अमेरिकाको सात सहरमा नेपथ्यको कन्सर्ट

काठमाडौँ । नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्ड नेपथ्यले आगामी महिना अमेरिकाको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ ।
नेपथ्य छैटौँ पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्यान्डले यसपालाको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरका भव्य मञ्चहरूमा आफूलाई प्रस्तुत गर्नेछ ।
सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरमा आफूलाई उभ्याउने छ । अग्ला पर्वत, नदी र जंगलहरुले घेरिएको भूपरिवेष्ठित राज्यका रुपमा चिनिने कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास छ । यस स्थानमा नेपथ्यले पहिलोपटक साङ्गीतिक पाइला टेक्न लागेको हो । डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ ।
त्यसपछिको दोश्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । क्यालिफोर्निया राज्यको यसै सहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ ।
तेस्रो प्रस्तुतिको निम्ति भने ब्यान्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्यान्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो । यसपालि ब्यान्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफूलाई उभ्याउँदैछ । विशाल एवं भव्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरुलाइ अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ ।
त्यसपछि भने ब्यान्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाला भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरु पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।
न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्यान्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्यान्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ१’ को प्रेक्षालयमा आफूलाई प्रस्तुत गर्नेछ ।
यसरी अमेरिकाका फरक फरक सहरहरूमा आफूलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ । ब्यान्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको शृङ्खलाबद्ध यात्राकै अन्तिम अर्थात् सातौँ कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ । झन्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो ।
नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डिसिमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरुमा ब्यान्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा साङ्गीतिक प्रस्तुति दिइसकेको छ ।
गत वर्ष मात्रै छेवैको क्यानडामा शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गरेको ब्यान्डले अमेरिकामा भने कोभिड महामारीपछि पहिलो यात्रा गर्न लागेको हो । यसपालाको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ ।कलाकार, प्राविधिक र व्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल