सिर्जनात्मक शिक्षण सिकाइका लागि १५ विधाका पाठ्यक्रम तर्जुमा गर्दै काठमाडौँ महानगर
काठमाडौँ । पुस्तकरहित शुक्रवार (बुक फ्री फ्राइडे) कार्यक्रमको कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूलाई सिर्जनात्मक सिकाइका लागि काठमाडौँ महानगरपालिकाले पाठ्यक्रम तर्जुमा गरिरहेको छ । सामुदायिक विद्यालयहरूमा अभ्यास गरिएका १५ विधामा काठमाडौँ विश्वविद्यालय र बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालनका ५४ वटा साझेदार सङ्घ संस्थासँगको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको महानगरपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले, २०८० मङ्सिर २६ गते काठमाडौँ विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको थियो । सम्झौतामा उल्लेख भएको टिचर कलेज कार्यक्रमअन्तर्गत ६ वटा काम छन् ।
आवश्यकता पहिचान गर्ने, पाठ्यक्रम तथा शिक्षण सिकाइ विधि तयार गर्ने, अनुगमन मूल्याङ्कन, तथ्याङ्क र अभिलेखन र आगामी योजना निर्माण गर्ने काम विश्वविद्यालयले गर्ने उल्लेख छ । यही सम्झौताका आधारमा काम भइरहेको हो ।
२०८० सालमा कक्षा ९ का विद्यार्थीहरूलाई शिक्षामा सीप कार्यक्रम सञ्चालन गरेर नमुनाका रूपमा थालिएको बुक फ्री फ्राइडे कार्यक्रममा अहिले कक्षा ४ देखि १२ सम्म चलिरहेका छन् । विद्यार्थीको रुचि र सङ्ख्या, विद्यालयको भौतिक सुविधा अनुकुल हुने गरी प्रधानाध्यापक, शिक्षक र सम्बन्धित सरोकारवालाको पृष्ठपोषणका आधारमा हरेक विद्यालयमा एउटा बाल समूह र १५ वटा विधागत उपसमूह गठन गरिएका छन् । हरेक उपसमूहका लागि एक जना फोकल शिक्षक तोकिएको छ ।
यसरी सिकाइ भइरहेका विषयसँग सम्बन्धित उपसमूहमा बालबालिका तथा वातावरण (वावा), विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्ट्स र गणित (स्टिम), भित्ते चित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापनसहितका १५ विधा छन् । एनिमेसन र गेमिफिकेसन, नाट्य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, सङ्गीत तथा नृत्य, ड्रोन, र कोड उपसमूहका विधा हुन् ।
यी विषयको शिक्षण विधिमा एकरूपता कायम गर्न र मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन पाठ्यक्रम तर्जुमा गर्न लागिएको हो । बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्र सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ देखि १२ सम्म शिक्षामा सिप कार्यक्रम सञ्चालन हुने गरेको छ । यसमा १० विधा छन् ।
महानगरपालिकाले शिक्षाको जग बलियो बनाउन प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति, शिक्षण र सिकाइ पद्धतिसहितका कार्यक्रम सञ्चालन गरिरहेको हो ।
मस्यौदा पाठ्यक्रममा सरोकारवालाको पृष्ठपोषण लिनका लागि आज कार्यशाला आयोजना गरिएको छ । डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यशालामा शिक्षा अधिकृतहरू, स्रोत शिक्षक, प्रधानाध्यापक र विद्यार्थी क्लबका अध्यक्षहरूलाई सहभागी गराइएको थियो ।
पाठ्यक्रम मस्यौदाका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘एक वर्षमा २५ हप्ताका १ सय घण्टा पुस्तकरहित शुक्रबार अन्तर्गतका सिर्जनात्मक सिकाइ कक्षा हुनेछन् । २५ घण्टा परियोजना (प्रोजेक्ट) मा आधारित कक्षा हुनेछन् ।’
महानगरपालिकाका शिक्षा अधिकृत एवं बुक फ्री फ्राइडे कार्यक्रमका फोकल पर्सन केशव ज्ञवालीका अनुसार पाठ्यक्रम तयार गरेपछि यसको कार्यान्वयन गर्ने कार्यविधि तर्जुमा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल भारत सीमा सुरक्षा बैठक बर्दिबासमा बस्दै
-
प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपे : महासचिव पोखरेल
-
दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार
-
राष्ट्रिय परिचयपत्र विवाद : आज अन्तिम सुनुवाइ हुँदै
-
पशुपतिनाथको जलहरी प्रकरणमा विशेष अदालतको फैसलामा के छ ? (पूर्णपाठ)
-
भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ढिलो गर्ने छुट छैन : मुख्यमन्त्री आचार्य