूत विद्यालय’मा करिब सय बालबालिका अध्ययनरत छन् । तीनवटा सरकारी दरबन्दी रहेको यस विद्यालयमा थप दुई दरबन्दी र किताब–कापी लगायत आवश्यक सामग्रीका लागि स्थानीय सरकार र गैरसरकारी संस्थाहरूले सहयोग गरेका छन् ।

  • भाषा तथा संस्कृति 

चेपाङ समुदायमा पनि विभिन्न थर छन् । यो समुदाय पुकुन्थली र कछारे गरी दुई वर्गमा विभाजित पाइन्छ । विद्वानका अनुसार, कछारमा बसोबास गर्नेलाई कछारे र अन्य पहाडमा बसोबास गर्नेलाई पुकुन्थली भनी वर्र्गीकरण गरिएको मानिन्छ ।

यस समुदायकोे आफ्नै भाषा, मौलिक परम्परा र जीवनशैली रहेको छ । चेपाङले बोल्ने भाषालाई खाम्ची भनेको पाइन्छ, जुन भोट बर्मेली भाषा समूहअन्तर्गत पर्दछ । 

परापूर्वकालदेखि प्रकृतिपूजक (आगो, खोला र माटोको पूजा गर्ने) रहँदै आएका चेपाङमध्ये पछिल्लो समय केहीले इसाई धर्मको अनुशरण गरेको पाइन्छ । ‘हाम्रो समुदायमा न्वारन आफ्नै बुबाले गर्छन् । हाम्रो मृत्यु संस्कार भिन्न छ । पहिले सालको बोक्रा ओछ्याएर लास राखिन्छ, माथिबाट पुनः बोक्राले छोपेर लासलाई खाल्डोमा गाडिन्छ,’ धमेलीका ३४ वर्षीय मित्र चेपाङले भने । 

चेपाङहरू आफ्नो मुख्य पर्वका रूपमा न्वागी मनाउने गर्छन् । भाद्रशुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा भूमिपूजा गरी आफ्ना पितृहरूलाई नयाँ अन्न चढाइन्छ । चेपाङको धामी (पाँडे)लाई निम्त्याएर यो पर्व मनाउने गरिन्छ । पाँडेले एकापट्टि छालाले ढाकेको ढ्याङ्ग्रो बजाएर फलाक्ने गर्छन् । यस दिन विशेषगरी नयाँ उत्पादित खाद्यान्न र फलफूल पुर्खाको आत्मालाई चढाएपछि आफूहरूले खाने गर्छन् । 

रातभरि मन्त्र फलाकेपछि अन्त्यमा पाँडेले टीका लगाई सबैलाई आशीर्वाद दिई पर्वको अन्त्य हुन्छ । 

चमेराको सिकार गर्नु र चिउरीको रुख रोप्नु चेपाङ जातिको परम्परा हो । विवाहमा चेपाङले आफ्नो छोरी–चेलीलाई चिउरीको रुख दाइजो दिने गर्दछन् । 

चेपाङ नेपालको पृथक् अस्तित्व र रहनसहन भएको जनजाति हो । यस समुदायको रहनसहन, भाषा–संस्कृतिलाई अवलोकन वा अध्ययन गर्न आन्तरिक र बाह्य पर्यटकले रुचि राखेको पाइन्छ । मौलिक संस्कृति र रहनसहनलाई जोगाएर यस समुदायको प्रवद्र्धन गर्दै जाने हो भने पर्यटक बढाउन सकिन्छ । 

  • उत्थानमा सरकारको नीति तथा कार्यक्रम

चेपाङ समुदायको उत्थानमा सरकारले प्रजा विकास कार्यक्रम २०३४, नेपाल चेपाङ संघ २०५५, चिउरी चमेरा संरक्षण कार्यक्रम निर्देशिका २०८०, आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ । 

विभिन्न ऐन, कानुन, निर्देशिका र आयोगको गठन भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । चेपाङको समस्या सम्बोधनमा सरकार आकर्षित देखिएको छैन । शिक्षा, स्वास्थ्य, रोजगार लगायत विकासको विभिन्न सूचकांकमा चेपाङ पछि परिरहेको अवस्था छ । 

सरोकारवाला पक्षहरूको ध्यानाकर्षण नभएका कारण मौलिक र पृथक् हँुदाहँुदै पनि यस जातिको उत्थान हुन सकेको छैन । अर्कोतिर, अशिक्षित चेपाङहरूलाई गैरकानुनी कार्यमा फसाउने, प्रतिबन्धित वस्तुहरूको उत्पादन तथा ओसारपसारमा संलग्न गराउने जस्ता क्रियाकलाप पनि भएको पाइन्छ । 

कुनै पनि भाषा, संस्कृति र परम्पराको जन्म हुन युगौँ लाग्छ । तसर्थ चेपाङको धर्म संस्कृति, वेशभूषा, भाषा, पौराणिक हातहतियार लगायतको खोज–अध्ययन गर्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रविन चापागाईं
प्रविन चापागाईं
लेखकबाट थप