मौद्रिक नीतिको उत्साह सेयर बजारमा, प्रि–ओपनिङमा नै १०२ अंकले बढेर बजार हल्ट
काठमाडौँ । मौद्रिक नीतिको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयरधितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरेसँगै आइतबार खुलेको बजारमा प्रि–ओपनिङ सेसनमा नै ३.९९ प्रतिशतले नेप्से बढ्दै बजार हल्ट हुन पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ११ बजेसम्ममा नेप्से सूचक १०२.६८ अंकले बढ्दै २६७०.८२ विन्दुमा उक्लिएको छ । तर कारोबार भने २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको सेयर बजार बढ्नुमा भने सेयर धितोकर्जाको सीमा खारेजी मात्र नभएर बैंकको कर्जा लगानी सहज गर्नु र जोखिमभार घट्नु पनि हो । मौद्रिक नीतिले बैंकको लगानीका लागि जोखिम भारसँगै वित्त व्यवस्थापन (प्रोभिजन) को दर समेत घटाउने बताएको छ । यसैले आइतबारको सेयर बजार उत्साहित भएको हो ।