बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजासँग घाँटी जोडेकाहरूबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको छ : प्रभु साह

शनिबार, १२ साउन २०८१, २१ : २१
शनिबार, १२ साउन २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले राजासँग घाँटी जोडेकाहरूबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा रहेकाहरूबाट मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले अहिलेको गठबन्धन नभएर ठगबन्धन भएको टिप्पणी गरे । 

आजपा निकटको आम उद्योग वाणिज्य सङ्घको काठमाडौँ अनामनगरस्थित तमुबुद्ध सेवा समितिको सभा हलमा आज भएको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो एमाले र कांग्रेसको गठबन्धन नभई केपी ओली र शेरबहादुर देउवाको सत्ता स्वार्थ केन्द्रित व्यक्तिगत ठगबन्धन भएको बताए । 

‘एमाले र कांग्रेस बनाउनेहरू आज कहाँ छन् ? दुवै पार्टी निर्माण गर्नेहरू आजको दिनमा भागी भागी हिँड्नुपरेको छ । तर विगतमा राजासँग घाटी जोडने, प्रतिगामी शक्तिहरू त्यो पार्टीको नेतृत्वमा पुगेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको सत्तारुढ गठबन्धनलाई राष्ट्रिय सहमतिको सरकार भन्दै बाहिर हिँडिरहेका छन् । तर वास्तविकता त्यो होइन, यो विगतमा बदनाम भइसकेका पात्रको ठगबन्धन हो ।’ 

विगतमा जतिपटक एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ त्यति पटक मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको इतिहास हाम्रो अगाडि रहेको बताउँदै उनले यिनीहरूकै कारण रामराजा सिंह राष्ट्रपति हुन नसकेको बताए । यिनीहरूकै कारण खिलराज रेग्मीलाई यिनीहरूले शासन सत्ता बुझाएको मात्र नभई कांग्रेस र एमाले मिलेर ‘गण्डा संविधान’ बनाएको बताउँदै साहले आज त्यही भएर नेपाली जनताले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए ।

‘विगतको निर्वाचनमा जनतासँग मत माग्ने बेलामा जे प्रतिबद्धता व्यक्त गरिएको थियो । जुन कुरा जनताका बीचमा यिनीहरूले प्रतिबद्धता गरेर आए त्यो अनुसार काम नगरेकै कारण राजनीतिक स्थिरता हुन सकेन’ साहले भने, ‘मत माग्ने बेलामा एउटा प्रतिबद्धता गरे, तर काम गर्ने बेलामा अर्कै काम गरिरहेका छन् । के कांग्रेसले मत माग्दा म एमालेको नेतृत्वमा सरकार बनाउनु भन्या थियो ? के एमालेले मत माग्ने बेलामा कांग्रेसको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज हेर्नुस् त सङ्घदेखि प्रदेशसम्म यिनी आफ्नो प्रतिबद्धता बिरुद्ध नै काम गरिरहेका छन् । अब जनताले हिसाब माग्ने बेला आएको छ ।’ 

विधिको शासनको कुरा गर्ने एमालेले लुम्बिनी प्रदेशमा आफ्नै संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाई उपनेतालाई मुख्यमन्त्री बनाएको बताउँदै उनले अहिले पनि एमालेभित्रै धेरै नेताहरू पीडित रहेको बताए । कांग्रेसमा पनि त्यस्तै भएको बताउँदै उनले विगतमा राजासँग घाटी जोडने, पार्टी निर्माण नगर्नेहरू नै नेतृत्वमा रहेकाले दुवै पार्टीभित्र नेताहरू पीडित बनेको बताए । 

प्रचण्ड नेतृत्वको सरकारले कहिले एमाले त कहिले कांग्रेसले समर्थन गर्ने र समर्थन फिर्ता लिने कामले प्रधानमन्त्रीले पाँच पाँच पटक विश्वासको मत लिनुपर्‍यो । तर आज त्यही कांग्रेस र एमालेले राजनीतिक स्थिरता भएन भन्नु कतिको जायज हो भन्दै उनले प्रश्न उठाए । कांग्रेस एमालेकै कारण मुलुक भ्रष्टमा नंं. १ भएको टिप्पणी गर्दै निजी कम्पनी नाफामा हुने तर सरकारकी संस्थानहरु किन घाटा व्यहोर्नुपरेको भन्दै उनले यिनीहरूले नै लुटेर खाएको आरोप लगाए । 

नेपालको उद्योगधन्दा ध्वस्त बनाउने, हरेक काण्डमा कांग्रेस र एमालेकै नेताको संलग्नता हुने गरेको बताउँदै उनले सबै भ्रष्टहरुलाई जेल नपठाए सम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । मुलुकलाई समृद्ध बनाउनका लागि सबै भ्रष्टहरुलाई जनकारबाही हुन आवश्यक रहेको उनले बताए । तर भ्रष्टलाई कारबाही गर्ने निकाय पनि यिनीहरूकै पिछलग्गु बनेको र त्यही भ्रष्ट नेताको इसारामा नाचिरहेको साहले बताए । 

‘सरकारको मनपरी कर हटाउन र बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन’ सङ्घर्ष गर्ने सङ्कल्प सहित भएको सो राष्ट्रिय भेलामा विभिन्न पार्टी परित्याग गरी नेताहरू आजपामा प्रवेश गरे । रौतहट ग्रान्डी अस्पतालका निर्देशक डा. सञ्जीवकुमार जयसवाल, माओवादी केन्द्र निकटको प्रेस सेन्टर बागमती प्रदेशका उपाध्यक्ष मोहनजंग कार्की सहित दर्जनौँ व्यक्त आजपामा प्रवेश गरेका छन् ।  

सो भेलाबाट साजनकुमार जैसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उद्योग वाणिज्य सङ्घको केन्द्रीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा धिरजकुमार साह, सोना सिलवाल, अमित कुमार साह, महासचिवमा पवन कुमार, सचिवमा अमित सर्राफ, मन्नु राजन, कोषाध्यक्षमा सञ्जीव जयसवाल रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । 

यसैगरी सदस्यहरूमा पवन जयसवाल, धिरज जयसवाल, चुनुलाल जयसवाल, उपेन्द्र साह, अनिलकुमार साह, दीपककुमार साह, अमित रौनियार, नितिसकुमार जयसवाल, निशा कुमारी लगायतका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप